औषधि व्यवसायी संघमा पनि राजनीति घुस्यो, कसलाई कुन दलको आशीर्वाद ?

राजन प्रसाई

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायीको बहुप्रतिक्षित महाधिवेशन पुस २४ नजिकिँदै गर्दा उम्मेदवारहरूबीच उम्मेदवारी घोषणा गर्ने र पक्षमा माहोल बनाउने मात्र होइन, व्यावसायिक संगठनमा राजनीतिक रङ मिसाउने होडबाजी तीव्र सतहमै प्रकट हुन थालेको छ ।

संघको आगामी नेतृत्वका लागि अध्यक्षका दाबेदार रितेश रिमाललाई कांग्रेसको आशीर्वाद रहेको चर्चा छ । स्रोतका अनुसार रिमाललाई विजयी बनाउने कांग्रेसले आफूनिकटका व्यवसायीलाई सर्कुलर नै गरेको छ । कांग्रेससँगै पूर्वअध्यक्ष रेवतीरमण निरौला, प्रजापति बास्तोला, चित्रबहादुर गुरुङलगायतका पूर्वपदाधिकारी पनि उनको दाहिना छन् । आफ्नो पक्षमा माहोल बनाउन दौडधूपमा रहेका रिमालले वर्तमान उपाध्यक्षसमेत रहेका कांग्रेसनिकट व्यवसायी लक्ष्मण घिमिरेलाई सोही पदमा उम्मेदवार बनाउने तयारी गरेका छन् । आफ्नो प्यानल मिलाउन रिमालले दोहोर्यार घिमिरेलाई उम्मेदवार बनाउन लागेको चर्चा पशुपन्छी औषधि व्यवसायीमाझ छ ।

विजयी हुने अभिष्टका साथ मेची–महाकाली अभियान चलाएका रिमालले केन्द्रीय राजनीतिकै झल्को मेटाउने गरी कांग्रेस–माओवादी गठबन्धनकै साझा उम्मेदवार बन्ने रणनीति सुरुमा बनाएका थिए । तर माओवादीनिकट मानिएकी धनाकुमारी अधिकारी पाण्डेले उम्मेदवारी घोषणा गरेसँगै उनको त्यो चाहना विफल भएको छ ।

रिमालले संघको आगामी नेतृत्व हत्याउन म्याराथुन गरिरहेका बेला उता धनाकुममारी पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने ध्याउन्नमा छिन् । माओवादी केन्द्रनजिक भए पनि राष्ट्रिय राजनीतिको समीकरणविपरीत उनलाई एमाले समर्थित पूर्वअध्यक्षहरू नवराज शर्मा तिमिल्सेना, कम्पोज बडाललगायत व्यवसायीको साथ छ । यी दुवै पूर्वअध्यक्षले खुलेर धनालाई आफ्नो उम्मेदवारका रूपमा प्रचार गरिरहेका छन् । धनालाई संघको अध्यक्ष बनाउन अर्का पूर्वअध्यक्ष भरतबहादुर पाण्डे तनमनका साथ सक्रिय बनेका छन् । पाण्डे धनाकी श्रीमान् हुन् । उता, व्यवसायी यज्ञराज ढकाल ‘भाउजूलाई विजय गराउने’ भन्दै खुलेरै धनाको लबिङमा लागेका छन् । एमालेकै प्रभावशाली विभाग स्वास्थ्य व्यवसायी संघमा उनले रितेश साझा उम्मेदवार नरहेको प्रष्ट पार्दै महिलाको साथै संस्थालाई जग्गासमेत प्रदान गरेकाले धनाकुमारीलाई आगामी कार्यकालको जिम्मेवारी दिनुपर्ने मत प्रकट गरेका छन् ।

चुनावीमाहोल हेरेर सस्थाको भवन निर्माणार्थ जग्गानै दिने घोषणा गरेकी धनाकुमारीले आफ्नो प्यानल बनाउँदै लगेकी छन् ।

