भेटेरिनरी औषधिको गुणस्तर र वैधताबारे नियमन हुन सकेको छैन

पछिल्लो समय नेपालमा पशुपन्छी औषधिको उत्पादन तथा आपूर्ति व्यवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ । अहिले पालिकाहरूलाई पनि पशुपन्छी औषधि खरिद गरेर वितरण गर्ने अधिकार दिइएको छ । उनीहरूले पनि यो काम गर्न थालेका छन् । यसले गर्दा केही सुधार चाहिँ भएको छ । तर, पशुपन्छी औषधिको उत्पादन बढ्नुपर्ने जति बढ्न सकेको छैन । त्यस्तै, बजारमा दर्ता नभएका, परीक्षण नगरिएका औषधि पनि बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । यसले गर्दा नेपालमा प्रयोग भइरहेका पशुपन्छी औषधिको गुणस्तर चाहिँ के हो भन्ने विषयमा गम्भीर प्रश्न छ ।

नियमनकारी सरकारी संयन्त्र बलियो छैन । जाँच गर्ने, निगरानी गर्ने, नियन्त्रण गर्ने, जफत गर्ने, कारबाही गर्ने जस्ता नियामकीय काम गतिलोसँग हुन सकेको छैन । यसलाई सुधार गर्नुपर्ने छ । औषधि व्यवस्था विभागले जनशक्तिको असाध्यै कमी भएको भनिरहेको छ । त्यसले मानव औषधिमै पनि कडा नियमन गर्न नसकेको अवस्थामा पशुपन्छी औषधिको नियमन निश्चय पनि पछाडि परिरहेकै छ । विभागमा जनशक्ति बढाउने र प्रदेशअन्तर्गतका विभिन्न शाखाहरूमा विस्तार गरेर एकीकृत संयन्त्र परिचालन गर्न सकियो भने मात्रै पशुपन्छीपालक तथा व्यवससायीले वैध र गुणस्तरीय औषधि प्रयोग गर्न पाउने अवस्था रहन्छ । कम्तीमा बजारमा आएका औषधिको जाँच गरेर गुणस्तरीय छ कि छैन छुट्याइ दिने हो भने त्यसले गुणस्तरहीन औषधिलाई निर्मूल पार्न सकिन्छ । गुणस्तर नै जाँच नभएपछि बजारमा सबै सरोबरी भएको छ । निजी क्षेत्रका ल्याबहरूले औषधिको गुणस्तर जाँच गर्ने गरेका छन् । गुणस्तरहीन भएको पनि पत्ता लगाउँछन् । तर, सरकारको नियमनकारी नियकाले नै जाँच गरेर गुणस्तर प्रमाणित नगरेसम्म निजीले प्रमाणित गरेको गुणस्तरको प्रमाणले काम गर्दैन ।

पछिल्लो समय नेपालमा पशुपन्छी औषधिको खपत बढिरहेको छ । त्यसो हुँदा नेपालमा पशुपन्छी औषधि उत्पादन गर्ने उद्योततगको संख्या पनि थपिइरहेका छन् । तथ्यांकमा उद्योगको संख्या नेपालमा थपिएका छन् । तर, बिक्रीमा वृद्धि भएको छैन । कारण के भने अनधिकृत रूपमा छिरेका औषधिले जति पनि छुट दिने गरेका छन् । जसले गुणस्तरीय औषधि उत्पादन गरेका छन् उनीहरूको एउटा निश्चित मूल्य हुन्छ । तर, जसले गुणस्तरमा कुनै ध्यान दिएका हुँदैनन् । उनीहरूले आफ्नो उत्पादनको मूल्य निकै सस्तो गरे पनि नाफा नै कमाउँछन् । त्यसो हुँदा त्यस्ता गुणस्तरहीन औषधि सस्तोमा पाइने, जति पनि छुट पाइने अवस्थाले बिक्री वितरण र खरिद बढेको पाइन्छ । केही व्यवसायी, प्राविधिक तथा उपभोक्ता भने नेपाली औषधिले काम गर्दैन भन्ने भ्रममा पनि देखिन्छन् । तर, केही समयअघि नेपाली कम्पनीहरूमा नियामक निकायले छड्के जाँच गरेर गुणस्तर हेर्दा नेपाली कम्पनीको औषधि गुणस्तरीय देखियो र आयातीत कम्पनीका औषधि गुणस्तरहीन देखिएको थियो । त्यसपछि भने नेपाली औषधि गुणस्तरीय छन् भन्ने धेरैले थाहा पाएका थिए । तर, पनि नेपाली औषधिको खपत बढ्न सकेको छैन । त्यसो हुँदा नेपालमा खुलेका औषधि उद्योगहरू पनि अहिले बन्द हुने अवस्थामा पुग्न लागेका छन् ।

पशुपन्छी औषधिलाई औषधि व्यवस्था विभाग र पशु सेवा विभाग गरी दुई निकायले नियमन गर्ने गर्छन् । हामीले एउटै निकायबाट नियमन हुनुपर्छ भनिरहेका छौँ । एकद्वार नियमन प्रणाली भए सजिलो हुने थियो । बजारमा भएका औषधि र सप्लिमेन्टजन्य चिजको कडा नियमन गर्ने र प्रत्येक एग्रोभेटलाई नियमन गर्नुपर्ने अवस्था छ । एग्रोभेटले पनि बजारमा कसैले आएर यो राम्रो छ, वैध छ भनेपछि नलिने भन्ने कुरा हुँदैन । तर, यो दर्ता छ÷छैन, यो औषधि गुणस्तर हो÷होइन भन्ने तथ्यांक औषधि व्यवस्था विभागले प्रकाशित गरेर एग्रोभेटहरूलाई बुझाउने, किसान तथा व्यवसायीलाई सुसूचित गराउने वातावरण बन्न सके धेरै समस्याको हल हुने थियो । यसरी अघि बढ्न सके भोलिका दिनमा गुणस्तरीय भेटेरिनरी औषधि तथा सप्लिमेन्ट नेपालका लागि नेपालमै उत्पादन हुने र खपत हुने वातावरण बन्न सक्ने देखिन्छ ।

राजु पौडेल लाइभ केयर फर्मास्युटिकल प्रालि, चितवनका सञ्चालक हुन ।