नेपाल–भारत दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल–भारत दुईदिने अन्तर्राष्टिय सम्मेलन सम्पन्न भएको छ । भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरियन्स तथा भेटेरिनरी पब्लिक हेल्थ एशोसिएसन नेपालले संयुक्त रूपमा आयोजना गरेको सम्मेलन गत साता सम्पन्न भएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको सम्मेलनमा भारतका विभिन्न १४ राज्यका ८० भेटेरिनरी जनस्वास्थ्य विज्ञ र नेपालका ७० जना पशु चिकित्सकको उपस्थिति थियो ।

आयोजक सदस्य डा. शीतलकाजी श्रेष्ठका अनुसार, सम्मेलनमा ७६ वटा विभिन्न वैज्ञानिक प्रस्तुतिहरू दिइएको थियो ।

भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरियन्सको १५ औं सम्मेलन पनि उक्त अवसरमै सम्पन्न गरिएको छ । सम्मेलनमा विश्व स्वास्थ्य संगठन नेपालबाट पनि जनस्वास्थ्यसम्बन्धी प्रस्तुति दिइएको श्रेष्ठले जानकारी दिए ।

भेटेरिनरी पब्लिक हेल्थ एशोसिएसन नेपालका अध्यक्ष डा. मुकुल उपाध्यायको अध्यक्षतामा सम्पन्न सम्मेलनमा एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरिनरियन्सका अध्यक्ष प्राध्यापक डा. एन. आर. प्रधान, महासचिव प्राध्यापक डा. तपन कुमार मण्डल, विहार भेटेरिनरी कलेजका डिन डा. जय किसन प्रसाद, पण्डित दिनदयाल उपाध्याय विश्व विद्यालयका प्राध्यापक डा. रश्मी सिंहलगायतले मन्तव्य राखेका थिए ।

यसैबीच, सम्मेलनमा भारतका डा. नित्यानन्द पाठक र नेपालका स्वर्गीय डा. दुर्गा दत्त जोशीलाई लाइफ टाइम एचिभमेण्ट अवार्ड प्रदान गरियो ।