सुध्रिएन फिड सप्लिमेन्टको गुणस्तर ,प्रतिष्ठित कम्पनीकै उत्पादन गुणस्तरहीन

राजन प्रसाई
चालु आर्थिक वर्ष ०७९/८० मा फिड सप्लिमेन्टको बजार बजार अनुगमनमा निस्किएको पशु सेवा विभागले भारतीय कम्पनी प्रोभिमी एनिमल न्युट्रेसन इण्डिया प्रालिको ओ–प्रो लिक्विड नामक फिड सप्लिमेन्टमा शंका लागेपछि प्रयोगशालामा परीक्षण ग¥यो । नभन्दै ब्याच नं. ००००–१२११६६ को यो उत्पादनमा मिथोनयनको मात्रा कम रहेको पुष्टि भयो । मिथोनयन एक प्रकारको एमिनो एसिड हो ।
यही कम्पनीको अन्य दुई फिड सप्लिमेन्ट E Carese र  Kaysol Forte को गुणस्तरमा पनि शंका उब्जिएपछि उसैगरी विभागले आफ्नो प्रयोगशालामा परीक्षण गरेको थियो ।
जसमध्ये दुवै परीक्षणमा फेल भएका छन् । विभागका अनुसार, पहिलोमा भिटामिन ‘ई’ र दोस्रोमा भिटामिन ‘के’को मात्रा दाबी गरिएभन्दा कम छ ।
यो कम्पनीले लामो समयदेखि आफ्ना उत्पादन नेपालमा बिक्री गर्दै आइरहेको छ । यसको नेपालको आधारिक बिक्रेता रूपन्देहीमा दर्ता रहेको नेपाल अन्नपूर्ण इन्टरनेशनल हो ।
अन्नपूर्णले भारतबाट आयात गरेर नेपाली बजारमा बिक्री वितरण गरिरहेको एउटै कम्पनीका तीन उत्पादन गुणस्तरहीन भेटिएपछि पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले एक पत्र लेख्दै तत्काल बिक्री वितरण रोकेर बजारबाट फिर्ता गर्न तथा त्यसको मौज्दात विवरण ७ दिनभित्र विभागमा उपलब्ध गराउन भनेको छ ।
अन्नपूर्णका सञ्चालक राजकुमार पराजुलीले आफूले आयात गरेको तीन फिड सप्लिमेन्टमा तोकिएको तत्व नरहेको जानकारी प्राप्त भएपछि बजारबाट फिर्ता गर्ने प्रक्रिया थालिएको बताए ।
चार महिनापछि फिर्ता गर्न भनिएकाले अधिकांश बिक्री भइसकेको उनको भनाइ छ । अर्को मुलुकबाट आयात गरिएका वस्तुको गुणस्तरसँग सम्बन्धित विषय आयातकर्तासँग रिलेटेड नहुने भएकाले सम्बन्धित कम्पनीलाई यसबारे अवगत गराइसकेको उनले जानकारी दिए ।
आफूले आयात गरेको कम्पनी निकै व्यावसायिक भएको तर्क गर्दै उनले घुमाउरो भाषामा ल्याब परीक्षणका कारण गलत नतिजा आएको हुनसक्ने आशंका गरे ।
‘यो कम्पनीको गुणस्तरप्रति विश्वस्त भएकाले नै आयात गरेको हुँ,’ उनले भने, ‘प्रयोगशाला परीक्षणको प्रक्रियामा फरक परेकाले यस्तो भएको हुनसक्छ ।’ परीक्षण रिपोर्टमा जस्तै यसका उत्पादनमा खराबी भेटिए आफूले आयात नगर्ने प्रतिबद्धता पनि उनले जनाए ।
‘यदि ल्याब रिपोर्टमा दाबी गरिएजस्तै यो कम्पनीका उत्पादन गुणस्तरहीन हुन् भने म आयात नै गर्दिनँ,’ उनले भने । नेपाली बजारमा पछिल्लो समय बिक्री वितरण भइरहेका फिड सप्लिमेन्ट भिटामिनको गुणस्तर अवस्था कस्तो छ भनेर चियाउने आँखीझ्याल मात्र हुन्, माथिका तीन उत्पादन ।
