अनि झारे वेदुरामले भेटेरिनरी डाक्टरको झाँको

काठमाडौं । मञ्च पाउनेबित्तिकै सत्य, तथ्य हेक्का नराखी भँडास पोख्ने हाम्रो प्रचलन छ । यस्तै शैली अपनाएर भाषणका क्रममा नकारात्मक कुरा प्रसार गर्दा एक पशुपन्छी चिकित्सकले कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालको खप्की खानुपरेको छ ।
पशुपन्छी चिकित्सकको छाता संगठनको साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा गलत कुरा उल्लेख गरेर आक्षेप लगाउने प्रयास गर्दा नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए)का महासचिव डा.अषेश भट्टराई मन्त्रीको निशानामा परेका हुन् ।
आफ्नो संगठनको दुई वर्षे कार्यकालको काम प्रस्तुत गर्दै भट्टराईले पशुपन्छी प्राविधिकहरूको ऐन निर्माणका क्रममा एनभिएलाई बेवास्ता गरिएको टिप्पणी गरेका थिए ।
‘पशु प्राविधिकको ऐन निर्माण गर्दा धेरै विषय मिलेका थिएनन् । तर हामीलाई बेवास्ता गरियो । छलफलमा सम्म बोलाइएन,’ मन्त्री उपस्थित कार्यक्रममा भट्टराईले गुनासो गरेका थिए ।
भट्टराईपछि बोलेका मन्त्री भुसालले आफैंले राष्ट्रियसभामा पशु चिकित्सकलाई बोलाएर छलफल गरे पनि झुटो कुरा गरेको भन्दै भट्टराईको झाँको झारे ।
प्रतिनिधिसभाबाट पारित भएर सो ऐन राष्ट्रियसभामा गएपछि भुसालले आफू सभापति रहेको समितिमा सरोकारवाला र विज्ञलाई बोलाएर त्यसबारे छलफल गरेका थिए । जसक्रममा पशु चिकित्सकका कतिपय चासो सम्बोधन गरेर छलफलमा लगी पारित गरिएको थियो ।
‘सबै पक्षलाई बोलाएर उक्त विधेयकमाथि छलफल गराउने व्यक्ति मै हुँ । विधेयक पारित हुँदा तपाईंहरूका कुरा पनि सम्बोधन भएका छन् । तर यस संगठनका महासचिवले संसदले हामीलाई बोलाएन भन्नुभयो । त्यो सकारात्मक कुरा किन देख्नुहुन्न, खालि नकारात्मक मात्र किन देख्नुहुन्छ ?,’ मन्त्री भुसालले असन्तुष्टि व्यक्त गर्दै महासचिव भट्टराईलाई प्रश्न गरे ।
मन्त्रीले तथ्यसहित प्रश्न गरेपछि भट्टराईले अप्ठ्यारो महसुस गरेका थिए ।
हाम्रोमा नकारात्मक कामको मात्र बढी चर्चा हुने गरेको उल्लेख गर्दै उनले सकारात्मक कामको पनि चर्चा गर्न सुझाव दिए ।
‘कुनै एउटा संस्थाले गरेको काम अर्कोले देख्दैन भने त्यसले गरेको काम अरुले देख्नुपर्छ भन्ने के जरुरी छ ?,’ भुसालले अगाडि भने, ‘जहाँ सकारात्मक पक्ष छ, त्यसको चर्चा गरौं । जहाँ नकारात्मक पक्ष छ त्यहाँ त्यसको पनि चर्चा गरौं । सकारात्मक, नकारात्मक दुवै पक्ष हुन्छ भन्ने कुरा आगामी दिनमा नबिर्सौं । ’