राजन प्रसाई
काठमाडौं । कोरोना महामारी सुरु हुनुपूर्व नेपालमा ह्यारी उद्योग निकै फस्टाएका थिए । वैधानिक ढंगले दर्ता भएर सञ्चालित ह्याचरी उद्योगको संख्या ३४० हाराहारी हुनुले पनि यो उद्योगको अवस्था सुदृढ रहेको बुझ्न सकिन्छ । तर विश्व्यापी कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित मन्दीले यो क्षेत्र बेस्सरी प्रभावित हुन पुगेको छ । करोडौं लगानीका दर्जनौं पोल्ट्री उद्योग विकसित परिस्थिति सामना गर्न नसकेर बन्द भएका छन् ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेल केही वर्षअघिसम्म ह्याचरी उद्योगले राम्रो फड्को मारे पनि कोरोनाकालपछि दुर्दिन सुरु भएको सुनाउँछन् । पौडेलका अनुसार, ०७६ चैतअगाडि देशभर ३४० ह्याचरी उद्योग वैधानिक ढंगले सञ्चालनमा रहेकोमा अहिले २०० उद्योग पनि पूर्ण रूपमा सञ्चालनमा छैनन् ।
‘नेपालमा दर्ता भएर सञ्चालन हुने ह्याचरी उद्योगको संख्या अहिले करिब ३४० हाराहारी छ । संघमा प्राप्त तथ्यांकअनुसार, यसमध्ये २०० उद्योग पनि अहिले पूर्ण सञ्चालनमा छैनन्,’ ह्याचरी उद्योगको पछिल्लो अवस्थाबारे खुलाउँदै पौडेलले भेट टाइम्स मासिकसँग भने ।
सञ्चालनमा रहेका ह्याचरी उद्योगले समेत खराब स्थितिका कारण ठूलो मात्रामा उत्पादन कटौती गरेका छन् । पौडेल नेपालको ह्याचरी उद्योगको इतिहासमै यो पहिलो मन्दी भएको दाबी गर्छन् ।
‘नेपालको ह्याचरी उद्योगको इतिहासमै यो पहिलो मन्दी हो । यसअघि यो क्षेत्रका व्यवसायीले यस्तो खराब अवस्था कहिल्यै सामना गरेका थिएनन्,’ पौडेलले भने ।
कोभिड–१९ महामारीपछि उत्पादन लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्नुपर्ने परिस्थिति उत्पन्न भएकाले ह्याचरी उद्योग संकटग्रस्त अवस्थामा पुगेको पौडेलको बुझाइ छ । पौडेलका अनुसार, प्रति गोटा चल्ला उत्पादन गर्न ५५ देखि ६५ रूपैयाँसम्म लगानी लाग्छ । तर कोभिड–१९ महामारी प्रकोपयता लागत मूल्यभन्दा निकै कम प्रतिगोटा १५ देखि २० रूपैयाँसम्ममा चल्ला बिक्री गर्नुपरेको तीतो अनुभव पौडेलको छ ।
दुर्भाग्य त अझै यो छ कि लागतको २३ प्रतिशत मूल्यमा चल्ला उपलब्ध गराउँदासमेत बिक्री भएन । पौडेल लागतभन्दा निकै कम रकममा चल्ला बिक्री गर्दा पनि नबिकेर डम्पिङ गर्नु परेको सुनाउँछन् । ‘एकातिर लागत मूल्यभन्दा निकै कममा चल्ला बिक्री गर्नुपर्ने र कम मूल्य लगाउँदा पनि किसानले नकिनेर डम्पिङ गर्नु परेपछि हाम्रो पुँजीले भ्याएन,’ पौडेलले ह्याचरीको ओरालो यात्राको गुह्य खोले ।
पौडेल कोरोनाकालपछि किसानले कुखुरापालन कम गर्नु, भारतसँगको खुला सीमाको फाइदा उठाउँदै चल्ला तथा कुखुरा तस्करी हुनुलाई यो दुर्दशाको मूल कारण ठान्छन् ।
कोभिडपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ऋणमा केही राहत दिए पनि अहिले हटेको तथा ऋणसमेत दिन छाडिएकाले व्यवसाय धराशयी हुने अवस्था सिर्जना भएको पौडेलले गुनासो गरे ।
