नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो १४ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन

काठमाडौं । नौ बुँदे घोषणापत्र जारी गर्दै १४ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन सम्पन्न भएको छ ।

कास्कीको पोखरामा असार ३ र ४ गते दुई दिन चलेको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सफलतापूर्वक सम्पन्न भएको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए ।

‘राष्ट्रको सुरक्षाका लागि पशु चिकित्सकहरू, अन्तर्राष्ट्रिय प्रतिबद्धताका लागि छलफल’ मूल नारा दिइएको सम्मेलनमा पशु चिकित्सा, पशु स्वास्थ्य, एक स्वास्थ्य, पशुपन्छी तथा मत्स्य उत्पादन तथा व्यवस्थापनलगायत क्षेत्रका अनुसन्धान तथा खोजबारे बृहत प्रस्तुति तथा छलफल भएको थियो ।

 

स्वदेशी तथा विदेशी पशु चिकित्सक, पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्तालगायत ४०० जनाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख वक्ता, आमन्त्रित वक्ता, प्रस्तुतकर्ता र पोस्टर प्रस्तुतकर्ता गरी कुल ६९ वैज्ञानिकको कार्यपत्रमाथि विशेष छलफल भएको भएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

महासचिवमा शीतलकाजी चयन

यसैबीच, दक्षिण एसियाली राष्ट्रहरुका भेटेरिनरी एशोसिएसनको कार्यसमितीमा सम्मेलनले इण्डियन भेटेरिनरी एसोसिएसनका अध्यक्षको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।

समितिको महासचिव डा. शीतलकाजी श्रेष्ठ चयन भएका छन् ।

सम्मेलनको आयोजक नेपाल भेटेरिनरी एसोसिएसनले यसलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।