बीच बाटो मरेका भैंसी किन भित्रिन्छन् काठमाडौं ? तीन वटा मृत भैंसी नागढुंगामा बरामद

काठमाडौं । देशका विभिन्न ठाउँबाट पैठारी गरिएका पशु बीच बाटोमै मरे पनि उतै व्यवस्थापन नगरी काठमाडौंसम्म ल्याउने गरेको पाइएको छ । यसले पैठारीका क्रममा मरेका पशु कतै उपभोक्तालाई मासुका रूपमा बिक्री गर्ने गरिएको त छैन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

कैलाली र नवलपरासीबाट पैठारी गरिएका भैंसी बीच बाटोमै मरे पनि तिनलाई उतै व्यवस्थापन नगरी काठमाडौं ल्याइएको हो । जेठ महिनामा मात्रै पशु क्वारेन्टाइन कार्यालयले मासुका लागि ल्याइएका तीन वटा भैंसी मृत अवस्थामा बरामद गरी डिस्पोज गरेको छ ।

रामग्राम ८ नवलपरासीबाट यही जेठ १ गते सानु मिटसप, काठमाडौंले १६ थारो भैंसी र ६ पाडो तथा जेठ १० गते कृष्ण शाही खड्गी राँगो पसल, काठमाडौंले कैलालीको अत्तरियाबाट २० भैंसी ल्याएको थियो । यीमध्ये जेठ १ गते नवलपरासीबाट ल्याइएका २ भैंसी र कैलालीबाट ल्याइएका १ भैंसी बीच बाटोमै मरेका थिए । तर पैठारीकर्ताले तिनलाई उतै व्यवस्थापन नगरी काठमाडौंसम्म ल्याइएको पाइएको छ ।

आन्तरिक पशु क्वारेन्टाइन चेकपोस्ट, नागढुंगाले चेकजाँचका क्रममा कैलालीबाट जेठ २ गते काठमाडौं ल्याइएका २२ भैंसी र पाडामध्ये २ भैंसी र कैलालीबाट जेठ १२ गते ल्याइएका २० भैंसीमध्ये १ भैंसी मरेको अवस्थामा बरामद गरिएको जनाएको छ । बरामद गरिएका तीन वटै भैंसी कार्यालयले खाल्डो खनेर पुरेको सो कार्यालयका प्रमुख जनक रावलले जानकारी दिए ।

 

त्यसो त, यी दुवै स्थानबाट भैंसी पैठारीअघि पशु स्वस्थ रहेको व्यहोराको प्रमाणपत्र चिकित्सकले जारी गरेका थिए । देशको कुनै एक भागबाट अर्को स्थानमा पशु लैजानु परेमा स्वस्थ भए नभएको उल्लेख गरी पशु चिकित्सकबाट प्रमाणपत्र जारी गराएर मात्र ढुवानी गर्नुपर्ने व्यवस्था छ ।

नवलपरासीबाट पठाइएका पशुको भेटेरिनरी प्रमाणपत्रमा भैरहवामा क्रियाशील वरिष्ठ पशु चिकित्सक डा. भक्त निउरेको हस्ताक्षर छ भने कैलालीबाट जारी प्रमाणपत्रमा डा. हेमराज अवस्थीले सही गरेका छन् । दुवै प्रमाणपत्रमा ढुवानी गर्न लागिएको पशुमा कुनै स्वास्थ्य समस्या नरहेको उल्लेख छ ।

पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंका प्रमुख डा. मोदनाथ गौतमले रामनगर क्वारेन्टाइनमा जीवित रहेका भैंसीमध्ये जेठ २ गते २ र १२ गते १ भैंसी मृत भेटिएको जानकारी दिए ।

नवलपरासी र कैलालीबाट ल्याइएका भैंसी बीच बाटोमै मरे पनि उतै व्यवस्थापन नगरी काठमाडौं ल्याइनुले ती कतै क्वारेन्टाइनको आँखा छलेर बिक्री गर्ने उद्देश्यका साथ ल्याइएको त थिएन भन्ने प्रश्न उब्जिएको छ ।

तर पशु क्वारेन्टाइन कार्यालय भने हरेक पशुपन्छीलाई चेकजाँच गरेर मात्रै काठमाडौंमा प्रवेश दिइने भएकाले मरेका पशु मासुका रूपमा बिक्री हुने सम्भावना नै नरहेको बताउँछ । स्थान अभावले बीच बाटोमा व्यवस्थापन गर्न समस्या भएकाले त्यसलाई काठमाडौंसम्म ल्याइएको कार्यालयको जिकिर छ ।

‘नाक ढुंगामा हाम्रो चौबीसै घण्टा ड्युटी हुन्छ । हामी चेकजाँच नगरी पशु जान दिँदैनौं,’ पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंका प्रमुख डा. गौतमले भने, ‘त्यसैले मरेका पशु मासुका रूपमा बिक्री हुने सम्भावना छैन ।