जीवन निरौला
प्रमुख प्रशासकीय अधिकृत, झापा गाउँपालिका कार्यालय, झापा
पशुपन्छी क्षेत्रको विकासका लागि झापा गाउँपालिका (स्थानीय सरकार) ले कसरी काम गरिरहेको छ ?
झापा गाउँपालिकासहित धेरैजसो स्थानीय तहका हकमा प्रायः सशर्त अनुदानका कार्यक्रमहरु चलिरहेका छन् । वित्तीय समानीकरणअन्तर्गत संघीय सरकार र प्रदेश सर कारबाट निःशर्त अनुदानका रुपमा प्राप्त भएका बजेटबाट स्थानीय सरकारले पशुपन्छी क्षेत्रको विकासका लागि बजेटको व्यवस्था तुलनात्मक रुपमा कम गरेका छन् । स्थानीय तह आफैंले कृषक समुहलाई क्षमता विकास सम्बन्धी तालीम तथा अभिमुखीकरण गर्नेबाहेक उल्लेख्य काम गर्न सकिरहेको छैन । झापा गाउँपालिकाको हकमा पशुपन्छी क्षेत्रमा नश्ल सुधार कार्यक्रम शीर्षकमा चालू आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, पशु रोग नियन्त्रणका लागि १ लाख रुपैयाँ गरी गाउँपालिकाको पशु सेवा शाखाले चलाउने गरी कुल ६ लाख रुपैयाँ बजेट यो क्षेत्रका लागि विनियोजन गरेको छ । संघीय सरकारबाट सशर्त रुपमा पशुपन्छी पालन विकासको क्षेत्रमा प्राप्त बजेट पनि छ । यो कार्यक्रमअन्तर्गत पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी हामीले गरिरहेका छौं । कृषि क्षेत्रसँग सम्बन्धीत मकै, धान जोन जस्ता कार्यक्रम छन् । पशुपालन व्यवसायमा रहेका युवा उद्यमीहरुलाई अनुदान बढाउने योजना पनि गाउँपालिकाले गरिरहेको छ । यो सम्पूर्ण कार्यहरुलाई समेटेर हामी नयाँ योजना बनाउने तयारी गरिहेका छौं ।
झापा गाउँपालिकामा मकै, धान भनेजस्तै पशुपन्छी तथा माछापालको क्षेत्रमा पनि पकेट क्षेत्र बनाएर कार्यक्रम अघि बढाउन सकिँदैन ?
प्रदेश १ भित्रको झापाको झापा गाउँपालिकाको मुख्य सम्भावना भनेको नै गाई तथा भैंसी पालन हो । गाउँपालिकाभरिमा माछा फार्म एउटा मात्रै छ । तर, गाई र भैंसीको फार्मको संख्या भने बढी छ । यो गाउँपालिकामा ७ हजार ९ सयजति घर परिवार छौं । ती सबै घरधुरीको हामीले लगत संकलन गरी डिजिटल डाटा बनाउँदै छौं । उक्त डाटा तयार भएर १५ दिनभित्र प्रयोग गर्न मिल्ने बनाइँदै छ । त्यसपछि भने हामीले यो गाउँपालिकामा पशुपन्छी तथा माछा पालनको वास्तविक तथ्यांक उपलब्ध गराउन सक्छौं । र, त्यसैअनुसार कुन क्षेत्रलाई कसरी प्राथमिकताका साथ अघि बढाउने भन्ने टुंगो लगाउन सक्छौं ।
त्यसो हो भने दूध तथा मासुमा झापा गाउँपालिका आत्मनिर्भर हुन सक्ने सम्भावना छ ?
झापा गाउँपालिका दूध र मासुमा आत्मनिर्भर छ कि छैन भन्ने यसको ठ्याक्कै तथ्यांक अब १५ दिन जतिमा आउँछ भन्ने मैले यहाँलाई बताइ सकेको छु । तर, यो गाउँपालिकाबाट निर्यात हुने दूध तथा मासुजन्य उत्पादनको परिमाणलाई अनुमान गर्दा दूध र मासुमा यो गाउँपालिका आत्मनिर्भर नै छ । यहाँबाट उत्पादन भएको दूध संकलन गरेर सुरुङ्गालगायत सहरी तथा बजार क्षेत्रमा लाने गरिएको छ । ७ हजार ९ सय घरघुरीले पालेका पशुपन्छीको संख्या पनि धेरै नै छ ।
यो संख्यालाई पशु स्वास्थ्य सेवा दिन कति जाना पशु स्वास्थ्य सेवा प्राविधिकहरुको व्यवस्था छ ?
सात हजार ९ सय घरघुरीले कम्तीमा ३ ओटाको दरले पशुपन्छी पालन गर्दा पनि झण्डै २३ हजारभन्दा बढी पशुपन्छीको संख्या हुन्छ । उक्त संख्याका पशुपन्छीलाई स्वास्थ्य सेवा दिन जम्मा १ जना प्राविधिक हुनुहुन्छ । त्यो जनशक्ति पनि पर्याप्त छैन । त्यसो हुँदा जनशक्ति पनि बढाउनु पर्ने अवस्था छ ।
गाउँपालिकाले पशुपन्छी तथा माछा पालनको क्षेत्रलाई भन्दा गाउँमा बाटोघाटो खन्ने, गिट्टिबालुका अवैध उत्खनन तथा निकासीलाई ध्यान दिएको भन्ने स्थानीयको गुनासो रहने गरेको यसबारे यहाँको भनाइ के छ ?
पक्कै पनि गाउँपालिका वा स्थानीय सर कारहरुको कृषि, पशुपन्छी पालन वा माछा पालन व्यवसाय प्राथमिकतामा पर्न सकेको छैन । विकास भनेकै गाउँमा बाटो खन्ने भन्ने छ । पहाडतिर यसलाई व्यंग्य गर्दै ‘डोजर इन्जिनियरङ’ पनि भन्ने गरिएको छ । तर, हाम्रो झापा गाउँपालिका तराईमा परेकोले यहाँ डोजरभन्दा पनि ‘ट्रयाक्टर इन्जिनियरङ’ को बोलबाला छ । अर्थात् गिट्टी बालुवा उत्खनन तथा निकासीले प्रमुखता पाएको छ । यसलाई अलि रोकेर अब उत्पादनमूलक पशुपन्छी तथा माछा पालन व्यवसयालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।