यस्ता वस्तु निश्चित वैज्ञानिक मापदण्ड पूरा गरेर उत्पादन हुनुपर्नेमा राज्यको कमजोर नीति, नियम र उपस्थितिको फाइदा उठाउँदै मनपरि बजारमा बिक्री वितरण भइरहेका छन् । पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डे नेपालभित्रै उत्पादन भएका तथा बाहिरबाट आयात गरिएका फिड सप्लिमेन्ट गुणस्तरहीन भेटिएको बताउँछिन् ।
पशु सेवा विभागका अनुसार, चालु आर्थिक वर्षमा पशुपन्छीमा प्रयोग हुने विभिन्न कम्पनीका १४ फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएका छन् । वैज्ञानिक परीक्षणमा यी उत्पादन गुणस्तरहीन प्रमाणित भएसँगै विभागले पत्र लेखेर बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता ल्याउन तथा सोको जानकारी आफूलाई दिन विभागले निर्देशन दिएको छ ।
यी फिड सप्लिमेन्ट जुन गुणस्तरहीन छन्
पशुपन्छीको फिड सप्लिमेन्टको गुणस्तर परीक्षण गर्ने कार्यादेश पशु सेवा विभागले पाएको छ । विभागले चालु आर्थिक वर्षको विभिन्न मितिमा बजारको अनुगमन गरेको थियो । त्यसक्रममा शंका लागेका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका फिड सप्लिमेन्टको गुणस्तर आफूमातहतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा परीक्षण गरिएकोमा १४ को गुणस्तर फेल भएको हो ।
गुणस्तर फेल हुनेहरूमा प्रोभिमी एनिमल न्यूट्रेसनको ब्याच नं. ००००–१२११६६ रहेको o-pro min Liquid, SFEG-22146 रहेको E Carese र ०००००–६९८९१ ब्याचको Kaysol Forte छन् ।
त्यसैगरी, मुम्बईको न्युट्रिभेट फार्म केयर प्रालिको ब्याच नं. HNF-77 को Hymilkar Forte र ब्याच नं. 8w-022 को Vita-O-Vita मा पनि हुनुपर्ने तत्व नरहेको पाइएको छ । विभागका अनुसार, यी दुवैमा भिटामिनमा ‘ए’ को मात्रा दाबी गरिएभन्दा कम पाइएको छ ।
अमरनाथ भारतको पाई भेटेरिनरी प्रोडक्ट प्रालिको ब्याच नं. PMF-21099 को Merical मा चाहिँ भिटामिन ‘डी’ को मात्रा नपुगेको प्रमाणित भएको छ ।
बसिल रेमिडिज, इण्डियाको ब्याच नं. एमआर–१३ OPrPn, एसभी/०४/२१ र १४५४ को क्रमशः मस्ती रक, म्याक्सी ग्रो पनि गुणस्तरमा फेल भएका छन् । यी दुवै भिटामिनमा ‘डी’को मात्रा तोकिएभन्दा कम छ ।
भारतको मुम्बईमा कार्यालय रहेको भिरब्याक एनिमल हेल्थ प्रालिको क्रमशः Vimeral Ostovet  इकतयखभत मा पनि तोकिएभन्दा कम तत्व पाइएको विभागको रिपोर्टमा उल्लेख गरिएको छ ।
विभागका अनुसार NSC156 र NCA216 ब्याचका यी उत्पादनमा भिटामिन ‘डी’को मात्रा तोकिएबराबर छैन । यद्यपि, भिरब्याकका नेपाली आधिकारिक बिक्रेता दीपांकर भेट फर्माका सञ्चालक डा. हर्षरत्न शाक्यले म्याद गुज्रिएको आफ्नो उत्पादन परीक्षण गरेर रिपोर्ट सार्वजनिक गरिएको दाबी गरे ।

उता, कान्तिपुर फर्मास्युटिकल्स प्रालि, काभ्रे, एडभान्स एक्वा बायोटेक्नालोजिज प्रालि इण्डिया र केभिन्जो फर्मास्युटिकल्स प्रालि कोची इण्डियाको फिड सप्लिमेन्टमा पनि कैफियत भेटिएको छ । यी कम्पनीका ब्याच नं. Sh0301, 26 र P-1191 नम्बरका क्रमशः भिटामिन, स्पिड केयर फिस र प्रोमिल्क गुणस्तरहीन पुष्टि भएका हुन् । विभागका अनुसार, यी तीन वटै उत्पादनमा भिटामिन ‘डी’को मात्रा तोकिएभन्दा कम छ ।
