काठमाडौं । पशुपन्छी औषधि व्यवसायी मान्यता परीक्षाको नतिजा प्रकाशित भएको छ । पशु सेवा विभाग र पशु सेवा तालिम केन्द्रको समन्वयमा औषधि व्यवस्था विभागले गत जेठ १९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो ।
परीक्षामा सहभागिताका लागि ३५९ जनाको नामवली प्रकाशन भएकोमा ३५२ जना सहभागी भएका थिए । तीमध्ये ४३ जना मात्रै उत्तीर्ण भएको औषधि व्यवस्था विभागले जनाएको छ ।
यो कुल परीक्षार्थीको मात्रै १२.२१ प्रतिशत हो ।
विभागले सोमबार परीक्षाको नतीजा सार्वजनिक गर्दै नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित ४५ दिनभित्र व्यवसायी प्रमाणपत्रका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
संघ रुष्ट, माग सम्बोधन नभए आन्दोलन गर्ने
यसैबीच, विभागले सोमबार प्रकाशित गरेको परीक्षाको नतिजाप्रति नेपाल पशुपन्छी औषधि व्यवसायी संघले असन्तुष्टि व्यक्त गरेको छ ।
संघका अध्यक्ष रितेश रिमालले बदनियतपूर्ण ढंगले सेनाको घेरामा परीक्षा सञ्चालन गरेर व्यवसायीलाई अनुत्तीर्ण गराइएको आरोप लगाए । व्यवसायीलाई पेशाबाट पलायन गर्ने मक्सद राखेर यस्तो नतिजा निकालेको हुनसक्ने आशंका पनि उनले व्यक्त गरे ।
‘तालिम दिएको दुई वर्षपछि बदनियतपूर्ण ढंगले परीक्षा सञ्चालन गरी व्यवसायीलाई अनुत्तीर्ण गराइएको छ,’ नतिजाप्रति असन्तुष्टि जनाउँदै रिमालले भने, ‘व्यवसायबाट पलायन गर्ने गरी विभागले यस्तो गरेको हो कि के हो, बुझ्न सकिएन ।
परीक्षा सम्बन्धमा विभागलाई ध्यानाकर्षण गराइएको भए पनि त्यसको सुनुवाइ नभएको उनले बताए ।
बदनियतपूर्ण ढंगले परीक्षा सञ्चालन गरेर ठूलो संख्यामा व्यवसायीलाई अनुत्तीर्ण गराइएकाले पुनः परीक्षा सञ्चालन गर्नुपर्ने माग संघले अघि सारेको छ । अन्यथा संघर्षका कार्यक्रम घोषणा गरेर दबाब बढाउने अध्यक्ष रिमालले बताए । संघर्षका कार्यक्रमसँगै कानूनी उपचारका लागि पनि संघले पहलकदमी लिने उनले बताए ।
‘अब छिट्टै संघको बैठक बसेर संघर्षका कार्यक्रम सार्वजनिक गर्छौं,’ रिमालले भने ।