कानून मिचेर लगातार औषधि उत्पादन, नियामक मौन !

काठमाडौं । वरिष्ठ पशु चिकित्सक डा. जीवनलाल अमात्यको औषधि उद्योग सेरिन फर्मास्युटिकल्स प्रालि, थानकोटले उत्पादन गरेको सेरेमोक्स भेट २० प्रतिशत औषधि यतिबेला बजारमा निर्बाध बिक्री–वितरण भइरहेको छ । काठमाडौं उत्पयकाकाका अतिरिक्त बाहिरी जिल्लाका पशुपन्छी औषधि पसलहरूमा सहजै पाइने इकोलालगायत रोगमा प्रयोग हुने यो औषधि पशुलाई लागेका रोग निको हुने विश्वासमा किसानले खरिद गरिरहेका छन् । सेरिनले उत्पादन मिति नोभेम्बर २०२३ र उपभोग्य अन्तिम मिति अक्टोबर २०२५ राखेर उत्पादन गरेको ब्याच नं. २२५२ को यो औषधि मापदण्डअनुरूप छ कि छैन ? यसमा चाहिने आवश्यक तत्व मिसाइएका छन् कि छैनन् ?

औषधि उत्पादन तथा बिक्री–वितरणका लागि अनुमति दिने आधिकारिक सरकारी निकाय नेपाल औषधि व्यवस्था विभाग स्वयं बेखबर छ । बेखबर नहोस् पनि किन ? सेरिनले औषधि उत्पादनका लागि अनिवार्य लिनुपर्ने अनुमति नै विभागसँग लिएको छैन !

सेरिनकै अर्को उत्पादन डब्लुएस ०२७ ब्याच नम्बरको फ्लोरोटिम पनि औषधि व्यवस्था विभागमा दर्ता गरिएको छैन । विभागका सूचना अधिकारी वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीका अनुसार, अनलाइन डिएएमएसको अभिलेखमा यो औषधि उत्पादनका लागि सेरिनलाई अनुमति दिएको देखिँदैन । तर इकोलालगायत रोगहरूमा प्रयोग हुने यो औषधि सेरिनले ३ हजार ७७३ रूपैयाँ अधिकतम खुद्रा मूल्य तोकेर निसंकोच बिक्री–वितरण गरिरहेको छ ।

औषधि ऐन, २०३५ अनुसार स्थापना भएका औषधि उद्योगले हरेक ब्याचका औषधि उत्पादनका लागि अनिवार्य औषधि व्यवस्था विभागबाट अनुज्ञापत्र लिनुपर्छ । ऐनको दफा ८ मा भनिएको छ, ‘…विभागको सिफारिस लिई औषधि उद्योगको स्थापना गरिसकेपछि औषधि उत्पादन गर्नुभन्दा अघि औषधि उत्पादन गर्ने व्यक्तिले तोकिएको दस्तुर तिरी तोकिएबोजिम विभागबाट उत्पादन अनुज्ञापत्र (प्रोडक्ट लाइसेन्स) लिनुपर्नेछ ।’ यसरी अनुज्ञापत्र लिएका उद्योगले प्रत्येक २÷२ वर्षमा प्रमाणपत्र नवीकरण गनुपर्ने व्यवस्था छ । यति मात्र नभएर कुनै औषधिको कच्चा पदार्थ देशबाहिरबाट ल्याउनुपर्ने छ भने उद्योगले त्यसको आयात अनुमतिसमेत विभागबाट लिनुपर्छ । अनुज्ञापत्र लिएर उत्पादित प्रत्येक औषधि बिक्री–वितरणका लागि विभागबाट अनुमति लिनुपर्ने प्रावधान पनि ऐनमा समेटिएको छ । मानव तथा पशुपन्छी औषधिको गुणस्तरीयता तथा स्वच्छताका लागि अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै ऐन निर्माण गरिएको भए पनि अमात्य स्वामित्वको सेरिनले वर्षौंदेखि मौजुदा कानूनलाई नै चुनौती दिँदै सरकारी निकायबाट अनुमति नै नलिई औषधिको अवैध उत्पादन तथा बिक्री–वितरण गरिरहेको छ । माथि उल्लिखित औषधिका अतिरिक्त सेरेप्रीमलगायत पशुपन्छीमा प्रयोग हुने औषधि उत्पादन गरेर सेरिनले बजारमा छ्यापछ्याप्ती उपलब्ध गराएको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसी सेरिन फर्मास्युटिकल्स प्रालिलाई हाल कुनै उत्पादन अनुज्ञापत्र तथा बिक्री–वितरण प्रमाणपत्र प्रदान नगरिएको बताउँछन् ।