भारतीय कम्पनीको नेपाल डम्पिङ साइट
नेपालमा बिक्री हुने पशुपन्छीजन्य औषधि तथा फिड सप्लिमेन्टमा भारतीय कम्पनीको हिस्सा उल्लेख्य छ । विभिन्न भारतीय कम्पनीले नेपाली बजारलाई नै लक्ष्य गरेर उत्पादन गर्ने गरेका छन् । खेदको कुरा के छ भने, नेपाली बजारमा प्रवेश पाएका भारतीय कम्पनीमध्ये अधिकांशले आफ्नो विश्वसनीयता गुमाउँदै गएका छन् ।
उनीहरूले नेपाललाई डम्पिङ साइटकै रूपमा प्रयोग गरेर गुणस्तरहीन औषधि पठाउने गरेका छन् । जानकारहरू नेपाली बजारमा भारतबाट गुणस्तरहीन पशुपन्छी औषधि तथा फिड सप्लिमेन्ट भित्राउन एउटा गिरोह नै सक्रिय रहेको दाबी गर्छन् । यो दाबी निकै सत्य नजिक छ किनभने, पशु सेवा विभागको अनुगमनका क्रममा गुणस्तरहीन प्रमाणित भएका १४ उत्पादनमध्ये एउटा मात्रै स्वदेशी छ । जसमा केही कम्पनीका त तीन–तीन वटा उत्पादन नै गुणस्तरहीन छन् ।
विभागका अनुसार, भारतीय कम्पनीमध्ये प्रोभिमीको तीन, न्युट्रिभेटको दुई, पाई भेटेरिनरीको एक, बसिलको तीन, भिरब्याकको दुई र एड्भान्स अक्वा तथा केभिन्जोको समान १/१उत्पादनले मापदण्ड पालना गरेका छैनन् ।
यसो त, भारतीय कम्पनीको यो पुरानै हेपाहा प्रवृत्ति हो । गत वर्ष पनि भारतीय कम्पनीका केही उत्पादनको गुणस्तरबारे उजुरी परेको थियो । गुनासोपछि सरकारी प्रयोगशालामा गरिएको वैज्ञानिक परीक्षणमा भारतको अल्जेन लाइभ साइन्स प्रालिकोे ब्याच नं.GVGA ०२ मा आईयूको मात्रा शून्य प्रमाणित भएको थियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पशुपन्छीको भिटामिनमा कम्तीमा एक लाख आईयू हुनुपर्छ । तर प्रयोगशाला परीक्षणका क्रममा ९११ आइयू अर्थात शून्य दशमलब नौ प्रतिशत मात्र पाइएको थियो ।
अल्जेजनले ५ मिलिलिटर परिमाणको भिटामिनलाई १ लाख आईयू दाबी गरेर नेपाली किसानलाई बिक्री गरेको लामो समयपछि यो प्रकरण सतहमा आएको थियो ।
स्वदेशी कम्पनी भने तुलनात्मक रूपमा राम्रा देखिएका छन् । विभागका अनुसार, १४ थरीका उत्पादन गुणस्तरहीन हुँदा नेपाली एउटा मात्रै परेको छ । काभ्रेस्थित कान्तिपुर फर्मास्युटिकल्स प्रालिको उत्पादन फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएको हो । यसमा भिटामिन ‘डी’को मात्रा तोकिएभन्दा कम पाइएको छ ।

यी हुन् गुणस्तरहीन प्रमाणित कम्पनीका नेपाल आयातकर्ता
गत वर्ष अल्जेनले उत्पादन गरेको गुणस्तरहीन भिटामिन बिक्री गर्ने नेपाली आधारिक व्यक्तिबारे खोजी गर्दै जाँदा पशुपन्छी चिकित्सक डा.सविन श्रेष्ठ संलग्न रहेको पाईएको थियो ।
नेपाली किसानलाई नोक्सानीमा पारेर भारतको कम्पनीका औषधि आयात गरी नेपालमा बिक्री गर्ने नेपाली नै पाइएका छन् । तर आयातकर्ताहरू यसमा आफूहरू दोष नरहेको सुनाउँछ । कम्पनीले उत्पादन गरेर प्रचलित कानूनअनुसार नेपालमा पठाउने भएकाले यसमा आफूहरूलाई मुछ्न न्यायोचित नहुने उनीहरूको तर्क छ ।
