काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रे, उद्योग तथा वाणिज्य कार्यालय काभ्रे, र पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यावस्थापन प्रयोगशालाको संयुक्त रूपमा धुलिखेल र बनेपामा सञ्चालित भेटेरिनरी पसलहरूको अनुगमन गरिएको हो।
राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यावस्थापन प्रयोगशालाको स्वीकृत कार्यक्रम अनुसार, अनुगमन गर्नको लागि अनुरोध भए बमोजिम अनुगमन गरिएको काभ्रे जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले जानकारी दिनुभयो।
अनुगमन मुचल्कामा उल्लेख भए अनुसार, जिल्लाका विभिन्न भेटेरिनरी पसलहरूले म्याद नाघेका फिड सप्लिमेन्ट र दर्ता नभएका औषधिहरू खुल्लामखुल्ला विक्री गरिरहेको पाइएको छ।
जिल्लाभरि ११ वटा भेटेरिनरी पसलहरूको अनुगमन गर्दा म्याद नाघेका औषधि तथा फिड सप्लिमेन्टहरू खुलेआम समेत विक्री स्थलमा पाइएको थियो।
अनुगमनको क्रममा टोलीले ३५ प्रकारका दाना र फिड सप्लिमेन्टका नमुना संकलन गरी गुणस्तर परीक्षणका लागि राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यावस्थापन प्रयोगशालामा लगिएको कार्यालय प्रमुख डा. नविन घिमिरेले जानकारी दिनुभयो।
विदुर भेट सेन्टरमा गरिएको अनुगमनका क्रममा, सेरिन फर्मासिटिकल्सको सेरेप्रिम नामक औषधि पनि बरामद गरिएको थियो, जुन औषधि नेपालमा दर्ता नभएको हो। यसबारे भेट खबर डट कमले पटक-पटक प्रकाशन गरेको थियो। सोही भेटमा क्यार्लसय र मल्टिसेल एमआरपी नभएको पाइएकोले यी औषधिहरू तुरुन्त हटाउन लगाई आवश्यक कारबाहीको तयारी भइरहेको जानकारी दिइएको छ।
शुभकामना भेटमा गरिएको अनुगमनका क्रममा एमआरपी नभएका विभिन्न औषधिहरू फेला परेका थिए। पसलहरूले बिना एमआरपी औषधिहरू बिक्री गरिरहेको देखिएपछि प्रशासनले सम्बन्धित पसलहरूलाई तुरुन्त उपस्थित हुन निर्देशन दिएको छ।
अनुगमनका क्रममा हिमालय भेटेरिनरी क्लिनिकमा पनि बिना एमआरपीका फिड सप्लिमेन्टहरू फेला परेका थिए।
सर्ववापी एग्रिकल्चर प्रा. लि.मा म्याद नाघेका औषधिहरू, विशेष गरी बिना दर्ताका इन्जेक्सनहरू समेत फेला परेका थिए, जसले पशुपन्छीको स्वास्थ्यलाई गम्भीर जोखिममा पार्न सक्छ भन्ने देखिएको छ।