हिकास्टमा विद्यार्थीद्वारा तालाबन्दी

काठमाडौं । हिमालयन कलेज अफ  एग्रिकल्चर साइन्स एन्ड टेक्नाेलाेजी (हिकास्ट)का विद्यार्थीले कलेज प्रशासनमा मंगलबार तालाबन्दी गरेका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि भएको लकडाउन अवधिमा विद्यार्थीले बुझाउनु पर्ने शुल्कमा १० प्रतिशत मात्रै छुट दिने निर्णय कलेज प्रशासनले गरेपछि त्यसविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीले कलेज प्रशासनमा तालाबन्दी गरेका हुन् ।

नेपाल भेटेरिनरी विद्यार्थी संघ हिकास्टको नेतृत्वमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । उनीहरुले शुल्क छुटलगायत माग गर्दै कलेज परिसरमा नाराबाजीसहित प्रदर्शन समेत गरेका छन् ।

उनीहरुले लकडाउन अवधिमा विद्यार्थीको अनलाइन कक्षा समेत सन्तोषजनक रुपमा सञ्चालन नभएको, अन्य शैक्षिक क्रियाकलाप समेत नभएकोले शुल्कमा भारी छुटको माग गरेका थिए ।

‘लकडाउन अवधिको शुल्कमा शतप्रतिशत छुटको माग हामीले गरेका थियौं,’ संघका अध्यक्ष निश्चल घिमिरेले भने, ‘कलेज सञ्चालको खर्च समेत आउने भएकोले शतप्रतिशत नभए पनि हामीसँग वार्ता गरी छुटको उपयुक्त सीमा निर्धारण गर्न सकिने थियो तर प्रशासनले हामीसँग कुनै छलफ नै गरेन ।’ कलेज प्रशानसले भने लकडाउन अवधिको शुल्कमा १० प्रतिशत छुट दिने सूचनासहित विद्यार्थीहरुलाई इमेलमार्फत जानकारी गराएको उनले बताए ।

२१ माघमा बैठक बसी विद्यार्थी संघले लकडाउनले विद्यार्थीको आर्थिक अवस्था कमजोर भएकोले शूल्कमा छुट दिनुपर्ने, शैक्षिक भ्रमण सुचारु गर्नुपर्ने, कलेजका फार्ममा पशुपन्छी तथा बालिनाली लगाइनु पर्ने, रद्ध भएको शैक्षिक भ्रमणको शुल्क फिर्ता गर्नुपर्ने लगायत माग प्रशासन समक्ष राखेको थियो ।