विभागले प्रयोगशालामा गरेको परीक्षणका क्रममा गुणस्तरहीन प्रमाणित भएका भिटामिनमध्ये प्रोभिमीको आधिकारिक बिक्रेता नेपाल अन्नपूर्ण इन्टरनेशनल हो । यसका सञ्चालक राजकुमार पराजुली हुन् । आफूले आयात गरेको कम्पनीको गुणस्तर फेल भएको रिपोर्ट सरकारी निकायले दिए पनि उनी यसलाई स्वीकार्ने पक्षमा छैनन् । आफूले आयात गर्ने कम्पनी गुणस्तरमा सम्झौता गर्ने किसिमको नभएकाले ल्याब परीक्षणमा नै समस्या हुनसक्ने उनले जिकिर गरे ।
न्युट्रिभेटको नेपाली आयातकर्ता खनाल भेट सेन्टरका सञ्चालक अर्जुन खनाल विभागको ल्याब रिपोर्टबारे जानकारी पाएपछि आफू गम्भीर बनेको सुनाउँछ । आयातकर्ताको तर्फबाट यसमा जिम्मेवारी लिँदै सम्बन्धित कम्पनीलाई सूचित गरिसकेको उनले जानकारी दिए ।
‘ल्याबको रिपोर्टबारे जानकारी प्राप्त भयो । यसको जिम्मा म लिन्छु । साथै कम्पनीलाई पनि यसबारे जानकारी गराएको छु,’ उनले भने ।
कोभिन्जो कम्पनीको नेपाली आधिकारिक बिक्रेता बादल भेट डिस्ट्रिब्युटर्सका रत्नकुमार बडालले रिपोर्टबारे जानकारी पाए पनि परीक्षणको विधि र प्रक्रियाबारे बुझ्न बाँकी रहेको बताए । कम्पनीको परीक्षणपछि विभागले आयात गर्न अनुमति दिएको उत्पादनमा अहिले समस्या औंल्याइँदिा विश्वस्त हुन नसकेको उनको भनाइ छ । त्यस्तै आफूले आयात गरेको कम्पनी सामाजिक सेवामा दखल राख्ने किसिमको भएकाले गुणस्तरमा सम्झौता नगर्ने दाबी गरे ।
‘गुणस्तरीय उत्पादन खरिद गर्न पाउनु किसानको अधिकार हो । त्यसलाई सुनिश्चित गर्नुपर्छ । तर भारतीय कम्पनीको प्रयोगशाला रिपोर्टपछि पशु सेवा विभागले उत्पादनको अनुमति दिएकोमा अहिले कसरी गुणस्तर फेल भयो भन्ने प्रश्न उब्जिएको छ । यसले परीक्षणको विधि र प्रक्रिया के हो भनेर बुझ्नुपर्ने भएको छ,’ उनले भने ।
व्यवसायीलाई बदनाम बनाउने खेल भइरहेको उल्लेख गर्दै उनले विज्ञको सल्लाहमा किसानको अधिकतम हितमा कसरी कामगर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने आवश्यकता औंल्याए । अहिले माइक्रोबायोलोजी टेस्ट मात्र गरिएकाले भन्सार नाकामै फिड सप्लिमेन्टको कन्टेन्ट नै परीक्षण गर्नेतिर लाग्नु उपयुक्त हुने उनको मत छ ।
पाईको कम्पनीको नेपाली आयातकर्ता भाजुरत्न फर्मा प्रालिले पनि ल्याबको रिपोर्टमा आशंका गरेको छ । गुणस्तर प्रमाणित गरेर ल्याइएको उत्पादनको अहिले रिपोर्ट गुणस्तरहीन आउनुको कारण भण्डारणलगायत हुनसक्ने सोका सञ्चालक शेखर श्रेष्ठले दाबी गरे ।
श्रेष्ठले पाईका नेपाली आधिकारिक प्रतिनिधि रमेश खड्कासँग थप बुझ्न सुझाएका थिए । तर भेट टाइम्सले पटक पटक सम्पर्कको प्रयास गर्दा उनी उपलब्ध भएनन् ।
