खराब व्यवसायिक अभ्यास र कोरोनाले अस्तव्यस्त पोल्ट्री व्यवसाय

नवराज तिमल्सिना

नेपालमा बिस्तारै पोल्ट्री व्यवसाय फैलिँदै आएको छ । हिजोभन्दा आज, आजभन्दा भोलि यो व्यवसायप्रति युवाको जोश, जाँगर र आकर्षण बढ्दै आइरहेको छ । तर, अप्रत्यासित रुपमा बेला–बेला आइपर्ने समस्याबाट आम व्यवसायी चिन्तित हुनुपरेको छ । बर्ड फ्लु जस्ता महामारी, मागको तुलनामा कम र बढी उत्पादन, अस्थिर मूल्य, चल्लाको अभाव, उत्पादन भएका कुखुरा समयमै बिक्री नहुने जस्ता अनेक समस्या यस क्षेत्रमा देखिँदै आएका थिए । पछिल्लो समय कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले यो समस्या अझ चुल्याइदिएको छ ।

लकडाउनको सुरुमा कुखुराको ढुवानी नै प्रभावित बन्न पुग्यो । उत्पादिन कुखुरा सकिएपछि केही समय कुखुराको अभाव जस्तै देखियो । अभाव भएपछि कुखुराको मासुको मूल्य बढ्यो । तर, बढेको त्यही मूल्य लिन चल्ला हालेका व्यवसायीले अहिले लागत मूल्य नै नपाउने अवस्था बनेको छ । आखिर किन यस्तो हुन्छ र भइरहन्छ यो व्यवसायमा ? यो नै आजको पोल्ट्री ब्यबसायको जल्दोबल्दो समस्या हो ।

बिगत ६ महिनादेखि लकडाउनका कारण समयमै औषधि, दाना, चल्ला, ढुवानी नहुने, र बजार मूल्य पनि नपाउनाले व्यवसाय जस्ता अनेक समस्याले व्यवसाय नै धर्मर–धर्मर हुँदै जेनतेन चलिरहेको छ । लकडाउन सुरु भएको २०७६ चैतमा अवस्था भयावह नै भएको थियो । व्यवसाय गर्ने किसानले कुखुरा गाड्न बाध्य भए भने तयार भएका कुखुरा प्रतिगोटा एक सय रुपैयाँका दरले बेच्न विबश भए । कति ह्याचरी उद्योगले चल्ला उत्पादन छोडे भने कति त विस्थापित नै भए ।

बेला–बेला सञ्चार माध्यमबाट कुखुराका अन्डा तथा मासु खाँदा सावधानी अपनाउन, राम्ररी पकाएर खाना सचेतना विज्ञापनहरु प्रकाशित प्रसारित गरियो । तर, सामाजिक सञ्जालहरुमा भने कुखुराको मासुबाट नै कोरोना सर्यो भन्ने तथ्यहीन र भ्रामक जानकारीहरु पनि सेयर हुने पुगे । डराइरहेको मानिसलाई यसले अझ डर थप्ने काम गर्यो । त्यसपछि आत्मनिर्भर बनेर नेपाललाई नै आर्थिक समृद्धि दिन सक्नेगरी अघि बढिरहेको यो व्यवसाय धराशयी हुँदै गयो । कुखुरा पालक किसान तथा पोल्ट्री व्यवसायीलाई निराश बनायो ।

किसानको उत्पादन, बिचौलियाकाे मूल्य

एकातिर व्यवसायी मर्कामा छन् भने अर्कोतिर किसानले उत्पादन गरेको अन्डा, मासुको मूल्य २÷४ जनाको चाहानामा निर्धारण हुँदै आएको छ । वैज्ञानिक मूल्य निर्धारण त परको कुरा भएको छ । जब ठुला स्लटर हाउसहरुको कोल्ड रुम खाली हुँदै जान्छ, त कुखुराको मासुको मुल्य घट्दै जान्छ र त्यो खालि भएको कोल्ड रुम जब जब भरिन थाल्छ त्यसपछि बिस्तारै मसुको मूल्य बढ्दै बढ्दै जान्छ । यसरी बजार र बजार मूल्यलाई आफ्नो मुठ्ठीमा पार्ने ठूलो उद्योगीहरुको साम्राज्यलाई सरकारले भत्काउन सक्दैन । उनीहरुको मुठ्ठीबाट बजारलाई मुक्त गर्न सक्दैन ?