पोल्ट्री उद्योगका चार मुख्य खम्बा हुन्, कुखुरापालक किसान, चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग, दाना उद्योग र पशुपन्छी औषधि उद्योग । ‘ढुंगाको भर माटो, मोटोको भर ढुंगा’ भनेजस्तै यी एक अर्कासँग परनिर्भर हुन्छन् । पोल्ट्रीमा बजार तथा उपभोक्ताको भूमिका पनि उत्तिकै अहं रहन्छ । यी अंगहरूमध्ये कुनै एकमा समस्या आउँदा अर्थात् खलबलिँदा सिंगो पोल्ट्री उद्योग नै धर्मराउँछ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धपछि सिर्जित परिस्थितिले ह्याचरी उद्योगजस्तै पोल्ट्रीका अन्य हाँगाबिँगा पनि समस्याग्रस्त बन्न पुगेका छन् । डुब्न लागेका पोल्ट्री क्षेत्रका किसान र व्यवसायीले हात दिएर गुहार मागे पनि राज्य र सरकार भने कानमा तेल हालेर अनदेखा गरिबसेका छन् । नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्र कोरोना भाइरस महामारी र रुस–युक्रेन युद्धको बाछिटाले वर्षौं लगाएर आत्मनिर्भर बनाइएको अर्बौं लगानीको पोल्ट्री उद्योग अत्यन्त नाजुक अवस्थाबाट गुज्रिएको बताउँछन् । उनका अनुसार, यो क्षेत्रमा आबद्ध ८० प्रतिशत किसान तथा व्यवसायीको लगानी खराब अवस्थाका कारण डुबेको छ ।
‘पोल्ट्री करिब १५० अर्बको उद्योग हो । कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर बनेको, जिडिपीमा राम्रो योगदान दिएको, लाखौंलाई रोजगारी दिएको पोल्ट्री उद्योग आबद्ध ८० प्रतिशत किसान तथा व्यवसायीको लगानी डुबेको छ,’ मिश्रले भेट टाइम्स मासिकसँग भने ।
पोल्ट्री उद्यमी बलराम सञ्जेल पनि समग्र पोल्ट्री उद्योगमा समस्या उत्पन्न भएको सुनाउँछन् । दानाको कच्चा पदार्थबाहेकमा आत्मनिर्भर उद्योगमा देखिएका समस्या सम्बोधन गर्न सकिने खालका भए पनि ध्यान नपुगेको उनको बुझाइ छ । देशको अर्थतन्त्र, रोजगारीलगायतमा उल्लेख्य योगदान पु¥याउँदै आएको उद्योगले विभिन्नखाले समस्या सामना गरेकाले यसमा सरकार गम्भीर हुनुपर्ने अन्यथा खराब परिस्थिति निम्तिने उनले बताए ।
हजारौं कुखुरापालक किसान पलायन
कोरियाबाट फर्किएपछि नुवाकोटका प्रेम लामिछानेले आफ्नै देशमा केही गर्ने सोच बनाए । त्यही सोचको उपज थियो, उनले थालेको व्यावसायिक कुखुरापालन । देशमै केही गर्ने सोचसहित अडिएका उनले ब्रोइलर कुखुरापालनका लागि झण्डै ५० लाख ल
गानी गरेका थिए । तर पहिलो गाँसमा नै ढुंगा भनेजस्तो बर्डफ्लू महामारीले सबै कुखुरा सखाप भए ।
‘उत्पादन दिन लागेका कुखुरामा बर्डफ्लू संक्रमण देखिएपछि मारेर सबै खाल्डोमा हाल्नुप¥यो,’ उनले निन्याउरो मुख लगाउँदै भने ।
पहिलो पटक भएको यो क्षतिले धक्का लागे पनि हरेस नै भने उनले खाएका थिएनन् । विश्वास र साहस बटुलेर फेरि खोरमा अर्को लट हुले । तर नतिजा फेरि निराशाजनक नै आयो, बिक्री गर्दा लगानी पनि उठेन ।