‘…विभागको अनलाइन डिएएमएसको अभिलेखअनुसार सेरिन फर्मास्युटिकल्स प्रालिले मिति २०५२÷०६÷०४ मा उद्योग स्थापना सिफारिसपत्र लिएको देखिन्छ । तथापि, उक्त उत्पादकलाई विभागको अभिलेखअनुसार हाल कुनै उत्पादन अनुज्ञापत्र तथा बिक्री–वितरण प्रमाणपत्र प्रदान गरिएको देखिँदैन,’ सेरिनले औषधि उत्पादनको अनुज्ञापत्र लिए÷नलिए सम्बन्धमा सूचनाको हक प्रयोग गर्दै भेट टाइम्स मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाईंले मागेको सूचनाको जवाफ दिँदै सूचना अधिकारी केसीले लेखेका छन् ।

विभागले सेरिनले औषधि उत्पादनको अनुज्ञापत्र नलिएको बताउनु र बजारमा सेरिनका औषधि छ्यापछ्याप्ती देखिनुले उसले अनुमतिबेगर पशुपन्छीका औषधि उत्पादन गरेर अनधिकृत ढंगले बिक्री–वितरण गरेको पुष्टि हुन्छ ।

नियमविपरीत सेरिनले औषधि उत्पादन गरेको भेटिएपछि यही असार २० गते विभागले उक्त उद्योगको अनुगमन तथा निरीक्षण गरेको छ । विभागका सूचना अधिकारी केसीले अनुगमनका क्रममा सेरिनमा कैफियत देखिएको बताएपछि यसबारे विस्तृतमा केही खुलाएनन् । तर त्यसउपर अनुसन्धान भने चलिरहेको बताए ।

‘मिति २०८१÷०३÷२० गते यस विभागको निरीक्षण टोलीद्वारा उक्त कम्पनीमा निरीक्षण, अनुगमन गर्दा कैफियतहरू देखिएका र कैफियतका आधारमा उक्त सेरिन फर्मास्युटिकल्स प्रालि उपर विभागमा थप अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विभागका सूचना अधिकारी केसीले भेट टाइम्स मासिकलाई सेरिनबारे लिखित रूपमा उपलब्ध गराएको पत्रमा भनिएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका महासचिव सादुराम ढकाल (आशिष) प्रचलित कानूनको अधीनमा रहेर सबैले काम गर्नुपर्ने उल्लेख गर्दै त्यसविपरीत कार्य गर्ने व्यक्ति सजायको भागिदार हुने बताउँछन् ।

‘हामी सबैले प्रचलित कानूनबमोजिम कारोबार गर्नुपर्छ । यदि कुनै पशुपन्छी औषधि उद्योगले त्यसविपरीत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ भने त्यो गलत भयो, कानूनबमोजिम त्यस्तामाथि कारबाही हुनुपर्छ,’ भेट टाइम्स मासिकसँग महासचिव ढकालले भने । पशुपन्छी औषधि बजारको गुणस्तरीयता र स्वच्छताका लागि संघले काम गरिरहेको जानकारी दिँदै उनले त्यसमा सबैको साथ खोजे ।

सेरिन फर्मास्युटिकल्स प्रालि, थानकोटका सञ्चालक डा. अमात्यले भने सुरुमा आफ्नो कम्पनीले कुनै पनि औषधि उत्पादन नगरेको बताए । उनको उद्योगसँग सम्बन्धित केही प्रश्नोत्तरपछि उनी आफ्नो कम्पनीले औषधि उत्पादन गरिरहेको स्वीकार गर्न त तयार भए तर बिनादर्ता औषधि उत्पादन गरेर बिक्री–वितरण गरेको आरोप सुन्न भने चाहेनन् । विभागले आफ्नो कम्पनीसँग सम्बन्धित फायल अद्यावधिक नगरी गलत सूचना दिएर भ्रम छरेको उनको भनाइ छ । कानूनको परिपालना गरेर औषधि उत्पादन गरिरहेको जिकिर गर्दै उनले अगाडि थपे, ‘मैले उत्पादन गरेका औषधि दर्ता भएका छन् । तर औषधि व्यवस्था विभागसँग हाम्रो कम्पनीको फायल नै छैन त म के गरौं ?’

