पेचिलो बन्दै उपाध्यक्ष उम्मेदवारको योग्यता, प्रकृतिविपरीत उम्मेदवारी घोषणा गरे प्रतिरोध गर्छौं : व्यवसायी

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आसन्न अधिवेशन आउन अब करिब १ साता मात्र बाँकी रहँदा कार्यसमितिका विभिन्न पदमा व्यवसायीहरूले आकांक्षा देखाइरहेका छन् । यस्तैमा उपाध्यक्षका आकांक्षीको योग्यतासम्बन्धमा बहस सुरु हुन थालेको छ ।

कुन पदमा कस्ता व्यवसायी उम्मेदवार बन्न सक्छन् भन्नेबारे संघको विधानमा उल्लेख भए पनि उपाध्यक्षको हकमा अस्पष्ट प्रावधान छ ।

पशुपन्छी औषधि व्यवसायलाई आयात, थोक र खुद्रा गरी तीन तहमा वर्गीकरण गरिएको छ । यही आधारमा विधान निर्माण गरिएको भए पनि यसको व्याख्या भने उचित किसिमले गरेको पाइँदैन ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको विधानमा ‘‘पशुपन्छी औषधि व्यवसायी भन्नाले नेपाल सरकार औषधि व्यवस्था विभागबाट औषधिको आयात, थोक र खुद्रा व्यवसाय गर्न इजाजत प्राप्त व्यक्ति फर्म, संस्था वा कम्पनीलाई सम्झनु पर्छ’’ भन्ने उल्लेख छ ।

औषधि व्यवस्था विभागले भने २ प्रकारका व्यवसायी थोक र खुद्रालाई मात्र प्रमाणपत्र जारी गर्ने गरेको छ । आयातकर्तालाई भने आयातकर्ताको सूचीमा दर्ता गरिएको छ ।

संघको विधानको विरोधाभासले अन्य पदमा विवाद सिर्जना नगरे पनि आयाततर्फको उपाध्यक्षमा बहस हुने गरेको छ। संघको विधानमा सदस्य बन्नको लागि औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान रहेकोमा आयातकर्ताको हकमा पनि औषधि व्यवस्था विभागमा दर्ता भएका वस्तु आयात गरेको हुनुपर्ने प्रावधान राख्नुपर्ने जानकारहरू बताउँछन् ।

प्रचलित कानूनअनुसार खुद्रा र थोकतर्फ संघको साधारण सदस्य बन्न औषधि व्यवस्था विभागले तोकेको प्रमाणपत्र आवश्यक पर्छ । आयातकर्तालाई समेत समान रूपमा हेरेर प्रमाण पेश गर्नुपर्ने सर्वमान्य मान्यता नै हो । तर नेपाल पशुपन्छी औषधि व्यवसायी संघका कानुनी सल्लाहकार गणेशप्रसाद सिग्देल भने संघको विधानले थोक र खुद्राको सदस्यबारे स्पष्ट व्यवस्था राखेको बताउँदै भन्सार विभागबाट एक्जिम कोड लिएर पशुवस्तुको आयात गर्नेलाई आयातकर्ताको रूपमा चिन्ने बताए ।

उनले भने, ‘मेरो व्यक्तिगत कुरा सोध्नुहुन्छ भने अन्य पदमा कुनै विवाद छैन तर उपाध्यक्षमा भने केही अस्पट रहेको छ, कुनै उम्मेदवारको हकमा सोध्नुभएको हो भने दाबी विरोध नपरेमा स्वतः उम्मेदवारी कायम रहन्छ तर कसैले दाबी विरोध पेश गरेमा निर्वाचन कमिटीको निर्णय नै अन्तिम हुन्छ ।’

उनका अनुसार, आयातकर्ताको नेचरबमोजिम आयातको काम गर्नेलाई आयातकर्ता भनिन्छ । उनले औषधि व्यावस्था विभागले आयात गर्ने भनेर कुनै पनि फर्म दर्ता नगर्ने बताए । उम्मेदवारको इजाजतप्राप्त फर्मले आयात नेचरको काम गरेमा आयातको रूपमा चिनिने स्पष्ट पारे ।