माओवादी समर्थित व्यवसायीका रूपमा चिनिएका दिनेश कट्टेल आयाततर्फको उपाध्यक्ष उम्मेदवार बनेका छन् भने हुमाकान्त काफ्लेले  महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टी सरकारमा रहेकाले औषधि व्यवसायीको अध्यक्षमा धनाकुमारीलाई नै जिताउन काठमाडौं, चितवन, बुटवलका माओवादीहरू लबिङमा लागेका छन् । औषधि खपत क्षेत्रको मेरुदण्ड मानिने दाना उद्योगी टीका पोखरेलले समेत ‘यो पटक त धनाकुमारीलाई जिताउनु पर्छ’ भनेर मत मागिरहेको चर्चा व्यवसायीबीच चलेको छ ।

आयाततर्फको उपाध्यक्षमा माओवादीनिकट दिनेश कट्टेल र सुना सुवेदी बडालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । तर सुनाले आफूनिकटका व्यवसायीलाई कट्टेल आफ्नो प्रतिस्पर्धी नै नरहेको बताउने गरेकी छन् । सुना पूर्वअध्यक्ष हेमराज बडालकी धर्मपत्नी हुन् । त्यसैले हेमराज पनि यसलाई प्रतिष्ठाको विषय बनाएर श्रीमतीको पक्षमा माहोल तताउन सक्रिय बनेका छन् ।

केन्द्रीय अध्यक्षमा जो आए पनि धनाकुमारीलाई हराउने एकसूत्रीय म्याण्डेट लिएर अघि बढेका बडालको रुचिमा अध्यक्षका अर्का प्रयासी रिमाल नरहेको बताइन्छ ।  तर विकल्प नभएकाले भित्री रूपमा मन नपरे पनि बडाल परिबन्धमा परेर रिमालको पक्षमा खुलेको बताइन्छ ।

उपाध्यक्षको प्रतिस्पर्धामा नारायणबहादुर भुजेल र विकास शर्मा तिमिल्सेना मैदानमा उत्रिएका छन् । दुवै व्यवसायी बडाल निकट मानिन्छन् ।

बडालनिकटका दुई व्यवसायी आमनेसामने भएको विषयलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

तथापि, व्यवसायीबीच चलेको चर्चाअनुसार तिमल्सिना र भुजेलबीच भित्री रूपमा एक जना मात्र प्रतिस्पर्धामा उत्रिने सहमति बनेको छ । पछिल्लो समय उम्मेदवारी घोषणा गरेका विकाश शर्मा तिमल्सिना र कोषाध्यक्षका आकांक्षी केपी लम्साल व्यावसायिक साझेदार भएकाले हेमराज बडाल ऋषिको बार्गेनिङ मिलेको खण्डमा उम्मेदवारी फिर्ता हुने विश्लेषण पनि व्यवसायीमाझ चलेको छ ।

भुजेल अध्यक्ष बन्ने बलियो सम्भावना

संघको १३औं अधिवेशनमा आफ्नो तर्फका अध्यक्षका उम्मेदवार पराजित हुँदा  लोकप्रिय मतका साथ महासचिवमा विजयी भुजेल आयातकर्ताको रूपमा चिनिएकाले उनलाई थोकको उम्मेदवार बन्न अवरोध हुने आँकलन कतिपयको छ । यो अवस्थाको अनुमान गरेर उनले अहिले नै अध्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएको जानकारहरू बताउँछन् ।

त्यसो त लुम्बिनी शाखाको समेत बलियो आशा र भरोसा राख्ने भुजेललाई कोशी एवं मेची शाखाका व्यवसायीले समेत उपाध्यक्षभन्दा अध्यक्षमा जान सल्लाह दिइरहेका छन् ।