‘देशमै केही गरौं भन्ने चाहनाले कुखुरापालन व्यवसाय थालेको थिएँ । तर सोचेजस्तो भएन । अब फेरि विदेश जाने सोचमा छु,’ लामिछानेले निराश हुँदै भेट टाइम्स प्रतिनिधिसँग भने ।
लामिछाने त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । बर्डफ्लूलगायत महामारी, चर्को लागत मूल्य, उत्पादनको बजार, बिचौलियाको बिगबिगीलगायत समस्याले कुखुरापालन व्यवसायमा आबद्ध हजारौं किसान पेशाबाट पलायन एवं विस्थापित हुन पुगेको पोल्ट्री महासंघका महासचिव मिश्र बताउँछन् । कुखुरापालनका लागि आवश्यक ज्ञानको अभाव, देखासिकी, दानाको गुणस्तरलगायत समस्या पनि यो संकटमा उत्तिकै जिम्मेवार रहेको जानकारहरूको तर्क छ । पोल्ट्रीमा जोडिएका किसान निक्कै ठूलो संकटमा छन् । यसप्रतिको आकर्षण घट्दो छ । मारमा परेका किसानलाई माथि उठाउने कार्यक्रम भने केही छैन । लागतभन्दा उत्पादनको मूल्य कम भएपछि नोक्सानी बेहोर्न सक्ने अवस्थामा किसान छैनन् । उनीहरू पलायन एवं विस्थापित हुँदै छन् ।
बैंकको लगानी ठप्प छ । कुखुरामा लाग्ने रोग, दानाको मूल्यवृद्धि, धेरै लागत, बैंकको ब्याज र उत्पादनको न्यून मूल्यले किसान अत्तालिएका छन् । दानाको मूल्य ह्वात्तै बढेको छ । सरकारले उत्पादनको उचित मूल्य निर्धारण गरेको छैन । ्कुखुरापालनबाट भइरहेको यो पलायनले एकातिर रोजगारी गुमिरहेको छ भने पोल्ट्रीजन्य पदार्थमा देशले हासिल गरेको आत्मनिर्भरता खतरामा पर्ने संकेत देखिएको छ । मिश्र यही अवस्था विद्यमान रहे पोल्ट्री क्षेत्रको आत्मनिर्भरता कायम नरहने सुनाउँछन् ।
‘पोल्ट्री क्षेत्रमा भएका अर्बौं लगानी डुबिरहेका छन् । हजारौंको रोजगारी खोसिरहेको छ । यो अवस्थालाई सुधार गर्नेतिर नसोच्ने हो भने वर्षौं लगाएर हासिल भएको आत्मनिर्भरता कायम नरहन सक्छ,’ मिश्रले भेट टाइम्ससँग भने ।
बर्डफ्लु समस्या टाउको दुखाइको विषय बनेपछि सरकारले ‘बर्ड फ्लु रोग नियन्त्रण आदेश–२०६४’ जारी गरेको थियो । ऐनमा संक्रमण पुष्टि भएका पन्छी नष्ट गर्ने र त्यसो गर्दा किसानमाथि पर्ने आर्थिक भार पर्न नदिन ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने प्रावधान छ ।
पशुसेवा विभागले संकलन गरेको तथ्यांकअनुसार, ०७८ माघपछि फैलिएको बर्डफ्लूका कारण देशभरका २९९ किसानले फार्ममा पालेका कुखुरा तथा पन्छी नष्ट गरिएको छ । ‘बर्ड फ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने मापदण्ड, २०७८’ अनुसार यो अवधिमा नष्ट गरिएका पन्छीपालक किसानलाई दिनुपर्ने क्षतिपूर्ति रकम करिब ५८ करोड छ । बर्डफ्लूको सबैभन्दा ठूलो मारमा बागमती प्रदेशका किसान परेका छन् । यो प्रदेशका किसानले मात्रै ५१ करोड ९४ लाख ८२ हजार ९७९ रूपैयाँ राहत पाउनुपर्नेछ । प्रदेश १ मा ५८ लाख ५ हजार ३०८ रुपैयाँ, मधेश प्रदेशमा २ लाख ४४ हजार १४७ रुपैयाँ, गण्डकी प्रदेशमा १ लाख ३७ हजार १४१ रुपैयाँ र कर्णाली प्रदेशमा ६ लाख ९१ हजार ९६५ रुपैयाँ राहत दिनुपर्नेछ । तर अहिलेसम्म बर्डफ्लू प्रभावित किसानले राहत पाएका छैनन् ।