दफा १३ को (छ) मा महाधिवेशनबाट उपाध्यक्षको निर्वाचन गर्दा आयातकर्ताबाट १ जना, थोक बिक्रेताबाट १ जना तथा खुद्रा बिक्रेताबाट १ जना गरी तीन जनाको चयन गरिनेछ । यसरी चयन गरिने उपाध्यक्षले उमेदवारी दर्ता गराउँदा आयातकर्तातर्फको उपाध्यक्ष हुन आयातकर्ता नै हुनपर्ने, थोक बिक्रेता उपाध्यक्ष हुन थोक बिक्रेता नै हुनुपर्ने र खुद्रा बिक्रेता उपाध्यक्ष हुन खुद्रा बिक्रेता नै हुनुपर्नेछ ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङले कतिपय कुरालाई व्यावहारिक ढंगले हेर्नुपर्ने तर्क गर्दै आयातको काम गर्नेलाई नै आयातकर्ताको मान्यता दिनुपर्ने तर्क गरे ।

संघको आसन्न अधिवेशनमा थोकतर्फको उपाध्यक्षका उम्मेदवार एकनारायण पौडेलले आफूहरूको व्यवसाय आयात, थोक र खुद्रा गरी तीन प्रकृतिको भए पनि विभागले २ किसिमको व्यवसायलाई मात्रै दर्ता गर्ने गरेको बताए । आयातकर्ताले पेलेर आफ्नोतर्फको उपाध्यक्ष विधानमा राखे पनि आफ्नो कामको प्रकृतिअनुसार उम्मेदवारी दाबी गर्दा राम्रो हुने उनले सुझाए ।

संघको विधानले आयाततर्फको व्यवसायमा संलग्नबारे प्रष्ट व्यवस्था नगरेकाले व्यावहारिक हिसाबले आयात गर्ने व्यवसायीलाई आयातकर्ता मान्दा खुद्रा प्रकृतिको व्यापार गरेर थोकतर्फ उम्मेदवारी दिनेलाई कसरी हेर्ने भन्ने प्रश्न चिह्न पनि सँगै खडा भएको छ ।

संघको आगामी कार्यकालका लागि थोकतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका कविराज भट्ट जुन काम गरेको हो, त्यही आधारमा उम्मेदवारी दिनु उपयुक्त हुने ठान्छन् । ‘जसले जे काम गर्छ, उसलाई त्यसको समस्या मात्र थाहा हुन्छ । त्यसैले आफूले जुन काम गरेको हो, त्यसैमा उम्मेदवारी दिनुपर्छ,’ उनले भने ।

थोकतर्फका उपाध्यक्षका प्रत्यासी विकास शर्मा तिमिलसेना संघ व्यवसायीको छाता संगठन भएकाले प्रतिनिधित्वको हिसाबले आयातले आयात, थोकले थोक र खुद्राले खुद्राकै प्रतिनिधित्व गर्नुपर्ने बताउँछन् । ‘दबाबमै गर्ने हो भने यो संगठनलाई आयातकर्ताको मात्रै संगठन बनाउनु पर्यो । होइन भने कुन व्यवसायीले के काम गरिरहेको छ, त्यसैका आधारमा उम्मेदवार बन्नुपर्छ ।’ आफूले गरेको कामभन्दा फरक पदमा उम्मेदवारी दिएको खण्डमा विधानबमोजिम दाबी विरोध पेश गर्न सकिने भएकाले यसमा कानूनी सल्लाहकारले सूक्ष्म ढंगले अध्ययन गरेर निर्णय दिनुपर्ने उनले बताए ।

अर्का उम्मेदवार नारायण बहादुर भुजेलल संग यस विषयमा जिज्ञासा राख्दा उनले आफ्नो विषयमा मात्र यो कुरा उठेको भान भएकोले आफ्नो उम्मेदवारी थोकमा दिनको लागी कुनै कानुन बाधक बन्न नसक्ने बताए ।