विज्ञ केन्द्र ललितपुरले पिपिआर खोप अभियान सञ्चालन गर्दै

ललितपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले सप्ताहव्यापी पिपिआर खोप अभियान सञ्चालन गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशको पशुपन्छी तथा मस्य मस्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेलको आयोजनामा माघ २५ देखि फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुन लागेको हो । अभियानअन्तर्गत १९ स्थानीय तहका किसानको घर गोठमै पुगेर भेडा तथा बाख्रालाई खोरेतविरुद्धको पिपिआर भ्याक्सिन लगाउने जनाइएको छ । त्यसका लागि विज्ञकेन्द्रले ४१ जना भ्याक्सिनेटर (खोप लगाउने प्राविधिक) नियुक्त गरेको छ ।

अभियानबारे जानकारी दिन आइतबार ललितपुरको पशु सेवा विज्ञ केन्द्रमा आयोजित अन्तरक्रियामा बोल्दै केन्द्रका प्रमुख डा. गौरीमान श्रेष्ठले पिपिआर खोपको महत्त्व तथा यसको प्रयोग विधिबारे भ्याक्सिनेटरलाई प्रशिक्षित गरेका थिए ।

कार्यक्रमको विशेष आतिथ्यता ललितपुर महानगरपालिकाका पशुसेवा शाखा प्रमुख डा.अमर राय र केन्द्रका प्रमुख डा.जगतबहादुर सिंखडाले गरे । अन्तरक्रियामा १९ स्थानीय तहका पशुसेवा शाखा प्रमुख एवं भ्याक्सिनेटरहरूको पनि उपस्थिति थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै डा.श्रेष्ठले पिपिआर खोप विशेष गरेर बाख्रा र भेडामा मात्र लगाउनु पर्ने औंल्याए । खोपले ठूलो क्षति हुनबाट रोक्ने जानकारी दिँदै उनले यसलाई सप्ताहव्यापी पर्वका रूपमा मनाउन आग्रह गरे । उनले राज्यले निकै ठूलो धनराशी खर्चेर अभियान सञ्चालन गरेकाले यसलाई साथ दिन सबैसँग अनुरोध गरे ।

 

खोप लगाउन आवश्यक भ्याक्सिनेसन बक्स, आइस बक्स, भ्याक्सिनलगायत सम्पूणर् आवश्यक सामग्री सो अवसरमा हस्तान्तरण गरियो । खोपकर्ताले खोप लगाएको रेकर्ड विज्ञ केन्द्रमा पठाएर सोबापतको पारिश्रमिक लिनसक्नेछ ।

एक साता चल्ने खोप अभियानको फोकल पर्सनमा कृष्ण कार्की तोकिएका छन् ।