सरकारी अधिकारीहरू राहत दिने विषयमा द्विविधा नरहे पनि कानूनी अड्चनले समस्या पारेको बताउँन् । कृषि तथा पशुपन्छी मन्त्रालयका अधिकारीहरूका अनुसार, साविकको बर्डफ्लू रोग नियन्त्रण आदेश, २०६४ प्रतिस्थापन गरेर बर्डफ्लू नियन्त्रण निमयावली, २०७८ निर्माण भएपछि क्षतिपूर्तिबारे कानूनी अन्योलता सिर्जना भएका छन् । यही कारण किसानलाई दिन ठिक्क पारिएको ६० करोड रकम वितरण हुन सकेको छैन ।
मुर्झायो दाना उद्योग पनि
पोल्ट्री क्षेत्रमा आएको मन्दीको मारमा दाना उद्योगसमेत परेका छन् । सिर्जित परिस्थित सामना गर्न नसकेर केही दाना उद्योग बन्द हुन पुगेका छन् । कोभिड–१९ महामारीपूर्व नेपालमा ११८ दाना उद्योग सञ्चालनमा थिए । तर अहिले यसमध्ये १०० मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका दाना उद्योगले पनि क्षमता अनुसार उत्पादन गर्न पाएका छैनन् । पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्र दाना उद्योगले ठूलो मात्रामा उत्पादन कटौती गरेको बताउँछन् ।
त्यसो त, पोल्ट्रीको यो दुर्दशामा दाना कतिपय दाना उद्योगको भूमिकासमेत नकारात्मक रहेको जानकारहरू बताउँछन् । उनीहरूको तर्क मान्ने हो भने कतिपय दाना उद्योगले उत्पादन गरेको दूषित दानाले कुखुरा व्यवसायमा नकारात्मक असर परिरहेको छ ।
हुन पनि, दानाको गुणस्तरमा गम्भीर समस्या देखिएका छन् । नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरी स्वयंले भेट टाइम्सको गतांकमा दानाको गुणस्तरमा समस्या रहेको स्वीकारेका छन् । उनका अनुसार, नेपालमा सञ्चालित १०० उद्योगमध्ये ७०–८० उद्योग मापदण्ड पालना नगरेपछि कारबाहीमा परेका छन् । तर पुरी दाना उद्योगको कारणले नभएर कच्चा पदार्थका कारण आएको दाबी गर्छन् । दानाको गुणस्तर परीक्षण नतिजामा दूषित देखाइनु सामान्य भएको तर्क पनि पुरीको छ ।
पोल्ट्री क्षेत्रमा परेको मन्दीको प्रभाव पशुपन्छी औषधि व्यवसाय पनि परेको छ । पशुपन्छी औषधि व्यवसायीका अनुसार, विगत केही वर्षदेखि पशुपन्छीको औषधिको खपत निरन्तर घटेको छ ।
पोल्ट्री संकटको कारण र उपचार
पोल्ट्री व्यवसायमा अहिले देखिएको समस्याको कारण एउटा मात्र नभएर विविध रहेको जानकारहरू बताउँछन् । उनीहरूको भनाइमा राज्यले चाहेको खण्डमा पोल्ट्रीको विद्यमान समस्या समाधान गर्न कठिन छैन ।
पोल्ट्री महासंघका महासचिव मिश्र कोरोना भाइरस महामारी, रुस–युक्रेन युद्ध, बिचौलियाको बिगबिगी, पोल्ट्रीजन्य पदार्थको तस्करी, कुखुरापालक किसानलाई उचित क्षतिपूर्तिको अभाव, बैंकको ऋण प्रवाह प्रवृत्ति र ब्याजदर पोल्ट्री संकटको अहिलेको मूल कारण रहेको बताउँछन् ।
