पशु र मानव स्वास्थ्य एउटै हो भन्ने कुरा बुझाउन सकेनौं : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले कृषि र पशुपन्छी अन्तरसम्बन्धित रहेकाले यसलाई जोड्न एउटा अभियान नै सञ्चालन गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अधिवेशन तथा वार्षिक साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै मन्त्री भुसालले कृषि र पशुपन्छीलाई एकसाथ जोडेर अघि बढे मात्र फाइदा लिन सकिने बताए ।
‘राष्ट्रिय अर्थतन्त्रलाई उकास्ने कृषिकै माध्यमबाट हो । अन्नको मात्र नभएर यसले अन्य क्षेत्रको आयातलाई पनि प्रतिस्थापन गर्न सक्छ भन्ने कुरा हामी सबैले भनिरहेका छौं । तर कृषि गर्न पशुपालन पनि आवश्यक छ, गर्नुपर्छ भनिरहेका छैनौं,’ मन्त्री भुसालले अगाडि भने, ‘खासगरी पशु सेवाको क्षेत्रमा लाग्नुभएका पशु चिकित्सक, पशु प्राविधिकहरूले यसलाई अभियानकै रूपमा अगाडि बढाउनु पर्छ भन्ने कुरा अनुरोध गर्न चाहन्छु ।’ जसले जुन क्षेत्रमा काम गरेको छ, उसले त्यसको कुरा सशक्त रूपमा उठाउन सक्ने भएकाले पशुपन्छी र कृषिलाई जोड्न पशु चिकित्सक र प्राविधिकको भूमिका अहं रहने मन्त्री भुसालको भनाइ छ । यद्यपि, यो पशु चिकित्सकको मात्र नभएर अरूको पनि काम भएको उनले बताए ।
जोत्नका लागि गोरु पाल्न जरुरी नभए पनि दूध, मासु, मल वा अन्य सेवाका लागि पशुपालन अपरिहार्य भएको मन्त्री भुसालले उल्लेख गरे । ‘यहाँहरूलाई थाहा नै छ कि कृषि मन्त्री भेट्यो कि मल कहिले आउँछ भन्ने अवस्था अहिले छ । सदियौंदेखि पशुबाट मल उत्पादन गरेर खेती चलाएका थियौं । अहिले पशुपालनको कमीले मलको संकट चुलिएको छ । त्यसैले यसलाई हामीले पुनस्र्थापना गर्न जरुरी छ,’ उनले भने ।
मानव स्वास्थ्य र पशु स्वास्थ्यको महत्त्व बरोबर हुने भए पनि यसलाई समेत बुझाउन नसकिएको मन्त्री भुसालले औंल्याए । रोगी पशुपन्छीबाट उत्पादित दूध, घिउ, मासुलगायतको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले जागरणतर्फ उनले जोड दिए । यो महत्त्वको विषयलाई उजागर गर्नुपर्नेमा सरकार र पशुपन्छी चिकित्सक दुवै चुकेको उनको भनाइ छ ।
‘पशु हामी मानवको जीवनमा अति निकट भएर जोडिएका छन् । पशुबाट उत्पादन भएका मासु, दूधलगायत खाएर हामी बाँच्छौं,’ उनले अगाडि थपे, ‘रोगी पशुको दूध, घिउ, मासु खायौं भने हामी के हुन्छौं ? हामीले बुझाउन सकेका छौंजस्तो मलाई लाग्दैन । अन्यथा नलिनुहोला, यहाँहरूले पनि बुझाउन सक्नुभएको छैन ।
पशु र मानव स्वास्थ्यको महत्त्व बरोबर छ भनेर बुझाउन सकेको अवस्थामा मान्छेको अस्पताल भए ठाउँमा पशुको पनि अस्पताल खोल्नुपर्छ भनेर अभियान चलाउन सकिने उनले बताए ।
त्यसअघि एनभिए महासचिवले पशु प्राविधिकलाई व्यवस्थित गर्न विधेयकअघि बढाइँदा पशु चिकित्सकलाई पन्छाइएको गुनासो गरेका थिए । मन्त्री भुसालले यसको जवाफ केही कडा शब्दमा दिए ।