यदि सक्छ भने मात्रै खास गरी कुखुरा पालन व्यवसाय नाफामूलक हुन सक्छ । नत्र दानपुण्यका लागि वा आफू सन्यासी बन्न गरिएको व्यवसायभन्दा माथि उठ्न सक्दैन । स्लटर हाउस खोल्ने, मासु बिक्री गर्ने बिचका व्यवसायी सँधै नाफामा र उत्पादक किसान सँधै घाटामा हुने प्रथाको सरकारले अन्त्य गर्न सक्नुपर्छ । अर्कोतिर उपभोक्ता जो छन्, उनीहरुले बिचौलियाले बढाएको मासुको मूल्यमा कहिल्यै कुनै गुनासो गरेको वा बहिस्कार गरेका छैनन् ।

मूल्य निर्धारण गर्दा कम्तिमा पनि किसानको लागत मूल्य कति परेको छ, त्यसको वैज्ञानिक रुपमा हिसाब गरेर मूनाफा समावेश गरी तोकिनु पर्ने हो । तर, ३/४ जना ठूला उद्योगी वा विचौलियाको समूह नाइकेले फोन गरेको भरमा मासुको मूल्य तोकिन्छ भने त्यसमा उत्पादकको लागत वा किसानको मुनाफालाई कसले ध्यान देला र ? यसरी ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तो किसानको श्रममा बिचौलियाको राज भएसम्म यो व्यवसाय माथि उठ्न सक्दैन । बिचौलियाले पनि धन त कमाउलान् तर त्यो किसानका रगत पसिना र आँसु मिसिएको हुन्छ । व्यवसायिक नैतिकतामा आधारित हुँदैन ।

सम्पूर्ण व्यवसायी, उद्योगी मित्रहरुमा हार्दिक अनुरोध छ– कहिलेकाहिँ सुनिन्छ, चल्ला धेरै उत्पादन भएकाले मासुको भाउ घट्यो । तपाईँहरु सँग सँस्था छ, सिफारिस बिना चल्ला आयत हुँदैन यो पनि थाहा छ, अनि तपाइँ ठूला उद्योगीहरु अलिकति चल्ला उत्पादन कम गर्न मान्नुहुन्न, नयाँ उद्योगीहरु नाफा छ भनेर आउनुहुन्छ यसकारण उत्पादन बढ्न जान्छ । के यसलाई तपाइँहरुको सँस्थाले नियन्त्रण गर्न सक्दैन ? उत्पादन गरेको चल्ला को बजार कहाँ छ ? कति छ ? प्रतिहप्ता कति चल्ला बिक्री गर्दा कति किलो मासु उत्पादन हुन्छ ? त्यो मासुको खपत कसरी र कति हुन्छ भन्ने विषय अध्ययन गर्नुस् र कतिसम्म थप चल्ला उत्पादन गर्दा बजारमा स्थिरता भैरहन्छ भन्ने अध्यनन गर्नुस् सोही अनुसारको चल्ला उत्पादन गर्न सिफारिस गर्नुस् र आफूले गर्ने गरेको उत्पादनमा पनि केही कम गर्नुस् बजार आफैँ सुधारोन्मुख हुँदै जान्छ । यति गर्न तपाइँहरुको लागि गाह्रो विषय होइन । त्यसैले यो व्यवसायलाई दरिलो बनाउन आजै बाट लाग्नुस् ।

महोदय, तपाइँ हामी सबैलाइ थाहा छ– न सरकारले यो व्यवसायलाई ध्यान दिएको छ न त छुटको दायरा बढाइएको छ । स्वतन्त्र छोडेर पनि यो व्यवसाय उत्पादक किसानको हित हुन नसकेको हो । चल्ला, दाना दिनेले नै मासुको मूल्य निर्धारण गर्नु कुनै हालतमा जायज र न्यायसंगत विषय हुँदै होइन । यसमा सरकारले ध्यान दिनै पर्छ । देशकै अर्थव्यवस्थाको एउटा आत्मनिर्भर क्षेत्र र मुख्य मेरुदण्डको रुपमा विकास हुँदै आएको पोल्ट्री जोगाउन बेलैमा सोचियोस् ।

