नेल्टाकाे अध्यक्षमा फेरि जनक रावल, दाेस्राे कार्यकाल सम्हाल्दै सर्वसम्मत अध्यक्ष रावल

काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा)को अध्यक्षमा जनकबहादुर रावल चयन भएका छन् । फागुन १५ देखि १७ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा भएको नेल्टाको दोस्रो राष्ट्रिय अधिवेशनले रावलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । नेल्टाको पहिलो अधिवेशनबाट समेत उनी प्रथम ४ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकबहादुर शाही, खुला उपाध्यक्षमा पुष्कर नेपाल ,समावेशी उपाध्यक्षहरु युगल किशोर सिंह, दीपेन्द्र परियार, दिलमाया श्रेष्ठ , राधा भुसाल भण्डारी, छवि भट्टराई, लक्ष्मण घिमिरे चयन भएका छन् । त्यस्तै, महासचिवमा सुरेशकुमार श्रेष्ठ, उप–महासचिव सुमनकुमार चौहान, कोषअध्यक्ष अश्वस्थामा अर्याललगायत ४९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नेपाली काँग्रेस निकट नेल्टाको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनको उद्घाटन सत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेड, महामन्त्री शशांक कोइराला, नेता बद्री पाण्डेलगायतको उपस्थिति थियो ।

२०७१ सालमा स्थापना भएको नेल्टामा हाल ५ हजार क्रियाशील सदस्य र २० हजार साधारण सदस्य छन् । यो ट्रेड युनियन कांग्रेसको २७ औं सदस्य संस्था हो । आम किसानका घरगोठसम्म पुगेर पशुपन्छी तथा माछाको स्वास्थ्य उपचारमा सघाउँदै आएका पशु स्वास्थ्य प्राविधिक तथा विज्ञ नेल्टाको सदस्य छन् । देशका ७७ ओटै जिल्लामा नेल्टाले आफ्ना जिल्ला संगठनहरु विस्तार गरिसकेको छ ।