नेपालमा पशु चिकित्सा शिक्षाको माग र आवश्यकता बढ्दो छ । परम्परागत पशुपन्छी तथा मत्स्यपालन पेशालाई नेपालीहरुले क्रमशः व्यवसायिक रुपमा अघि बढाउँदै लगेपछि यस्तो भेटेरिनरी शिक्षाको महत्व, माग र आवश्यकता पनि बढ्दै गएको हो । खासगरी दक्षिण कोरिया, मलेसिया, कतार, साउदी अरेयिबा, युएई जस्ता देशमा रोजगारीका सिलसिलामा गएका नेपाली युवा स्वदेश फर्केपछि गन्तव्य मूलुकमा सिकेको सीपको उपयोग गर्दै व्यवसायीक पशुपन्छी तथा माछा पालन व्यवसायलाई अंगिकार गर्न थालेका छन् ।
यसबाट नेपाल क्रमशः दूध, खसीको मासु, कुखुराको मासु, माछा जस्ता पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ भने मध्यम स्तरमा व्यवसाय गर्ने नेपालीको आयस्तर पनि बढेको छ । यसले दिइरहेको स्वरोजगारको लाभ पनि नेपालका लागि महत्वपूर्ण छ । त्यसो हुँदा आजको पशुपन्छी तथा माछा पालन व्यवसायलाई अझ नाफामुखी बनाउन भेटेरिनरी शिक्षा लिएका दक्ष चिकित्सक तथा विज्ञ र प्राविधिकहरुको आवश्यकता देखिएको हो । हाल नेपालमा भेटेरिनरी शैक्षिक कार्यक्रमअन्तर्गत बिभिएस्सी कार्यक्रम सञ्चालन गर्ने कलेजहरु छन् । यी कलेजले उत्पादन गर्ने भेटेरिनरी चिकित्सक दक्ष हुनुपर्ने देखिन्छ । दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ ।
भेटेरिनरी शिक्षाको गुणस्तर अनुगनमन गर्ने निकाय नेपाल भेटेरिनरी काउन्सिलले दक्ष जनशक्ति उत्पादन होस् भन्नका लागि बिभिएस्सी कार्यक्रम सञ्चालन गरेका कलेजहरुलाई मापदण्ड पूरा गरेर मात्र विद्यार्थी भर्ना गर्ने आग्रह गरेको छ । हाल नेपालमा बिभिएस्सी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका ४ ओटा कलेज मध्ये पूर्वाञ्चल विश्वविद्यालयका केन्द्रीय क्याम्पस र सम्बन्धनमा सञ्चालिन २ क्याम्पसले मापदण्ड पूरा गरेर विद्यार्थी भर्ना गरेका छन् । तर, कृषि तथा वन विश्व विद्यालयको केन्द्रीय क्याम्पस रामपुर चितवनले भने मापदण्ड पूरा गर्न सकेको छैन । यसले उसको पहिलो वर्षको विद्यार्थी भर्ना कार्यक्रम नै रोकिएको छ । खासगरी एक दक्ष पशु चिकित्सक उत्पादनका गर्नका लागि पर्याप्त मात्रामा प्रयोगात्मक अभ्यासको जरुरी हुन्छ । यसका लागि पुशुपन्छीको फार्म, भेटेरिनरी अस्पताल, ल्याब जस्ता पूर्वाधार पर्याप्त व्यवस्था हुनु अनिवार्य छ । त्यस्तै, अध्यापन गराउने दक्ष शिक्षकको व्यवस्था पनि अनिवार्य छ । यति गर्ने हो भने ४ ओटा क्याम्पसबाट वार्षिक झण्डै २५० जनाको हाराहारीमा दक्ष भेटेरिनरी चिकित्सकहरु उत्पादन हुन सक्ने देखिएको छ । यी जनशक्तिले नेपालको पशुधनको सुरक्षा र सम्बद्र्ध गर्दै आम पुशपन्छी पालक किसान व्यवसायीमार्फत देशकै आर्थिक समृद्धिमा योगदान गर्न सक्छन् ।
देश संघीयतामा गएपछि स्थानीय तह (गाउँपालिका, नगरपालिका)को भौगोलिक आकार ठूलो भएको छ । विगतका एउटा गाउँ विकास समितिभन्दा ठूलो भूगोल अहिलेका वडाहरुको रहेको छ । जनसंख्या र तिनले पालन गरेका पशुपन्छीको संख्या बढी भएको छ । तर, पशुचिकित्सक र प्राविधिकको संख्या बढ्न सकेको छैन । विगतमा ७७ ओटै जिल्लामा रहे को जिल्ला पशु सेवा कार्यालयहरुको संख्या घटाएर ४७ मा सिमित गरिएको छ । त्यसो हुँदा खुम्च्याइएका पशु सेवा कार्यालयहरुको संख्या र सेवा विस्तार गर्न, पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिकहरुको संख्या बढाउनुपर्ने देखिएको छ । पशु प्राविधिकहरु उत्पादनका लागि दिइने तालीम पनि गुणस्तरीय हुनु अनिवार्य छ । व्यावसायिक पशुपन्छीपालनमा पछिल्लो समय युवा शक्तिले ठूलो लगानी गर्दै आएका छन् । उक्त लगानीको प्रतिफल लिन तथा लगानी डुब्न नदिन पशु चिकित्सक तथा पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई दक्ष बनाउनु आवश्यक छ ।