‘अवस्था यस्तै रहे अबको ६ महिनामा ३० प्रतिशत दाना उद्योग बन्द हुन्छन्’

कुखुरापालन व्यवसाय फस्टाउँदा दाना उद्योगमा लगानी बढेको छ । नेपाल दाना उद्योग संघका अनुसार, नेपाली दाना उद्योगमा अर्बौंको लगानी पुगेको छ । तर देशमा सिर्जित आर्थिक मन्दीको बाछिटा नेपालको दाना उद्योगमा समेत पर्न थालेको छ । नेपाल दाना उद्योग संघका कोषाध्यक्ष उमेश सापकोटा कुखुरा पालन गर्ने किसानको संख्या घट्दै जाँदा दाना उद्योग समस्यामा पर्न थालेको बताउँछन् । उनका अनुसार, यही अवस्था कायम रहेमा अबको ६ महिनामा ३० प्रतिशत दाना उद्योग बन्द हुनेछन् । दाना उद्योगहरू कठिनतम अवस्थाबाट गुज्रिरहे पनि सरकारले समस्या समाधानतर्फ गम्भीरता नदेखाएको उनको गुनासो छ । सापकोटासँग पोल्ट्रीमा देखापरेको मन्दी, त्यसले दाना उद्योगमा पारेको असरलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स प्रतिनिधिले गरेको कुराकानी :

अहिले नेपाली दाना उद्योगको अवस्था कस्तो छ ?
नेपालमा दाना उद्योगको अवस्था पछिल्लो समय खराब बन्दै गएको छ । विद्यमान अवस्थामा सुधार नआएको खण्डमा दाना उद्योगको हविगत अझै खराब हुने देखिँदैछ ।

नेपाली दाना उद्योगको अवस्था बिग्रँदै जानुको कारण के होला ?
दाना उद्योगको अवस्था बिग्रँदै जानुको एउटा मात्र नभएर अनेक कारण छन् । पहिलो त, दानाका लागि आवश्यक कच्चा पदार्थ, जुन भारतबाट आयात गर्नुपर्ने बाध्यता छ, त्यसको मूल्य अन्तर्राष्ट्रिय रूपमै बढेको छ । कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेकाले दानामा करिब ४ रूपैयाँ मूल्य बढाउनुपर्ने स्थिति छ ।

कोरोनाभाइरस महामारीपछि समग्र पोल्ट्री क्षेत्र नै सुस्ताएको छ । व्यावसायिक रूपमा कुखुरा पालन गरिरहेकामध्ये कतिपय खराब अवस्थाका कारण पेशाबाटै पलायन भएका छन् । कुखुरा पालन गर्ने संख्यामा कमी आएकाले त्यसको असर स्वाभाविक रूपमा दाना उद्योगमा परेको छ ।

कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय रूपमा वृद्धि भएकाले दानाको मूल्य बढ्यो भन्नुभयो । तर दाना उद्योग संघकै उपाध्यक्ष प्रदीप रुंगँटाको ओमचाओविरो दाना उद्योगले त फाइदा बढी भएको भन्दै मूल्य नै घटाएको छ नि ?
हो, यो उद्योगले दानाको मूल्य घटाएको छ । यो बढी फाइदा भएकाले घटाइएको होइन । यसको पछाडिको कारण अर्कै छ ।

कस्तो कारण ?
चितवनमा एक व्यवसायीले गरेको आत्महत्या प्रकरणमा रुंगँटा तानिनुभएको थियो । यसमा दाना संघले उहाँलाई कारबाही नै गरेको थियो । पछि थुनामा पनि पर्नुभयो । दाना उद्योग संघले कारबाही गरेकोप्रति उहाँको असन्तुष्टि थियो ।

यही कारण अन्य उद्योगीलाई देखाइदिन्छु भनेर उहाँले फाइदा नहुँदा–नहुँदै पनि मूल्य घटाउनुभएको हो । यसरी मूल्य घटाएर दाना बिक्री गर्दा उहाँलाई घाटा छ, किनकि दाना उत्पादनको लागत बढी छ । त्यो कति छ भन्ने त हामीलाई प्रष्टसँग थाहा छ ।

साना उद्योगीलाई सिध्याउने दाउ राखेर उहाँले दानाको भाउ घटाउनुभएको हो । सुनिएअनुसार उहाँले अन्य दाना उद्योगीलाई नसुताइ छाड्दिन भन्ने हिसाबले कुरा गरिरहनुभएको छ रे । एक जना पछि लाग्दैमा यतिका उद्योग बन्द गर्ने अवस्था हुँदैन ।

भनेपछि तपाईंहरूचाहिँ पुनः दानाको भाउ वृद्धि गर्दै हुनुहुन्छ ?
अहिलेको भाउमा दाना बिक्री गर्न सकिँदै सकिँदैन । अहिले दाना उद्योग संघको बैठक बसेको छैन । सायद यो बसेपछि दानाको मूल्य बढ्छ होला ।

