सोचेझैं रहेन छ बाख्रापालन …

जीवनका ऊर्जाशील १७ वसन्त उनले विभिन्न सञ्चारमाध्यममा पत्रकारका रूपमा बिताए । करिअरको उत्कर्ष सम्पादकसम्म भए । विभिन्न सम्भावनाको बाटो देखाएर समाचार, रिपोर्ट, लेख तयार गर्थे । प्राप्त त्यस्ता सामग्री सम्पादन गर्थे । तर पाठकले चित्त बुझाए पो । धेरैको प्रतिक्रिया हुन्थ्यो- कुरा गर्नजस्तो सजिलो छैन काम गर्न ।’
यस्ता प्रतिक्रियामा उनको भने सधैं असहमति रहिरहन्थ्यो । असहमति मात्रै होइन, जङ नै चल्थ्यो । त्यसैको उपज हो, बाख्रापालक महासंघका अध्यक्ष प्रेमसागर पौडेलले रूपन्देहीको सैनामैनामा सञ्चालन गरेको विशाल बाख्रा फार्म ।
पौडेलले एक दशकअघि २५ वटा बाख्राबाट नितान्त नयाँ क्षेत्रमा पाइला हालेका थिए । अहिले विभिन्न १४ जातका ५०० बाख्रा उनको फार्ममा हुर्किरहेका छन् ।
व्यावसायिक बाख्रापालनबाट सन्तुष्ट भएर नै ११ वर्षदेखि निरन्तरता दिएको पौडेल सुनाउँछन् । तर देशको समग्र बाख्रापालन गर्ने किसानको प्रतिनिधिका रूपमा भने उनी कत्ति पनि सन्तुष्ट छैनन् ।
सोचेझैं बाख्रापालन रहेन छ…
आफ्ना सामग्रीमा असहमत पाठकलाई एकमुष्ठ जवाफ दिन उनले थालेको नयाँ यात्राले एक दशक पार गरेको छ । सानो संख्याबाट उनले थालेको बाख्रापालन २५ वटाबाट ५०० मा उकालो लागेको छ । आर्थिक रूपमा पनि यो फैलिएको छ । लाखबाट लाखौंको बनेको छ ।
यो क्षेत्रमा फाल हाल्नुअघि पौडेल निकै आत्मविश्वासी देखिएका थिए । निकै ठूलो सम्भावना उनले यसभित्र देखेका थिए ।
आफ्ना सञ्चारमाध्यमले उजागर गरेको सम्भावनामाथि पाठकले असहमति जायर गरेपछि त्यसलाई व्यवहारबाट नै पुष्टि गर्न फिल्डमा उत्रिएका पात्र हुन्, पौडेल । मनमा लागेका कुरा चिब्रो नचपाइकन प्रष्ट राख्ने स्वभावका प्रेमसागरको हिजोको भाषा र टोनमा अहिले १८० डिग्रीको बदलाव आएको छ । यो ११ वर्ष लामो अनुभवले विगतको आफ्नो निष्कर्ष गलत रहेको निचोडमा उनी पुगेका छन् ।
‘हिजो आफूले लेखेका, सम्पादन गरेका कुरा मानिस (पाठक) ले नपत्याएपछि त्यसलाई पुष्टि गर्न बाख्रापालन थालेको थिएँ,’ पौडेलले भनाइ र गराइबीचको अन्तरबारे प्रष्ट्याउँदै भने, ‘काम गर्न साँच्चै सजिलो रहेनछ । कति अप्ठ्यारो रहेछ भन्ने कुरा त यहाँसम्म आइपुग्दा निकै प्रष्टसँग बुझियो ।’
पौडेलका अनुसार, पढेरभन्दा परेर धेरै कुरा जानिने रहेछ । कुनै कुराको वास्तविकता बुझ्न त्यसमा प्रत्यक्ष संलग्न हुनुपर्ने रहेछ ।
‘हिजो मैले बाख्रपालनबारे जति बुझेको थिएँ, अहिले तपाईंले पनि त्यही बुझ्नु भएको छ । मैले अहिले बुझेको जति बुझ्न तपाईंले पनि फेरि बाख्रापालन नै गर्नुपर्छ । परेको र पढेकोमा धेरै अन्तर छ,’ उनले अगाडि थपे ।
आकर्षण बढ्यो व्यवस्थापन भएन
नेपालमा बाख्रापालनको इतिहास निकै लामो छ । यसले व्यवसायिक पक्डिएको भने एक दशक पनि हुन पाएको छैन । पाँच वर्ष अघिसम्म नेपालमा बाख्रापालन परम्परागत ढंगले हुने गरेको थियो । अहिले व्यावसायिक बाख्रापालनप्रति आमनागरिकको आकर्षण बढेको छ । तथ्यांकले पनि यस्तै
