पशुजन्य खाद्य पदार्थ अभावले मानिसमा कुपोषण लाग्ने भेटेरिनरी एशोसिएशनको चेतावनी

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले पशुपन्छीजन्य खाद्य पदार्थको अभावमा मासिनमा कुपोषण लाग्ने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने चेतावनी दिएको छ ।

दुध, फुल(अण्डा), माछामासु जस्ता पशुजन्य उत्पादनको अभावमा मासिनमा कुपोषण लाग्ने तथा रोग प्रतिरोध गर्ने क्षमता कमजोर हुने एशोसिएशनले चेतावनी दिएको हो । कोभिड–१९ को संक्रमणको नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण पशुपन्छी, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको उत्पादन, प्रशोधन, ढुवानी तथा वितरण र समग्र पशु चिकित्सा सेवासमेत अवरुद्ध हुँदा यस्तो अवस्था आउन लागेको एशोशिएशनले चेतावनी दिएको हो । एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले विज्ञप्ती जारी गरी संकटको यो घडीमा पशुपन्छीको आकस्मिक उपचार कल्याणकारी कार्य गरी जनधनको संरक्षण र सुरक्षित पशुजन्य खाद्य पदार्र्थको सुनिश्चितताका लागि पशु चिकित्सा सेवा प्रभावकारी रुपमा सुचारु गर्न आवश्यक रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), विश्व पशु स्वास्थ्य संगठन (ओआइई) र विश्व खाद्य तथा कृषि संगठन (एफएओ)ले त्रिपक्षीय सम्झौता गरी पशु स्वास्थ्य र जनस्वास्थ्य सेवालाई एकीकृत रुपमा परिचालन गर्ने निर्णय गरेअनुसार नेपाल सरकारले एक स्वास्थ्य नीति (वन हेल्थ स्टार्टेजी) पारित गरेको भन्दै त्यसै नीतिअनुसार अघि बढ्न पर्ने अध्यक्ष श्रेष्ठले माग गरेका छन् । उनका अनुसार सम्भाव्य जुनोटिक महामारी रोगहरुको नियन्त्रणका लागि उक्त रणनीति अनुसार नै सर्भिलेन्स, रोग निदान, नियन्त्रण र रोकथामका लागि भेटेरिनरी सेवाको परिचालन गर्नु अत्यावश्यक छ ।

सरकारले संकटको यो घडीमा मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षणको सुनिश्चिताका लागि प्रशासन सुधार सुझाव समितिले २०७० सालमा नै सिफारिस गरेअनुसार भेटेरिनरी सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेर सेवा सञ्चालन तथा व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।