यी समस्यालाई मिहीन ढंगले अध्ययन गरी राज्य तथा सरोकारवाला निकाय समाधान पहिल्याउन अग्रसर भए पोल्ट्री क्षेत्र पुनः लयमा फर्कंने उनको भनाइ छ । अन्यथा पोल्ट्री उद्योगले अर्थतन्त्र, रोजगारीलगायत क्षेत्रमा पु¥याउँदै आएको योगदान गुम्ने उनी बताउँछन् ।
पोल्ट्री विज्ञ डा. उमेश दाहाल बजारीकरणको पाटोलाई सुधार्नुपर्ने खाँचो औंल्याउँछन् । उनको भनाइमा ठूला कुखुरा बजारीकरण गर्ने प्रचलन हटाएर डेढदेखि दुई किलोसम्मका कुखुरा बिक्री गर्नु उपयुक्त हुन्छ । यसले किसानको उत्पादन वृद्धिदेखि उपभोक्ताको स्वास्थ्यसम्मलाई लाभ पुग्ने उनको भनाइ छ ।
‘अहिले धेरै समय पालेर ठूला कुखुरा बजारमा लैजाने प्रचलन छ,’ उनले भने, ‘बजारीकरणको यो परम्परालाई अब सुधारेर डेढदेखि दुई केजीका कुखुरा बिक्री गर्नुपर्छ । यसले किसानलाई त फाइदा गर्छ नै उपभोक्तालाई समेत लाभ हुन्छ ।’
खुला सीमाको फाइदा उठाउँदै भारततर्फबाट हुने चल्ला तथा कुखुराको तस्करी उत्तिकै टाउको दुखाइ बन्दै गइरहेको छ । महासचिव मिश्र यसका कारण बजारमा प्रतिस्पर्धा गर्न किसानलाई अप्ठ्यारो परेको बताउँछन् । वीरगन्ज पशु क्वारेन्टाइन कार्यालय, पर्साका प्रमुख डा. हरेराम यादव यो समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र गठन गर्नपर्ने आवश्यकता औंल्याउँछन् ।
‘सीमाबाट हुने तस्करी रोक्न हामीसँग अधिकार पनि छैन, जनशक्ति पनि । त्यसैले पशुपन्छीको अवैध आयात रोक्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ,’ उनले भने ।
कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेल दानाका कारण पनि पोल्ट्रीमा समस्या सिर्जना भएको बताउँछन् । उनका अनुसार बी २ लेभलको दानाले धेरै समस्या ल्याएको छ । बी २ लेभलको दाना कुखुराले २८ दिन पार गरेपछि मासुको तौल वृद्धि गर्न खुवाइन्छ । पौडेलका अनुसार यस्ता दानाले कुखुरा मर्नुका साथै मासु उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर गर्छ ।
‘२५ देखि २८ दिन पालेपछि कुखुरालाई बी २ लेभलको दाना खुवाउन थालिन्छ । यो लेबलको दानाले १ दिनमा २ सय ग्राम मासु वृद्धि हुन्छ । यसको अर्थ बी २ दानामा उच्च केमिकल र प्रोटिनको प्रयोग गरिएको हुन्छ । दिनमा २ सय ग्रामको दरले बढ्दा ४०÷४५ दिनभित्रमा थप २ केजी मासु बढाउँछ । कुखुराको आफ्नो क्षमताभन्दा बढी मासु उत्पादन गराउन खुवाइने उक्त दानाले कुखुरालाई कमजोर बनाउँदा यसरी दाना खुवाइएको कुखुरा ४० देखि ४५ दिनपछि मर्न थाल्छन्,’ बी २ दाना प्रयोगको खराब पक्षबारे चर्चा गर्दै पौडेलले भने ।
उनले अगाडि थपे, ‘एन्टिबायोटिक्स औषधिको प्रयोग भएको कुखुराको मासु खाँदा मानव स्वास्थ्यलाई असर गर्छ । मानिसको शरीरमा त्यो एन्टिबायोटिक प्रवेश गर्छ । र, कुनै कारणले बिरामी पर्दा मानिसलाई एन्टिबायोटिक्स औषधि प्रयोग गर्नुपरेको अवस्थामा त्यस्तो औषधिले काम नै नगर्ने अवस्थासमेत आउन सक्छ ।’
Language »