हिजो भारतबाट अर्बौैं रुपैयाँको अन्डा, मासु आयत हुने गरेको थियो । तर आज स्वदेश कै उत्पादन पर्याप्त भएको छ । यस्तो महत्वपूर्ण विषयमा दह्रो नियमन हुन नसक्दा बिचौलियाको एकाधिकार बढ्ने, कृषकको लगानी डुबिरहने हुन्छ । त्यसो हुँदा पोल्ट्री क्षेत्रका उत्पादन अण्डा, चल्ला, कुखुरा, मासुको मूल्य सरकारले तोक्न ढिलो भइसकेको छ ।

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री ज्यूसँग बसेर सबै सरोकारवालाले परामर्श गरी एक विज्ञसहितको समूह बनाएर अध्ययन सुरु गरौं । सरकारले आफ्ना पशुपन्छी क्षेत्रका संरचना मात्रै उपयोग गर्ने हो भने पनि यो अध्ययनका लागि बढी समय लाग्दैन । समस्या, अवसर र किसान ठगिनुका सबै रहस्यहरु थाहा हुनेछ । त्यसपछि वैज्ञानिक हिसाबले मूल्य तोक्न सकिन्छ । माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री ज्यूले दह्रो इच्छाशक्ति राख्नुभयो भने यो काम सहजै हुन सक्छ ।

५० पैसा भटमास को पिना को मुल्य बढ्दा तुरुन्त दानको भाउ बढ्छ । चल्लाको माग अलि बढ्नासाथ भाउ बढ्छ । मासु उत्पादन बढ्यो कि कुखुराको जाम भयो भन्दै आज यति भाउ घट्यो भोलि यति घट्यो भनेर फोन को भरमा मुल्य निर्धारण गरिन्छ । मासु सेवन गर्ने आम उपभोक्ताले भने ५० देखि ७५ रुपयाँसम्म कुखुराको मूल्य घट्दा पनि मासुको मूल्य उही तिरिरहेका हुन्छन् ।

यदि दानामा सहि तरिकाले भिटामिन मिनरलहरु राखिने हो भने अन्य भिटामिन हरु नखुवाउँदा पनि कुखुराको तौल आउनु पर्ने हो तर आएको छ त ? छुट्टै भिटामिन नखुवाइकन कुखुराको पर्याप्त तौल आएकै छैन । ह्याचरीबाट तौल नै नपुगेका अस्वस्थ चल्ला पनि लगेर फार्ममा पाल्ने गरिएको छ । अनि किसानलाई नै घाटा भइरहेको छ । त्यसो हुँदा यस क्षेत्रका सम्पूर्ण सरोकारवाला पक्ष उत्पादक, औषधी व्यवसायी, ह्याचरी, दाना, सप्लायर्स, मासु व्यवसायी, उपभोक्ता, सरकार सबै बसेर मात्रै सही निर्णय लिन सकिन्छ ।

कुनै एउटा पक्षले आफ्नो मात्रै लाभ र हानीबारे सोच्छ भने समग्री पोल्ट्री क्षेत्र नै धराशयी बन्दै जान्छ । आफू ३/४ तला माथि छु भनेर हेरिरहँदा, तलको जग कमजोर पो छ कि भनेर नि सोच्नुपर्छ । कमजोर छ भने माथिल्लो तलामा बस्ने पनि गल्र्यामगुर्लुम ढल्न सक्छ । यी यस्ता गम्भीर विषयलाई आत्मसात गर्दै समग्र पोल्ट्री व्यवसायको हित हुने अग्रगामी कदम अगाडि बढाऔं । सबैमा हार्दिक शुभेच्छा !        (लेखक पाेल्ट्री महासंघ नेपालका संस्थापक सदस्य हुनुहुन्छ ।)