काठमाडौं । सरकारले धुलो दूध(एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा एक औपचारिक कार्यक्रमबीच यस्तो घोषणा गर्ने तयारी गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
दुई दिनअघि मात्र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रममा पशुपन्छीजन्य केही उत्पादनमा देश आत्मनिर्भर भइसकेको बताउँदै आत्मनिर्भरताको घोषणा गर्ने तयारी गरिएको बताएकी थिइन् ।
मन्त्रालयका पशुपन्छी विकास सचिव डा. पेम नारायण कँडेलका अनुसार हाल नेपालमा ३ हजार मेट्रिक टन धुलो (पाउडर) दूधको आवश्यकता रहेकोमा उत्पादन भने ३ हजार ४ सय मेट्रिक टन पुगेको छ । त्यस्तै, उत्पादन बढी भएकोले १ हजार ६ सय ८० मेट्रिक टन बटर मौज्दात रहेको छ ।
वार्षिक ४ लाख ५० हजार मेट्रिक टन मासु खपत हुने गरेकोमा ४६ प्रतिशत हिस्सा कुखुराको मासुको छ । नेपालमा खास गरी कुखुरा, खसीबोका, बंगुर, राँगाको मासु खपत हुने गरेको छ । खसी बोकामा पनि नेपाल आत्मनिर्भर भइसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, वर्ष १ अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । एक जनाले वार्षिक ४८ ओटा अण्डा सेवन गर्नुपर्नेमा हाल प्रतिव्यक्ति अण्डा खपत ५४ ओटा पुगिसकेको छ । यसलाई प्रतिव्यक्ति १०० ओटा पु¥याउने लक्ष्य पनि मन्त्रालयको छ ।
नेपालमा यी पशुपन्छीजन्य उत्पादन आयात शून्य भइसकेकाले यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयले दूध ढुवानी गर्ने गाडीलाई कुनै पनि बन्द, हड्तालले अवरोध नगरी निर्वाध रुपमा चल्लन सक्ने बताउन संकेत चिन्ह (लोगो) प्रदान गर्ने भएको छ ।