बजारमा अहिले दानाको खपत कति छ ?
एकताका दानाको प्रतिदिन खपत ३ हजार ५०० टनसम्म पुगेको थियो । तर अहिले यसमा गिरावट आएर ३ हजार टनमा झरेको छ ।

दानाको खपत घट्नुको कारणहरू के–के होलान् ?
कोभिड–१९ महामारीपछि देशमा मन्दी आयो । यसले मानिसको क्रय शक्ति नै घट्यो । क्रय शक्ति घटेकाले मासु र अण्डाको खपत पनि झ¥यो ।

यसको असर यतिमै सीमित नभई कुखुरा पालनमै प¥यो । मानिसले कुखुरा कम पाल्न थाले । अझ यसो भनौं कोभिड–१९ महामारीपछि पोल्ट्री क्षेत्रको समग्र चेन नै खल्बलियो । परिणामतः त्यसको प्रभाव अहिले पोल्ट्रीका दानादेखि ह्याचरी, कुखुरा पालनदेखि पशुपन्छी औषधिसम्ममा परेको छ ।

मन्दीले समग्र पोल्ट्री क्षेत्रको चेन नै खल्बलिएको कुरा गर्नुभयो । दाना उद्योगले चाहिँ अहिले के–कस्ता अप्ठ्यारा र चुनौती सामना गरिरहेका छन् ?
नेपालमा अहिले १५० हाराहारी दाना उद्योग सञ्चालनमा छन् । यी उद्योगसँग दैनिक १० हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ । तर अहिले क्षमताको ३० प्रतिशत पनि उत्पादन गरेको अवस्था छैन । यो सरदर आँकडा हो । कुनैमा १०–१५ प्रतिशत त कुनैमा ३० भन्दा माथि पनि उत्पादन भइरहेको छ । क्षमताको शत प्रतिशत उत्पादन गर्दा होस् या कम गर्दा, जनशक्तिलगायत अपरेटिङ खर्च पनि बराबर नै हुन्छ । यसले गर्दा उद्योगहरू घाटामा गइरहेका छन् ।

व्यवसायमा आएको मन्दीका कारण उद्योगहरू बन्द भएका वा हुने अवस्थामा पुगेका घटनाचाहिँ कत्तिको छन् ?
मास र पेलेट दाना उत्पादन गर्ने साना–ठूला गरेर १०५ हाराहारीमा दाना उद्योग सञ्चालनमा छन् । आगामी ६ महिनासम्म अहिलेको अवस्थामा कुनै सुधार आएन भने करिब–करिब ३० प्रतिशत दाना उद्योग बन्द हुन्छन् । पेलेट दाना उद्योगको लगानी धेरै हुने भएकाले यस्ता उद्योग बढी मर्कामा परेका छन् ।

यसको समाधानमा राज्यका निकाय र सरोकारवालाले खेलेको भूमिकालाई कसरी हेर्नुभएको छ ?
पोल्ट्री क्षेत्र चलायमान हुन पहिलो त कुखुराको मासु, अण्डाको खपत बढ्नुपर्छ । खपत बढेको अवस्थामा उत्पादन लागत कम हुन्थ्यो र राहत मिल्थ्यो ।

दाना बनाउँदा तीन स्रोत प्रयोग गरिन्छ, प्रोटिन, इनर्जी र एमुनोएसिड । प्रोटिनका लागि हामी भट्मास र यसको पिना प्रयोग गर्छौं । तर नेपालमा यसको उत्पादन पर्याप्त नभएकाले भारतबाट आयात गर्नुपर्ने अवस्था छ । सस्तो प्रोटिनका रूपमा विश्वव्यापी प्रयोग भइरहेको एनिमिया नेपालमा आइरहेको छैन । यसले पनि दानाको उत्पादन लागत बढाइरहेको छ । यसलाई उपलब्ध गराउन प्रयासहरू भइरहेका छन् । तर त्यो पर्याप्त भएको छैन ।

पोल्ट्री क्षेत्रलाई चलायमान बनाउन यसबाहेक अरू के–के गर्नुपर्ला ?
दाना उद्योगले आयात गर्ने कच्चा पदार्थको विद्यमान भन्सार दर उच्च छ । १३ प्रतिशत भ्याट र भन्सार लागत १० गरेर २३ प्रतिशत छ । यसले दानाको लागत बढाएको मैले माथि नै उल्लेख गरिसकेँ । यस्ता कच्चा पदार्थ सम्बन्धित निकायको सिफारिसमा आयात गर्दा एक प्रतिशत मात्र भन्सार दर कायम गरिदिने हो भने त्यसले निकै राहत पुग्ने थियो । म तपाईंमार्फत यसतर्फ राज्य र यसका निकायको ध्यानाकर्षण गराउन पनि चाहन्छु । अन्यथा अहिलेकै अवस्था कायम रहेमा स्थानीयस्तरमा सञ्चालित उद्योग बन्द हुनेछन् ।