स्वदेशी कम्पनी कान्तिपुर फर्मास्युटिकल्सका सञ्चालक हेमराज बडाल (ऋषि) ले आफ्नो उत्पादनको गुणस्तरमा देखिएको समस्याबारे विभागले जानकारी गराएको बताए । उनले भने, ‘विभागको पत्र पाएका छौं । यसमा हामीलाई शंका छ, त्यसैले आफ्नोतर्फबाट परीक्षण गर्ने सोच बनाएका छौं । त्यसबाट प्राप्त नतिजा जानकारी गराउने नै छौं ।’
गुणस्तरको विषयमा आफूले सदा खबरदारी गर्दै आइरहेको स्मरण गराउँदै उनले यसमा बदमासी गर्नेमाथि कडा कदम चाल्न आवश्यक रहेको बताए । ‘म आफैं परौं वा अर्को, गल्ती गर्नेलाई उन्मुक्ति नदिई कानूनअनुसार सजाय दिनुपर्छ,’ उनले भने ।
कान्तिपुर भेट डिष्ट्रब्युटर्सका सञ्चालकसमेत रहेका बडाल नेपाली पशुपन्छी औषधि एवं फिड सप्लिमेन्ट बजारको ठूलो हिस्सा ओगट्न सफल व्यवसायी हुन् ।
एड्भान्स एक्वाको भाग्यमानी भेट फर्मा र भिरब्याकको दीपांकर भेट फर्मा आधिकारिक बिक्रेता हुन् । बिक्री वितरणमा अन्य वितरकले सहयोग पु¥याए पनि नेपालमा भित्राउने काम उनीहरूले गरिरहेका छन् ।
त्यस्तै, भेट टाइम्सले हिमांशु भेट र भाग्यमती भेटका सञ्चालकसँग पनि उनीहरूको उत्पादनमा देखिएको कैफियतबारे प्रतिक्रिया लिने प्रयास गरेको थियो । तर उनीहरू कोही पनि सम्पर्कमा जोडिएनन् ।
मल्टिनेशनल पनि उही ड्याङका
यसअघिका परीक्षणमा बहुराष्ट्रिय कम्पनीका पशुपन्छी औषधि र फिड सप्लिमेन्टमा कमै प्रश्न उठ्ने गरेका थिए । यही कारण यी कम्पनीको नाम भजाएर गिरोहहरूले उस्तै नाम राखी नक्कली उत्पादन नेपाली बजारमा पठाएका थिए ।
तर विस्तारै बहुराष्ट्रिय कम्पनीका उत्पादनमा पनि भारतको हावा लाग्न थालेजस्तो देखिएको छ ।
भिरब्याकको उत्पादनमा कहिल्यै अहिलेसम्म खोट पाइएको जानकारी आएको थिएन । तर यस वर्ष यी कम्पनीका दुई–दुई उत्पादन गुणस्तरहीन पाइएको पशु सेवा विभागले जनाएको छ ।
विभागका अनुसार भिरब्याकको भिमेरल र ओसटोभेटमा तोकिएभन्दा कम भिटामिन ‘डी’ पाइएको छ । जानकारहरू बहुराष्ट्रिय कम्पनीमा नै समस्या देखिएकाले कसको विश्वास गर्ने भन्ने अन्योलता सिर्जना हुन पुगेको बताउँछन् ।
भिरब्याकको आधिकारिक नेपाली बिक्रेता दीपांकर भेट फर्माका सञ्चालक डा. हर्षरत्न शाक्य म्याद गुज्रिएको स्पाम्पल टेस्ट गरिएका कारण रिपोर्ट यस्तो आएको बताउँछन् । उनका अनुसार, कैफियत औंल्याइएका भिरब्याकका दुई भिटामिन सन् २०२१ मा बनेका हुन् र तिनको म्याद डेढ वर्ष मात्र हो । तर त्यसलाई सन् २०२३ मा आएर परीक्षण गर्दै रिपोर्ट सार्वजनिक गरिएको डा. शाक्य बताउँछन् । उनले भिरब्याक क्लालिटीमा सचेत रहेको समेत दाबी गरे ।
सन् २०२१ को स्याम्पल म्याद गुज्रिसकेपछि सन् २०२३ मा टेस्ट गरिएकाले रिपोर्ट यस्तो आएको हो । यसबारे मैले विभागलाई जानकारी गराइसकेको छु, ’ उनले भने ।
यो प्रकरणले नेपाली प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ ।