देखाउँछ । पौडेलका अनुसार, फार्म, संघ र सहकारी गरेर दुई हजार ३०० किसान उनको संस्थामा आबद्ध छन् । दर्ता गरेर नचलाउने र चलाएर दर्ता नगर्ने पनि उत्तिकै छन् । त्यसैले करिब ६० हजार मानिस व्यावसायिक बाख्रापालनमा आबद्ध रहेको पौडेलको हिसाब छ ।
बाख्राको व्यवस्थापन, गुण र क्वालिटी पनि राम्रो भएको छ । नेपालमा बाख्रा पालन एक हिसाबले सामान्य छ, अर्को हिसाबले जटिल पनि । तथापि, यसको सम्भावना निकै फराकिलो देख्छन् पौडेल । पौडेलका अनुसार, सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिने नेपाललाई बाख्राको देश भनेर चिनाउन सकिने अवस्था छ ।
छैन गुणस्तरमा ध्यान
अमेरिकालगायत विश्वका विकसित मुलुक नेपाली बाख्राको बजार हुनसक्छ । तर यसको गुणस्तर उकास्नेतर्फ राज्यले ध्यान नै नदिएको उनको गुनासो छ ।
धेरै किसिमका रोगको संक्रमणबाट नेपालका बाख्रा गुज्रिएका छन् । पीपीआर, एफएमडीलगायत रोगको समस्या खोपबाट दूर गर्न सकिने भए पनि यसतर्फ राज्यको चासो नगएको उनी बताउँछन् ।
पौडेलका अनुसार, नेपालमा उत्पादन हुने बाख्राले विश्व बजारको हिस्सा ओगट्ने सम्भावना भए पनि गुणस्तरकै कारण यो मौका गुम्दै गइरहेको छ । नेपालमा आउने विदेशीले समेत यहाँको मासु खाने गरेका छैनन् । पौडेलका अनुसार, नेपालको फाइभ स्टार होटलमा समेत विदेशी मासु पाक्दै आइरहेका छन् ।
‘नेपाली बाख्राले विदेशमा राम्रो बजार पाउने सम्भावना छ । तर त्यसका लागि हामीले गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले भने । भोक लाग्यो भन्दैमा सामान्य सरसफाइ ख्याल नगरी कसैले नखाने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने पौडेलको सुझाव छ । नेपालबाट विदेश निर्यात हुने अदुवालगायत वस्तु अहिले जान छाडेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड पक्डिन आग्रह गरे । सबै समस्या राज्यमा नै गएर ठोकिन्छ । सरकारमा जाने मान्छेले देश के हो, कृषि के हो भन्ने आधारभूत कुरा बुझेको मान्छे नै सरकारमा गएन । विदेशीले बुख्याचालाई सरकारमा पठायो । मेरो देश यो हो, यसको आवश्यकता यस्तो छ, किसान सबैभन्दा ठूला हुन्, हामीलाई खुवाउने यिनै हुन् भन्ने यिनले बुझ्दैनन् ।
भएन रैथाने जातको संरक्षण
नेपालमा विदेशबाट बाख्रा आयात गर्ने गरिएको छ । यसरी बाख्रा आयात गर्दा नेपाली रूपैयाँ विदेशिरहेको छ ।
पौडेलका अनुसार, विदेशबाट बाख्रा आयात गर्नुको एउटै कारण नेपाली बाख्राको उत्पादकत्व कम र विदेशीको बढी हुनु हो । नेपालको रैथाने बाख्राको संरक्षण गर्ने हो भने यो समस्या हल हुनसक्छ । तर यसतर्फ राज्यको फिटिक्कै ध्यान नपुगेको पौडेलको अनुभव छ ।