धनाकुमारीको समर्थमा रहेका पूर्व अध्यक्ष नवराज शर्मा तिमिल्सेनालाई जग्गा प्राप्तिसम्बन्धी समितिको संयोजक बनाइएता पनि उनलाई बाइपास गरेर २ वटा पत्र जारी भएका छन् । यो कार्यबाट नवराज रुष्ट भएकाले उनले भुजेललाई अगाडि बढाउने अर्को सम्भावना पनि छ ।

नवराजले आखिरीमा भुजेललाई अध्यक्ष र आफ्ना भतिज विकास शर्मा तिमल्सिनालाई उपाध्यक्ष बनाएर नयाँ गोटी चाल्न सक्ने अर्को आँकलन पनि गरिँदैछ । यद्यपि, उनका भतिजा भने शर्मासंगको परामर्शमा नभई व्यवसायी हेमराज बडाल ऋषिको सल्लाहमा उम्मेदवारी घोषणा गरेको पाइन्छ । भेटेरिनरी क्षेत्रका खेलाडी बन्न रुचाउने नवराज शर्मा र हेमराज बडालले छलफल गरेर नारायणबहादुर भुजेललाई उम्मेदवारी दिन दबाब दिइरहेको बुझिएको छ । यद्यपि, भेट खबरले यसबारे भुजेलसँग राखेको जिज्ञासामा उनले अहिले त्यस्तो मनस्थिति बनाइनसकेको प्रतिक्रिया दिए । यद्यपि, आफूलाई पाखा लगाउने प्रयास भएको खण्डमा भने अध्यक्ष उम्मेदवारका लागि आवश्यक ६० हजार रूपैयाँ जमानत नगदै बोकेर जाने अभिव्यक्ति दिए ।

क–कसले घोषणा गरे अहिलेसम्म उम्मेदवारी

महाधिवेशनको मिति नजिकिँदै गर्दा एकपछि अर्का व्यवसायीले उम्मेदवारी सार्वजनिक गरिरहेका छन । संघका वरिष्ठ उपाध्यक्ष रीतेश रिमालले यस पटक अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् ।

त्यसैगरी, संघकी अर्की उपाध्यक्ष धनकुमारी अधिकारी पाण्डेले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

अध्यक्षबाहेकका पदमा पनि धमाधम उम्मेदवारी सार्वजनिक भइरहेको छ । संघका वर्तमान कोषाध्यक्ष सुना सुवेदी र सचिव दिनेश कट्टेलले आयाततर्फको उपाध्यक्षमा आकांक्षा राखेका छन । यसैगरी महासचिव नारायणबहादुर भुजेल, एकनारायण पौडेल, विकास शर्मा तिमसिना र कविराज भट्टले थोकतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

खुद्रा तर्फको उपाध्यक्षमा लक्ष्मण घिमिरे ,अबोधराज दवाडी र अर्जुन नेपालले आकांक्षा राखेका छन् । त्यसैगरी, संघको अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवमा हालसम्म सादुराम ढकाल (आशिष) र हुमाकान्त काफ्ले उम्मेदवारी घोषणा गरेका छन । सचिवमा हालसम्म केशव शर्माको मात्र उम्मेदवारी परेको छ । यद्यपि, नवराज शर्मा र हेमराज बडालले अध्यक्षमा भुजेललाई अघि सारेर सचिवमा समेत अर्को उम्मेदवार खोजेको बुझिएको छ  ।

राजेन्द्र थापा मगर र केपी लम्सालले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कसलाई कहाँ पछार्ने भन्ने दाउमा तल्लीन व्यवसायीहरूले अन्तिम समयमा विभिन्न पदमा उम्मेदवार उठाएर चुनाव थप रोचक बन्नेछ ।

उता, कार्यसमिति सदस्यको लागि पनि धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । संघको प्रस्थानबिन्दु मानिने यो पदमा  हालसम्म शंकर सुवेदी र रत्नकुमार बडालको उम्मेदवारी परेको छ ।