तर पशु सेवा विभागकी महानिर्देशक पाण्डे अलग–अलग प्रयोगशालामा गरिएको परीक्षणको नतिजा सार्वजनिक गरिएकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछिन् ।
‘विभागले त्यति कच्चा काम गर्दैन । सरकारद्धारा मान्यता प्राप्त अन्य प्रयोगशालामा समेत परीक्षण गर्दा पनि एउटै रिपोर्ट आएपछि सार्वजनिक गरेका हौं । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन,’ महानिर्देशक पाण्डेले भनिन् ।
समस्या पुरानै
फिड सप्लिमेन्टमा गुणस्तरको समस्या लामो समयदेखि विद्यमान छ । यो समस्यालाई किसानलगायत सरोकारवालाले पटक पटक उठाउँदै आएका छन् ।
कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेल फिड सप्लिमेन्टमा देखिएको समस्या सरकारी निकायलाई सुनाउँदा सुनाउँदै थासिकेको सुनाउँछन् । प्रत्यक्ष रूपमा किसान मारमा परेको यो समस्याको समाधानका लागि सरकार र राज्यका निकाय जिम्मेवारपूर्वक प्रस्तुत हुनुपर्ने भए पनि उदासीन देखिएका छन् ।
कारबाही गर्नुपर्ने निकाय कानमा तेल हालेर बस्दा यस्ता गतिविधि गर्नेका लागि अनुकूल परिस्थिति सिर्जना हुँदै गएको छ ।
पशु सेवा विभागकी महानिर्देशक पाण्डे ‘पशुपन्छी औषधि र फिड सप्लिमेन्टको गुणस्तरमा समस्या रहेको बताउँछिन् । उनका अनुसार विगत वर्षदेखि नै विभिन्न कम्पनीका पशुपन्छी औषधि र फिड सप्लिमेन्टमा गुणस्तर समस्या देखिएको छ ।
समस्या विद्यमान रहे पनि हल हुन नसक्ने खालका भने नरहेको उनको भनाइ छ । ‘पशुपन्छी औषधि र फिड सप्लिमेन्टको समस्या लामो समयदेखि विद्यमान छ’ महानिर्देशक पाण्डे भन्छिन्, ‘राज्यका निकाय गम्भीरतापूर्वक लागेको खण्डमा यो समस्या अन्त्य गर्न सकिन्छ ।’
उनका अनुसार, यो समस्या बल्झिनुका अनेकन कारण छन् । त्यसमध्ये एउटाचाहिँ विद्यमान कानूनी व्यवस्थाको चुक भएको उनको बुझाइ छ । पाण्डे नेपालमा अनधिकृत कार्य गर्नेमाथि कारबाही गर्ने कानून नै फितलो रहेको बताउँछिन् । त्यही फितलो अधिकार पनि उपयुक्त ढंगले प्रत्यायोजन नगरिएको उनको बुझाइ छ ।
पाण्डे आफैं नेतृत्वको विभागले यस्तो समस्या झेलिरहेको बताउँछिन् । उनका अनुसार, पशु सेवा विभागलाई बजार अनुगमन गर्ने अधिकार दिइएको छ तर कारबाही गर्नेचाहिँ छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई यो अधिकार प्रत्यायोजन गरिँदा विभाग कतिपयमाथि कारबाही गर्नुपर्ने आवश्यकता बोध गर्दागर्दै पनि निरीह भएर बस्नुपर्ने अवस्था रहेको बताउँछिन् ।
‘कतिपयलाई कारबाही गर्नुपर्छ भन्ने बोध हुन्छ । तर हामीसँग कानून फितलो छ । यसले अनधिकृत कार्य गर्नेको अगाडि हामी निरीह बन्छौं,’ उनले भनिन् ।
पण्डेका अनुसार, भन्सारको कमजोरीले पनि समस्यामा बढावा दिएको सुनाउँछिन् । उनका अनुसार, भन्सारसँगको मिलेमतोमा उनी नेतृत्वको विभागले एउटा उत्पादन ल्याउन अनुमति दिएकोमा अर्को उत्पादन भित्रिने समस्या पनि यदाकदा देखिने गरेको छ ।
