एक महिनाभित्र कुखुराको मासु हाहाकार, पशुपन्छीको औषधी ४ महिनालाई मौज्दात

काठमाडौं । सरकारले ११ चैतदेखि घोषणा गरेको लकडाउनका कारण हाल देशभर चल्लाको उत्पादन ठप्प भएको छ । देशभर रहेका झण्डै एक सय ह्याचरी उद्योगले चल्लाको उत्पादन ठप्प पारेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका किसानले फार्ममा चल्ला हाल्न छोडेपछि हाल देशभरका ह्याचरी उद्योगले चल्ला उत्पादन गर्न छोडेका हुन् ।

‘ह्याचरीले चल्ला उत्पादन बन्द गरेका छन्, किसानले फार्ममा चल्ला हाल्न छाडेका छन्,’ अध्यक्ष विष्टले भने, ‘अब एक महिनापछि कुखुराको मासुको हाहाकार हुन्छ ।’ सरकारले गरेको लकडाउनका कारण देशभरका कुखुरा पालकले कुखुराको उत्पादन छोडेका छन् । तर, हाल फार्ममा भएका कुखुराले अबको करिब एक महिना धान्ने उनले बताए ।

सरकारले पशुपन्छी तथा माछाको दाना, चल्लालगायत पशुपन्छीजन्य उत्पादन ढुवानीमा गरेको कडाई शुक्रबारदेखि केही कम गरेको कारण हाल सहज रुपमा दाना ढुवानी भइरहेको अध्यक्ष विष्टको भनाइ छ । ‘लक डाउनको सुरुका दिनमा गरिएको कडाइका कारण कति कुखरा मारिए, कति डम्प गरिए,’ उनले भने, ‘अब उत्पादन हुने कुखुराको ढुवानी सहज बनाइएको छ ।’

कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि लकडाउन हट्ने बेलामा कुखुराको उत्पादन शून्यबाट नै सुरु गर्नुपर्ने अवस्था आउने बताए ।

‘हाल भारतबाट कुखुरा आउन रोकिएको छ,’ उनले भने, ‘नेपालकै कुखुरा पनि बिक्री भएको अवस्था छैन । यस्तो अवस्थामा नेपालको पोल्ट्री क्षेत्र नै ठप्प बनेको छ ।’ पशुपन्छीजन्य उत्पादन तथा दाना ढुवानीलाई सरकारले सहज बनाउने भनेर जतिसुकै भने पनि लकडाउनअघिको जस्तो सहज रुपमा ढुवानी हुन नसकेको उनले बताए । होटेल, रेष्टुरेन्टलगायत पर्यटन क्षेत्रका सेवा व्यापारहरु नै ठप्प बनेकाले र आम उपभोक्ताले समेत मासु खान कम गरेका कारण हाल कुखुराको मासुको व्यापार निकै खुम्चिएको उनले बताए ।

औषधी भने ४ महिनालाई मौज्दात

यसैबीच पशुपन्छीको औषधी भने झण्डै ४ महिनाका लागि मौज्दात रहेको नेपाल पशुपन्छी औषधी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष भूपेन्द्र गौतमले पशुपन्छीको औषधी मौज्दात रहेका बताएका हुन् ।

‘यतिबेला पशुपन्छीलाई दाना खुवाउन, तयारी कुखुरा, अण्डा, दूध बिक्री गर्न, पशुपन्छीलाई उपचार गर्न समस्या छ,’ उनले भने, ‘पशुपन्छीको औषधी भने ३/४ महिनाको मौज्दात छ तर सवारी साधन नचल्दा ढुवानीमा समस्या परेको छ । पासको ब्यवस्था कसरी मिलाउन सकिन्छ र ढुवानी सुविधा सरल गर्नुपर्यो ।’