‘बाहिरबाट बाख्रा ल्याएर चल्दैन । स्वदेशी रैथाने जातको संरक्षण गर्नुपर्छ,’ पौडेलको गुनासो छ, ‘ब्रिडको संरक्षण राज्यको दायित्व भए पनि यसतर्फ ध्यान जान सकेको छैन ।
अस्पताल निर्माणमा उदासीनता
पशुपन्छीमा विभिन्न समस्या आउन सक्छन् । यस्ता समस्या समाधानका लागि विकसित मुलुकमा अस्पतालको व्यवस्था गरिएको हुन्छ ।
नेपालको अवस्था भने फरक छ । यहाँ पशुपन्छी अस्पतालको संख्या करिब करिब शून्य छ भन्दा पनि हुन्छ । पशुपन्छीको अस्पताल सञ्चालन नहुनुलाई पौडेल समग्र कृषि क्षेत्रको उपेक्षा र किसानको अपमान ठान्छन् ।
‘मान्छे बिरामी हुन्छ भनेर अस्पतालको प्रबन्ध गरिएको छ । मान्छेजस्तै बाख्रालगायत पशु पनि बिरामी हुन्छन् । तर तिनको लागि नेपालमा अस्पताल छन् त ?’ पौडेलले प्रश्न गरे । मान्छेको भन्दा धेरै संख्या हुँदाहुँदै पशुपन्छीको अस्पताल निर्माणमा ध्यान नदिँदा समस्या आएको उनको ठम्याइ छ । पशुपन्छीको मासु मानिसले खाने भएकाले यसमा गम्भीर हुन पनि उनले सुझाए ।
पलायनको चिन्ता
पौडेलका अनुसार, बाख्रापालन सोचेको जस्तो त छैन छैन, चाहे जसरी गर्न सकिने अवस्था पनि छैन । राज्यको मद्दतबाट बाख्रापालन क्षेत्रको विद्यमान समस्या हल गर्न सकिने भए पनि खोरदेखि बजार व्यवस्थापनसम्मको काम किसान स्वयंले गर्नु परिरहेको उनको भनाइ छ ।
बाख्रापालनप्रति पछिल्लो समय बढेको आकर्षण लोभ लाग्दो भए पनि राज्यको रवैयाकै कारण त्यो जनशक्ति पलायन हुने हो कि भन्ने त्रासले पौडेलको मनमा वास गरेको छ ।
‘किसानको एक्लो मिहिनेतले कृषि सम्भव हुँदैन । राज्यले कुरा बुझेन ।
जिम्मेवार पनि भएन । यसले व्यावसायिक बाख्रपालनमा आएका मान्छे पलायन हुने हुन् कि भन्ने डर छ,’ उनले भने ।
नेपालका लागि उपयुक्त बाख्रा
नेपालमा भूगोलअनुसार बाख्राका जात छन् । पौडेलका अनुसार, तराईमा तराई बाख्रा, मध्यपहाडमा खरी, उच्च पहाडमा सिंहाल र हिमालमा भेडा च्यांग्रा उपयुक्त हुन्छन् । नेपालमा अहिले पालिएका अधिकांश बाख्रा यही रैथाने जातका छन् । तथापि विविधि कारणले यिनीहरूको गुणस्तर खस्किएको छ । उत्पादकत्वमा कमी आएको छ । पौडेल धेरै खाने, थोरै दिने भएकाले किसानले विकल्पमा विदेशी बाख्रा खोज्न थालेको बताउँछन् ।
हाडनाता प्रकरण, औषधि उपचारको उचित प्रबन्ध हुन नसक्नु र सन्तुलित खाने कुराको अभाव हुनुले पनि रैथाने बाख्राको उत्पादकत्वमा ह्रास आइरहेको छ । यो समस्या सल्ट्याउने ल्याकत किसानमा नभएकाले राज्यले अग्रसरता लिनुपर्ने पौडेल बताउँछन् ।
छैन माग धान्ने ल्याकत
विश्व खाद्य संगठनका अनुसार, एक व्यक्तिले वार्षिक १४ किलो मासु खान उपयुक्त हुन्छ । अमेरिकामा एक नागरिकले वर्षमा ११२ केजी मासु खान्छन् ।
तर नेपालको अवस्था भने फरक छ । नेपालीको तोकिएको मासु खाने क्षमता पनि छैन अनि उत्पादन पनि । पौडेलका अनुसार, नेपालमा अहिले एक व्यक्तिलाई वार्षिक रूपमा १२ किलो पुग्ने मासु मात्र उत्पादन भइरहेको छ ।