आफ्ना कम्पनीमाथि लागेका आरोपबारे प्रतिक्रिया दिन अरुचि देखाएका उनले मुद्दा हालेर देखाइदिने धम्कीसमेत दिए । ‘तपाईंहरूले तीन वर्षअघि नै यो कुरा (बिना दर्ता औषधि उत्पादन गरेको) लेखिसक्नुभएको छ । त्यसैलाई आधार बनाएर फेरि पनि लेख्नुस् । अदालतमा गएर यसको कसरी प्रतिवाद गर्नुपर्छ, म गरौंला ।’

त्यसो त, झुट बोल्ने डा. अमात्यको पुरानै बानी हो । निरन्तर पशुपन्छी औषधिको गैरकानूनी उत्पादन तथा बिक्री वितरण गर्दै आएका उनी त्यस्ता प्रश्नको वस्तुनिष्ठ उत्तर दिनुको साटो झुटको पुलिन्दा बुनेर पानीमाथिको ओभानो बन्छन् र पन्छन्छन् । जसबाट विभागका कर्मचारी नै हैरान छन् । उनी झुटको खेती गर्न कति माहिर छन् भन्ने जान्न तीन वर्षअघिको एउटा घटना नियाल्नु पर्ने हुन्छ । सेरिनले बिनादर्ता औषधि उत्पादन गरेको गुनासोपछि विभागका कर्मचारीले उनलाई यसम्बन्धमा सोधपुछका लागि बोलाएका थिए । उनी ढिलो गरी विभागमा हाजिर त भए तर अनुमति लिएरै उत्पादन गरेको जिरह कस्दै हाकाहाकी जिम्मेवार अधिकारीकै सामुन्ने ढाँटे । नानीदेखि लागेको यो रोग उनमा आजपर्यन्त देखिन्छ ।

कानूनभन्दा माथि, लिँदैनन् अनुज्ञापत्र
सेरिन फर्मास्युटिकल्स प्रालिले ०५२ साल असोज ४ गते औषधि उद्योग स्थापनाको सिफारिस पत्र लिएको देखिन्छ । डा. अमात्यले स्वदेशभित्र पशुपन्छी औषधि उद्योग स्थापना गरेको आगामी असोज ४ गते २९ वर्ष पुग्दैछ । बितेका तीन दशकमा अमात्य पशु चिकित्सकका रूपमा स्थापित भए भने उनको उद्योगले बेहिसाब औषधि उत्पादन ग¥यो । स्वयं अमात्यले आफ्नो फायल विभागले हराइदिएको जिकिर गर्नुले पनि उनको कम्पनीले विगतदेखि नै औषधि उत्पादन गर्दै आइरहेको पुष्टि हुन्छ ।

एक पशुपन्छी औषधि उद्योगका सञ्चालक अमात्यले औषधि उत्पादन गरेर तरक्की गरेकै देखेर आफू यो क्षेत्रप्रति आकर्षित भएको बताउँछन् । यतिका प्रतिष्ठित चिकित्सक भए पनि डा. अमात्यले विगतदेखि नै अनुज्ञापत्र नलिई औषधि उत्पादन गरेर अनधिकृत कारोबार गर्दै आइरहेका छन् । विभागका एक अधिकारी डा. अमात्यको कम्पनीको उत्पादनमाथि प्रश्न गर्दै उजुरी पर्नु सामान्यजस्तै भएको बताउँछन् ।
‘औषधि ऐनविपरीत औषधि उत्पादन गरेको भनेर उहाँको उद्योगविरुद्ध विगत वर्षदेखि नै उजुरी पर्ने गरेका छन्,’ ती अधिकारीले भने, ‘बरोबार उजुरी परिरहने भएकाले हाम्रा लागि यो नयाँ कुरा होइन ।’
निरन्तर बदमासी, नियामकको मौनता सन्देहात्मक
दर्ताबेगर औषधि उत्पादन गर्ने उद्योगमाथि कडाभन्दा कडा कारबाहीको व्यवस्था औषधि ऐन, २०३५ मा गरिएको छ । विभागको रेकर्डले नै अमात्यले बदमासी गरेको पुष्टि भएकाले कारबाही गर्न सकिने अवस्था हिजो थियो, आज पनि छ । तर पछिल्लो पटक विभागले देखाएको अग्रसरता छाड्ने हो भने उसले सेरिनप्रति अतिशय सहानुभूति देखाएको पाइन्छ ।