छैन नियमन
बजारलाई स्वस्थ, स्वच्छ र अनुशासनमा बाध्ने सबैभन्दा उपयुक्त विधि हो, नियमन । नियामक निकायले आफ्नो काम राम्रोसँग सम्पादन गरेर अनुशासहीन गतिविधि गर्नेमाथि कारबाहीको अस्त्र चलाएको अवस्थामा बजारको वेथिति धेरै हदसम्म कम गर्न सकिन्छ ।
तर पशुपन्छीमा प्रयोग हुने औषधि र फिड सप्लिमेन्टको नियमन करिब शून्यप्रायः छ । कहिलेकाहीँ बजार अनुगमन त हुन्छ तर नाम मात्रको । किनभने, त्यसक्रममा कमजोरी भेट्दा भेट्दै पनि कारबाही गरिँदैन ।
पशु सेवा विभागकी महानिर्देशक पाण्डे पनि यो अवस्था विद्यमान रहेको स्वीकार गर्छिन् । तर यो नियतका कारणले भन्दा पनि बाध्यताले सिर्जिएको उनको दाबी छ । पाण्डेका अनुसार, बजार अनुगमन गर्ने अधिकार विभागलाई भए पनि कारबाही गर्ने चाहिँ छैन । यो अधिकार विभागलाई प्रत्यायोजन नभए पनि सरोकारका विषयमा पत्र लेखेर अनुरोध गर्ने गरेको उनले सुनाइन् ।
अधिकारका सम्बन्धमा तालमेल नमिलेको सन्दर्भमा आफूले तालुक मन्त्रालयमा पटक पटक कुरा राखेको पनि उनले जानकारी दिइन् । ‘कतिपय अधिकार हामीलाई आवश्यक छ, तर अर्कैले प्रयोग गरिरहेको छ,’ उनले भनिन्, ‘यो अप्ठ्यारोबारे केही समयअघि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवज्यूसमक्ष कुरा राखेको छु ।’
गल्ती गर्नेलाई उल्टै पुरस्कार
सबैभन्दा ठूलो समस्याचाहिँ दण्डहीनताले सिर्जना गरेको छ । पशुपन्छी औषधि तथा फिड सप्लिमेन्ट उद्योग, आयातकर्ता तथा वितरकको कतिपय अनधिकृत कार्यले ठूलो नोक्सानी परिरहेको हुन्छ । तर कारबाही हुँदैन । भइहालेको खण्डमा पनि गल्तीको तुलनामा न्यून छ ।
उदाहरणका लागि गुणस्तरहीन फिड सप्लिमेन्टलाई लिऔं । यदि गुणस्तर नभएको फिड सप्लिमेन्ट कसैले पशुपन्छीलाई खुवायो भने त्यसले उसको रकम त बालुवामा पानी हुन्छ नै स्वाभाविक रूपमा उत्पादनमा समेत ह्रास आउँछ । यो सामान्य अवस्था होइन । कसैको गल्तीले एकसाथ लाखौं मानिस प्रभावित भएर व्यक्ति तथा राज्यलाई करोडौं, अर्बौंको नोक्सानीमा पु¥याएको हुनसक्छ । तर त्यस्तामाथि अक्सर कारबाही नै हुँदैन भइहालेमा पनि तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु भनेझैं हुन्छ ।
केही भारतीय कम्पनीको उत्पादन गुणस्तरहीन भएपछि बिक्री वितरणमा रोक लगाएर फिर्ता गराइएको थियो । दुर्भाग्य, एक पटक गम्भीर गल्ती गरिसकेका तिनै कम्पनीका उत्पादनलाई फेरि नेपालमा अनुमति प्रदान गरिएको छ । विभागकी महानिर्देशक पाण्डे एउटा ब्याचको उत्पादनमा समस्या हुँदैमा अर्को गुणस्तरीय भएको खण्डमा बिक्री वितरणमा अवरोध गर्न प्रचलित कानूनले नदिने जानकारहरू गल्तीको सजाय कडा गर्ने अवस्था नबनेसम्म परिस्थिति नसङ्लिने सुनाउँछन् । पाण्डे स्वयं पनि यस्ता बदमासी गर्ने फिड सप्लिमेन्ट उद्योगलाई अर्को पटक प्रवेश नै नदिने किसिमको कानून आवश्यक रहेको बताउँछिन् ।