मनाङ हिमालपारिको जिल्ला । विकट छ, विकासले चुम्वन गर्न सकेको छैन । र पनि सम्भावना नै सम्भावना छ । हिमाली जिल्ला भए पनि यहाँ पशुपालन गरेर किसानले आम्दानी निकाल्न सक्ने प्रशस्त आधारहरू छन् । तर यो सम्भावना पक्डने प्रयास निकै कम भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मनाङका प्रमुख नारायण कुसुम मनाङको पशुपन्छीपालनले सन्तोषजनक लय पक्डन नसकेको बताउँछन् । कुसुमका अनुसार, हिमपात र हिउँ चितुवा यहाँका किसान र पशुपन्छीका सत्रु हुन् । कुसुमसँग मनाङको पशुपन्छीपालनको वर्तमान अवस्था, समस्या र सम्भावनामा केन्द्रित रहेर भेट टाइम्स मासिकले गरेको सवाल :
पशु सेवा विज्ञ केन्द्र, मनाङको कार्यक्षेत्र र कार्ययोजनाबारे जानकारी गराइदिनुहोस् न ?
कार्यालयको कार्ययोजनामा पुँजीगत कार्यक्रममा प्रयोगशाला तथा पशु उपचार, डिस्पेन्सरीको व्यवस्थापन, कार्यालय व्यवस्थापन, फर्निचर र मेसिनरी औजार खरिद रहेको छ । यसका लागि चालु आर्थिक वर्षमा रु. ११ लाख ४० हजार रकम विनियोजन गरिएको अवस्था छ ।
चालु खर्चतर्फ प्रशासनिक बजेट, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, पशु आहारा प्रवद्र्धन कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम, पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रम, एकीकृत पशु स्वास्थ्य कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम र एकीकृत पशु स्वास्थ्य कार्यक्रम रहेका छन् ।
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरिएका कामबारे पनि बताइदिनुहोस् न ?
गत वर्ष पशु प्रजनन निम्ति थुमा वितरण गरिएको थियो । यो ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा साना पशुपन्छी फार्म, ७५ प्रतिशत अनुदानमा फार्म यान्त्रीकरण र ९० प्रतिशत अनुदानमा घुम्ती गोठ प्रवद्र्धन कार्य पनि गरियो ।
सरकारले पशुपन्छीजन्य केही वस्तु कुखुराको मासु, अण्डालगायतमा आत्मनिर्भर घोषणा गरेको छ । जिल्लामा यी वस्तुको अवस्था कस्तो छ ?
यसैलाई मध्यनजर गरेर जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । मासु उत्पादन बढाउन विभिन्न अनुदानका कार्यक्रमहरू यसैअन्तर्गत गरिएको हो ।
घुम्ती गोठ प्रणालीमा पनि जोड दिने गरिएको थियो । कामदारको अभावले यसमा भने कमी हुँदै गएको छ ।
विभिन्न जिल्लामा बर्डफ्लु रोगको प्रकोप देखिएको छ । मनाङमा यो रोगको अवस्था कस्तो छ र नियन्त्रणतर्फ कार्यालयले के-कस्ता काम गरिरहेको छ ?
मनाङमा हालसम्म बर्डफ्लू देखिएको छैन । यहाँ चितवन, तनहुँ र लमजुङ हुँदै कुखुरा भित्रिने गरेको छ । कुखुरा जिल्लाभित्र आयात गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकमा छलफल गर्ने गरिएको छ । बर्डफ्लू भित्रिन सक्ने जोखिमलाई मध्यनजर राख्दै विभिन्न नाकामा सतर्कतास्वरूप प्रशासनबाट कडाइ गर्न लगाइएको छ ।
मनाङमा छाडा पशु चौपाया र सामुदायिक कुकुरको अवस्था कस्तो छ ? तिनीहरूको नियन्त्रण र व्यवस्थापन निम्ति तपाईं नेतृत्वको कार्यालयले के गरिरहेको छ ?