एक पशुपन्छी औषधि उद्योगका सञ्चालक निरन्तर दर्ताबेगर अमात्यको उद्योगले औषधि उत्पादन गर्नुको कारण निरन्तर बदमासी गर्दा पनि उन्मुक्ति पाउनु हो । ‘जति बदमासी गरे पनि अमात्यमाथि कारबाही भएको छैन,’ ती औषधि उद्योगी भन्छन्, ‘उनको मनोबल बढ्नुको कारण यही हो ।’

अमात्यको उद्योगमाथि निरन्तर प्रश्न उठ्दासमेत विभागले केही नगर्नुले त्यसको नेतृत्वमाथिसमेत शंकाको सुइँ सोझिएको ती उद्योगी बताउँछन् । ‘एउटा औषधि उद्योगीले कानूनलाई चुनौती दिँदै औषधि उत्पादन गरेको प्रमाण छरप्रष्ट हुँदा पनि किन कारबाही हुँदैन,’ उनले भने, ‘जवाफ प्रष्ट छ, मिलेमतो ।’ अमात्यको कम्पनीबाट अनधिकृत औषधि उत्पादन हुनुको पछाडि विभागका अधिकारीको भूमिका सन्देहात्मक देखिएकाले सबैमाथि छानबिन हुनुपर्ने माग गरे ।

कसरी ल्याइरहेको छ कच्चा पदार्थ ?
पशुपन्छी औषधिमा प्रयोग हुने कच्चा पदार्थमध्ये अधिकांश भारतलगायत मुलुकबाट आयात गरिन्छ । यस्ता कच्चा पदार्थ आयात गर्ने अनुमति औषधि उत्पादनको अनुज्ञापत्र प्राप्त गरेको औषधि उद्योगीले मात्र पाउँछन् ।

औषधि व्यवस्था विभागबाट अहिलेसम्म औषधि उत्पादनको अनुज्ञापत्र नलिएको सेरिनले कसरी औषधि उत्पादनका लागि कच्चा पदार्थ आयात ग–यो ? गम्भीर प्रश्न बनेको छ । भेट टाइम्स मासिकको सम्पर्कमा आएका एक औषधि उद्योगीले सुरुमा सेरिनले आफूसँग औषधि उत्पादनको कच्चा पदार्थ मागे पनि आफूले नदिएको र अहिले कसको सहयोगमा आयात गरिरहेको छ भन्नेबारे पनि जानकारी नभएको बताए । औषधिका लागि आवश्यक कच्चा पदार्थको आयात अनुमति उद्योगीले मात्र गर्न पाउने भएकाले अन्य औषधि उद्योगीमाथि आंशकाको सुइँ सोझिएको छ ।

मनपरी मूल्य राखेर बिक्री
अनुज्ञापत्र नलिई मनपरी पशुपन्छीका औषधि उत्पादन गरिरहेको सेरिनले मापदण्ड पालना नगरी त्यसलाई बजारमा लगेको हुनसक्ने जानकारहरू बताउँछन् । औषधिको गुणस्तर मापदण्डअनुसार नहुँदा त्यसको गम्भीर दुश्प्रभाव पशु तथा मानव स्वास्थ्यमा पर्ने भएकाले यस्ता औषधिको बिक्री वितरण तत्काल रोक्नुपर्ने उनीहरूको तर्क छ ।