‘सबै पक्षलाई बोलाएर उक्त विधेयकमाथि छलफल गराउने व्यक्ति मै हुँ । विधेयक पारित हुँदा तपाईंहरूका कुरा पनि सम्बोधन भएका छन् । तर यस संगठनका महासचिवले संसदले हामीलाई बोलाएन भन्नुभयो । त्यो सकारात्मक कुरा किन देख्नुहुन्न, खालि नकारात्मक मात्र किन देख्नुहुन्छ ?,’ मन्त्री भुसालले प्रश्न गरे ।
हाम्रोमा नकारात्मक कामको मात्र बढी चर्चा हुने गरेको उल्लेख गर्दै उनले सकारात्मक कामको पनि चर्चा गर्न सुझाव दिए ।
‘कुनै एउटा संस्थाले गरेको काम अर्कोले देख्दैन भने त्यसले गरेको काम अरुले देख्नुपर्छ भन्ने के जरुरी छ ?,’ भुसालले अगाडि भने, ‘जहाँ सकारात्मक पक्ष छ, त्यसको चर्चा गरौं । जहाँ नकारात्मक पक्ष छ त्यहाँ त्यसको पनि चर्चा गरौं । सकारात्मक, नकारात्मक दुवै पक्ष हुन्छ भन्ने कुरा आगामी दिनमा नबिर्सौं । ’
मन्त्री भुसालले आवश्यकता र औचित्यका आधारमा अप्ठ्यारो पारेका ऐन, कानून परिवर्तन गर्न सकिने पनि प्रष्ट पारे । कामभन्दा कुरा धेरै गर्ने परिपाटीले समस्या आएकाले कुराभन्दा काम धेरै गर्न उनको सुझाव छ ।
मन्त्री भुसालले यसअघि गरेका कामको समीक्षा गर्दै आगामी दिनको योजना बनाउन एनभिएलाई सुझाव पनि दिएका छन् । ‘विगतको कामको समीक्षा गर्नुस् र नयाँ कामका योजना बनाउनुस् । राम्रा प्रस्ताव पारित गर्नुस् । कार्यान्वयन हुने खालका उपयुक्त सुझाव सरकारलाई पनि दिनुहोस्,’ उनले भने ।
एनभिएलाई यहाँसम्म ल्याउन भूमिका खेल्नेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले प्रगतिको कामना गरे ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, एनभिएका पूर्वपदाधिकारी र वर्तमान पदाधिकारीलगायतले पनि आफ्ना भनाइ राखेका थिए ।
शनिबारसम्म चल्ने अधिवेशनले संगठनको आगामी नेतृत्वका लागि अध्यक्ष, पदाधिकारी र सदस्यको चयन गर्नेछ । एउटा पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचनमार्फत छनोट गर्ने तयारी गरिएको एनभिएले जनाएको छ ।
एनभिएका अध्यक्ष शीतलकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव दीपकप्रसाद खरालले पशुपन्छीसँग सम्बन्धित मुद्दामा एनभिएसँग सहकार्य गर्न मन्त्रालय सधैं तत्पर रहेको र एनभिए पनि हातमा हात मिलाएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
यसक्रममा उनले भर्खरै बनेको प्राविधिकहरूको ऐनको नियमावली निर्माण गर्दा पनि एनभिएसँग सहकार्य गरेको स्मरण गरे । कार्यक्रमका एक वक्ताको प्रश्नको जवाफ दिँदै उनले बर्डफ्लू भ्याक्सिनसम्बन्धमा निर्णय लिन विज्ञ समिति गठन गरिएको र त्यसको रायबमोजिम निर्णय हुने प्रष्ट पारे ।
पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले बर्डफ्लू भ्याक्सिनको वैधानिक आयातको व्यवस्था गर्न माग गरे ।
त्यस्तै वन तथा कृषि विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयको लाइन मिनिस्टर शिक्षा मन्त्रालय नभएर कृषि मन्त्रालय हुनुपर्ने बताए ।