मनाङमा छाडा पशु चौपायको कुनै समस्या छैन । सामुदायिक कुकुरको भने यहाँ बिगबिगी छ । त्यसको नियन्त्रणका लागि हामीलाई बाहिरबाट एनजिओको पनि साथ छ । चालु आर्थिक वर्षमा मात्रै कुकुरहरूरुमा न्युटरिङ गरिएको छ । तर यो कार्यक्रमले सबैलाई समेटन सकेको छैन । यसैलाई मध्यनजर गरेर हाम्रो भेटेरिनरी अस्पतालले पनि आगामी आर्थिक वर्षको कार्यक्रममा यससम्बन्धी प्रस्ताव गरेको छ । यसलाई केन्द्रीय रिफरल हस्पिटलको प्राविधिक सहयोगमा पूरा गर्ने लक्ष्य छ ।
तपाईं यस केन्द्रको कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । यो जिल्लाको पशुपन्छीपालनमा कृषकहरूको उत्पादन बढाउन के-कस्ता सल्लाह दिनुहुन्छ ?
मनाङ जिल्लाको परिवेशमा कृषकहरू व्यावसायिकतातर्फ आकर्षित भएका छन् । तर सरकारले मात्र गरिदिओस् भन्ने मानसिकतालाई कम गर्न ५० प्रतिशत प्रतिशतदेखि ७५ प्रतिशतसम्म अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो छ । उत्पादन बढाउन पशु आहाराको समुचित व्यवस्था हुनुपर्छ । तर ढुवानी सहज छैन, मनाङमा । यसका लागि ढुवानीमा अनुदान दिन जरुरी छ । घुम्ती गोठ प्रणालीमा पालिने पशुको लागि चरन खर्क सुधारको लागि पुल, पुलेसा, खानेपानी र बाटो निर्माणका कार्यक्रमहरूरु राख्न आवश्यक छ ।
अन्त्यमा केही भन्नु छ कि ?
अहिले नयाँ-नयाँ प्रविधिको विकास भएको छ । भित्रिएका प्रविधि कृषि तथा पशुपालनमा पनि वरदान सावित भएका छन् । तर यस्ता प्रविधिमध्ये कतिपय मनाङका कृषकहरूसम्म पुगिसकेको छैन । त्यसलाई कृषकका घरदैलोमा पुर्याउनु अहिलेको आवश्यकता हो । कृषकलाई जति धेरै तालिम र प्रशिक्षण दियो त्यति मात्रामा उत्पादन वृद्धि हुन्छ । यसका लािग पनि कृषकहरूलाई स्थलगत तालिममा सहभागी गराउनु पर्नेखाँचो छ ।
पशुजन्य पदार्थको विविधीकरण गर्ने प्रचलन अहिले छ । तर मनाङमा यस्तो अभ्यास कम छ । यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता म देख्छु । पशु प्रजनन प्रणालीलाई व्यवस्थित गर्नेदेखि पशु आहाराको सुनिश्चितामा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
मनाङमा भारी हिमपात हुन्छ । हिउँ चितुवाको आक्रमणबाट पनि पशुचौपाया उत्तिकै मारिने गरेका छन् । अर्थात् हिमपात र हिउँ चितुवा मनाङका किसानका सत्रु हुन् । प्रविधिको प्रयोग गरेर यसमा कमी ल्याउन सकिन्छ । तर यसतर्फ काम भएको छैन ।
कृषि तथा पशुपालनमा धेरै सम्भावना छ । हिमाली जिल्ला भए पनि मनाङमा पनि उत्तिकै छ । कृषकहरू पशुपालन त गरिरहनु भएको छ, तर त्यसमा नवीनता छैन । शैली पुरानै छ । यहाँका किसानलाई पशुपालनको आधुनिक तौरतरिका सिकाएर थप लाभ लिनसक्ने बनाउनु पर्छ ।
मनाङमा भेटेरिनरी अस्पताल छन्, तर नाम अनुसारको काम छैन । न दक्ष जनशक्ति छन् न औषधि । यसको व्यवस्थापनमा पनि सरकारले ध्यान दिन आवश्यक छ । हामीमा कुरा गर्ने तर काम नगर्ने परिपाटी छ । यो प्रवृत्तिले कहिल्यै पनि सफल हुन सकिँदैन । त्यसैले यसको अन्त्य जरुरी छ । भेटेरिनरी प्रयोगशालाबाट सेवा प्रवाह अपेक्षित ढंगले नभएकाले यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेतर्फ सरोकारवाला सोच्नु हुनेछ भन्ने अपेक्षा मैले गरेको छु ।