मनमौजी औषधि उत्पादन गरेको सेरिनले त्यसको मूल्यसमेत मनपरी ढंगले राखेको छ । औषधिको मूल्य विभिन्न प्रक्रिया पूरा गरेर तय हुने भए पनि उसले त्यसको पालना गरेको छैन ।

विवादास्पद उद्योगीलाई एनभिएको सम्मान
पशुपन्छी चिकित्सकको हकहितसँगै पशु स्वास्थ्य र मानव स्वास्थ्यमा सकारात्मक छाप छाड्नु नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को धर्म हो । एनभिएले बेलाबेला आफ्नो संगठनले व्यावसायिक धर्म निर्वाह गरिरहेको गर्वका साथ बताउँदै आएको पनि छ ।

यही संगठनले विवादास्पद उद्योगी डा. अमात्यलाई सम्मान गरेको सुन्दा पत्याउन गाह्रै पर्छ । तर एनभिएले केही महिनाअघि मात्रै डा. अमात्यलाई एक कार्यक्रमका बीच सम्मान गरेको पाइएको छ । अमात्यमाथि लागेको आरोप र पशुपन्छी औषधिको पछिल्लो गुणस्तर अवस्था सम्बन्धमा एनभिएको जानकारी माग्न हामीले त्यसका महासचिव डा. केदार सुवेदीलाई सम्पर्क गरेका थियौं । टेलिफोनमार्फत भेट टाइम्स मासिकको सम्पर्कमा जोडिएका उनले अमात्यको औषधि उत्पादनबारे बुझेर प्रतिक्रिया दिने बताएका छन् ।

बिक्री गर्ने बिक्रेता पनि कारबाहीको भागिदार
औषधि ऐनअनुसार दर्ता भएका पसलले मात्र औषधि बिक्री वितरण गर्न पाउँछन् । औषधि ऐन, २०३५ को दफा १० (क) मा यस्ता औषधि पसलले दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्नुपर्ने उल्लेख छ ।

अनधिकृत रूपमा सञ्चालित यस्ता औषधि उद्योगका मतियार औषधि बिक्रेता र पसलहरू भएकाले तिनीहरूमाथि पनि कारबाही हुनुपर्ने जानकारहरू बताउँछन् । सेरिनले अनधिकृत ढंगले उत्पादन गरेका औषधि बिक्री वितरण गर्ने पशुपन्छी औषधि पसलको विवरण भेट टाइम्स मासिकलाई उपलब्ध भएको छ । उक्त सूची आगामी अंकमा प्रकाशित गरिनेछ ।

०७८ मै भएको थियो अमात्यको बदमासीको खुलासा
डा. अमात्यको कम्पनीले नियमविपरीत पशुपन्छी औषधि उत्पादन गरेको खुलासा तीन वर्षअघि ०७८ साउनमा भेट टाइम्स मासिकले गरेको थियो । जनवरी २०२१ मा सेरिनले उत्पादन गरेको ब्याच नं. डब्लुएस ०१७ को फ्लोरोटिम दर्ता नगरी उत्पादन गरेको विभागले पुष्टि गरेपछि भेट टाइम्स मासिकले ‘अवैध औषधिको कारोबारमा डा. अमात्य’ शीर्षकमा कभर स्टोरी लेखेको थियो । त्यसक्रममा अमात्यले औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत अनुमति नलिई पैठारी गरेका थिए ।

‘सेरिन फर्मास्युटिकल्सले उत्पादन गरेको फ्लोरोटिम औषधि यस विभागमा दर्ता नरहेको साथै उक्त उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको आयात अनुमतिका लागि आवश्यक पर्ने पैठारी सिफारिस पत्र प्रदान नभएको व्यहोरासमेत अनुरोध छ,’ विभागका तत्कालीन वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले सेरिनबारे लिखित पत्र उपलब्ध गराउँदै भनेका थिए । भेट उक्त समाचार प्रकाशनपूर्व डा. अमात्यसँग समेत कुराकानी गरेको थियो । उनले त्यसक्रममा भेट टाइम्सले समाचार लेखिदिएका कारण आफू बर्वाद भएको जनाउँदै कम्पनी ताला लाग्ने अवस्थामा पु¥याएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