ऋण बोक्नुभन्दा खाडी नै ठीक
देशमा रोजगारीको अभावले लाखौं युवा विदेशिएका छन् । परिवार पाल्ने न्यूनतम दायित्व पूरा गर्न तिनले ५० डिग्रीको खाडीको तावामा रगत र पसिना सिञ्चित गरिरहेका छन् ।
नेपालमा आवश्यकताअनुसार मासु उत्पादन नभएकाले केही युवाले व्यावसायिक बाख्रापालन गर्नसक्ने ठाउँ देखिन्छ ।
तर पौडेल व्यावसायिक बाख्रापालनमा युवालाई बाख्रापालन गर्न सुझाव दिने पक्षमा छैनन् । राज्यले किसानमैत्री वातावरण नबनाएसम्म युवा यो क्षेत्रमा आउने अवस्था नरहने उनको भनाइ छ ।
‘व्यावसायिक बाख्रापालनका लागि अहिले अवस्था राम्रो छैन । दुई वर्ष बाख्रापालन गरेर ऋणमा डुब्नुभन्दा खाडीमा नै काम गरेर परिवार पाल्न उचित हुन्छ,’ पौडेलको स्पष्ट सुझाव छ ।
राज्यले युवालाई विदेश लेखेटेकाले त्यो बन्द गरिनुपर्ने उनको भनाइ छ । ‘राज्यले युवालाई खाडीबाट तिमी यहाँ आऊँ, यहाँ राम्रो छ भन्ने वातावरण पहिले बनाउनुपर्छ । यहाँ आएर ऋणमा डुब्नुभन्दा खाडीमा बसेर जीविका चलाउँदा नै ठीक भन्नुपर्ने अवस्था छ,’ उनले दोहोर्‍याए ।
पौडेलका अनुसार, संसारमा कृषि भनेको राज्यको जिम्मेवारी हो । इजरायल, अमेरिकाले त्यो निर्वाह गरिरहेका छन् । तर नेपालमा राज्य यो दायित्वबाट बिमुख बनेको उनको आरोप छ । नागरिकप्रति पनि उनी सन्तुष्ट देखिएनन् ।
‘बिहान र बेलुकाको खानेकुरा किसानले तयार गरेर पठाएको छ । यसरी पठाएपछि नागरिक पनि जिम्मेवार बन्नुपर्ने हो । उपभोक्ता र नागरिकले यो मेकानिजममा जिम्मेवार भएर कृषि टिकाउन सक्ने वातावरण जबसम्म बन्दैन, त्यो बेलासम्म एक्लो कृषि टिक्दैन ।’
उनका अनुसार, राज्य व्यवस्थाका विभिन्न चरित्र हुन्छन् । अहिलेको व्यवस्था दलाल पुँजीवादी हो । यो व्यवस्थामा राष्ट्रको नभएर दलालको सेवा गर्ने काम हुन्छ । जसको दलाली गर्दा फाइदा हुन्छ, व्यक्तिले त्यही गर्छ । पौडेल अहिले नेपालमा त्यही भएको बताउँछन् ।
कृषि क्षेत्रमा आकर्षण नहुनुको मूल कारणसमेत उनले यही भएको औंल्याए । ‘कृषि नाफामुखी भएको भए खेतान, गोल्छा, चौधरीका बाख्रा फार्म देख्नुहुन्थ्यो होला । अहिले यस्ता फार्म कतै छन् र ? यो देशका पुँजीपति र सयौं बिघा जमिन भएका कसैले कृषिमा काम गर्दैनन् भनेपछि यो फाइदाको क्षेत्र होइन भन्ने बुझिन्छ । स्वदेशीभन्दा विदेशी उत्पादन बिक्री गर्दा कुस्ता कमिसन पाइने भएकाले सबैको ध्यान त्यतैतिर छ,’ उनले उद्यमी, व्यवसायीको मनोदशा तौलिँदै निष्कर्ष सुनाए ।
किसानले लामो समयदेखि गरेको धैर्यताको बाँध कुनै दिन टुट्न सक्ने पौडेलको आकलन छ । त्यसले शासकको नरसंहार गर्नसक्ने खतरा पनि उनी देख्छन् । ‘किसानको विद्रोह अन्तिम हो । फ्रान्सको कन्युनिजम किसान विद्रोहपछि सुरु भएको थियो । किसान अन्नदाता हुन् । भगवान् हुन् । किसानले सबैलाई पालेको छ । अरूलाई पाल्नेसँग संहार गर्ने क्षमता पनि हुन्छ,’ उनले कुराकानी तुर्दै भने ।