दाना नपाएर मर्दै ४ करोड ६५ लाख कुखुरा, मन्त्रालय भन्छ– पशुपन्छी क्षेत्रका अत्यावश्यक सेवा सुचारू राख्नुस्

काठमाडाैं । सरकारले मंगलबारदेखि सुरु गरेको लकडाउनका कारण दाना अभाव भएपछि नेपालका ४ करोड ६५ लाख कुखुरा मर्ने अवस्था आउन लागेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । सरकारले कुखुराको दानालाई पशुपन्छीजन्य अत्यावश्यक वस्तुको सूचिमा राखेको भए पनि स्थानीय प्रशासन तथा प्रहरीले दाना ढुवानीमै रोक लगाएको उनीहरुले बताएका छन् । दानाकै ढुवानी रोकिएपछि कुखुरा मर्ने अवस्था आउन लागेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले बताए ।

‘लकडाउनको नामा कुखुराको अत्यावश्यक दाना, औषधि ढुवानी नै रोक्ने हो भने व्यवसायिक रुपमा पालिएका सबै कुखुरा मर्ने अवस्था आउँछ,’ उनले भने, ‘पोल्ट्रि व्यवसायीले कुखुरा गाड्ने अवस्था आउने र गाड्न नसके कुखुरा सडेर त्यसको दुगन्र्धले हैजाको महामारी निम्त्याउन सक्छ ।’ उनका अनुसार हाल नेपालमा ३ करोड ५० लाख लाख ब्रोइलर कुखुरा, ८० लाख लेयर्स, ३५ लाख प्यारेन्ट कुखुरा छन् ।

सरकारले कृषि तथा पशुपन्छीजन्य अत्यावश्यक वस्तु तथा सेवा सञ्चालनमा रोक नलगाएको सरकारले बताइरहेको भए पनि स्थानीय प्रशासनले चल्नै दिएको छैन । ‘सरकारका मन्त्री, विभागका महानिर्देशकलगायत पदाधिकारीसँग हामीले यस विषयमा पटक पटक कुरा गरेका छौं, उहाँहरुले पशुपन्छीका अत्यावश्यक वस्तु तथा सेवामा रोक नलगाइएको बताउँदै आउनु भएको छ,’ उनले भने, ‘तर जिल्ला प्रशासन कार्यालय र प्रहरीले केही चल्नै दिएको छैन, चितवनमा भने हामीले प्रशासनसँग समन्वय गरेर अत्यावश्यक सेवा चितवन जिल्लाभरी चलाएको छौं ।’

अध्यक्ष पोखरेलका अनुसार कुखुराको दाना उत्पादन गर्ने अधिकांश उद्योग चितवनमा छन, तर दानाको ढुवानी गरेर काठमाडौंलगायत देशका अन्य भूभागसम्म पु¥याएर कुखुरालाई खुवाउनु पर्ने हुन्छ । यसले कुखुरा मात्रै नभई दाना उद्योग समेत धराशयी हुने उनले बताए ।

‘पोल्ट्री क्षेत्रमा एक सयभन्दा बढी दाना उद्योग, ३ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी, १० हजारभन्दा बढी व्यवसायी छन्,’ उनले भने, ‘यी सबै धराशयी हुन्छन् । लक डाउन भारतमा पनि तर पोल्ट्रीजन्य उत्पादन किनेर खाना तथा दानालगायत पदार्थमा रोक लगाएको छैन । सरकारका निकायहरुले के बुझ्नु प¥यो भने लक डाउन भनेको कर्फ्यु होइन । भिड गर्न नदिने हो ।’

पोल्ट्री क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशतको योगदान दिइरहेकोले यसलाई बचाउन लाग्नु पर्ने बताएका छन् ।

‘विश्व स्वाथ्य संगठनले कुखुरालगायत पशुपन्छीको मासु तथा अण्डा राम्रोसँग पकाएर खानुपर्छ भनेको छ,’ उनले भने, ‘कोरोना भाइरससँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मासु तथा अण्डा खानुपर्ने छ । तर, यसलाई नेपालमा गलत परिकाले प्रचार गरिएको छ ।’

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छीका अत्यावश्यक वस्तु तथा सेवा सूचारु राख्न मातहतका निकाय तथा सरोकारवाला सबैलाई निर्देशन दिएको छ । तरकारी, दूध, माछामासु, अण्डा, पशुपन्छीको आहारालगायत वस्तु तथा सेवा सुचारु राख्न आग्रह गरेको हो ।

हेर्नुहाेस् सूचना