शक्ति, सत्ता र पहुँचका बलमा अनधिकृत कार्य गर्नु अमात्यको अघोषित छवि नै बनिसकेको छ भन्दा फरक पर्दैन । ०७६ सालमा विभागले गरेको अनुगमनका दौरान उनको कम्पनीले दर्ताबेगर उत्पादन गरेको औषधि त्रिपुरेश्वरस्थित एक औषधि पसलमा फेलापरेको थियो । कैफियतपछि विभागको टोलीले मुचुल्का उठाए पनि अमात्यलाई भने कुनै घुनपुत्लो लागेन । सायद पटक–पटक गरेको बदमासीमा सातखत माफी पाएरै हुनुपर्छ, विगतदेखिका गलत बाटो छाड्नुपर्ने आवश्यकता उनले अझैसम्म महसुस गरेका छैनन् ।

विभागसँग हाम्रो कम्पनीको फायल नै छैन त म के गरौं ?’

तपाईंको औषधि उद्योगले अहिले के–के उत्पादन गरिरहेको छ ?

डा.जीवनलाल अमात्य, सञ्चालक सेरिन फर्मास्युटिकल्स प्रालि

केही पनि छैन ।

बजारमा त तपाईंका औषधि छ्यापछ्यापप्ती पाइन्छन् नि त ?
कुन दर्ता छ, कुन छैनन् भनेर बताउनुपर्ने ठाउँमा म भन्ने छु ।

तपाईंले बजारमा पठाएका औषधि दर्ता नभएको औषधि व्यवस्था विभागको भनाइ छ । यसबारे के भन्नुहुन्छ ?
यस्तो आरोप त तपाईंले ममाथि दुई÷तीन वर्षअघि नै लगाइ सक्नुभएको छ । यसबारे के, कसो भएको हो, औषधि व्यवस्था विभागसँगै सोध्नुस् ।

औषधि व्यवस्था विभागका अधिकारीले त हामीसँग तपाईंले दर्ता नै नगरी औषधि बिक्री गरिरहेको र पछिल्लो अनुगमनका क्रममा पनि कैफियत भेटिएको बताउनुभएको छ ।

त्यही हो । उसले (विभाग) जे भनेको छ, त्यही लेखिदिनुहोस् ।

विधिको शासनअनुसार देश चलिरहेको छ । विधि सबैले मान्नु पर्छ । तपाईं कानूनभन्दा पनि माथि हो ?

कानूनभन्दा माथिको कुरा होइन । मैले उत्पादन गरेका औषधि दर्ता भएका छन् । तर औषधि व्यवस्था विभागसँग हाम्रो कम्पनीको फायल नै छैन त म के गरौं ?

औषधि व्यवस्था विभागले फायल पो हराइदिएको हो ?
हो, त्यही लेखिदिनुहोस् । कोर्ट (अदालत) मा गएर जे गर्नुपर्छ, म गरौंला ।

औषधि दर्ता गरेरै उत्पादन तथा बिक्री वितरण गरिरहेको छु भन्ने तपाईंको जिकिर हो ?
दर्ता त भएकै छ नि । दर्ता नगरी औषधि उत्पादन गरेको आरोप लगाएर लेख्नुभयो भने म तपाईंविरुद्ध पनि मुद्दा हाल्छु ।

सेरेमोक्स भेट २० प्रतिशत, सेरेप्रीमलगायत तपाईंका केही औषधिको रेकर्ड हामीले विभागसँग मागेका थियौं । तर यी रेकर्डमा नदेखिएको जवाफ पाएका छौं । यसलाई कसरी बुझ्ने ?
कुन दर्ता छ, कुन छैन भन्ने कुरा अब अदालत गएपछि नै थाहा हुन्छ । तपाईंले २–३ वर्षअगाडि नै दर्ता नभएको औषधि बिक्री ग¥यो भनेर लेखिसक्नुभएकाले त्यसैका आधारमा फेरि पनि लेख्नुस् । त्यसको जसरी प्रतिरक्षा गर्नुपर्छ म गर्छु ।

भेट टाइम्स मासिकबाट