चितवनका किसानलाई एबी प्यालेट फिडको तालिम

काठमाडौं । एबी प्यालेट फिडले चितवनको वीरेन्द्रनगर राप्ती नगरपालिका आसपासका किसानलाई पशुपालनसम्बन्धी दुईदिने तालिम दिइएको छ ।

सहीद बलराम दुग्ध उत्पादक सहकारी संस्था र एबी प्यालेट फिड प्रालिको सयुक्त आयोजनामा बुधबारबाट बिहीबारसम्म तालिम दिइएको हो ।

४२० किसानको सहभागिता रहेको तालिममा पशुपन्छी चिकित्सकलगायतले पशुपन्छीपालनबारे जानकारी दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले आधुनिक प्रविधिको प्रयोग गरेर पशुपालन व्यवसाय गर्नुपर्ने बताए । ‘हामी पुरानैशैलीमा पशुपालन गर्दै आएका छौं,’ उनले भने, ‘लागत घटाउन हाम्रो ध्यान जानु पर्छ, त्यसका लागि नयाँ र आधुनिक प्रविधि अवलम्बन गर्नुपर्छ ।’

तीन तहको सरकारबाट पशुपालन गर्ने किसानले सहयोग पाउनुपर्नेमा त्यो हुन नसकेको उनले बताए ।

सहीद बलराम दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष छविलाल भुसालले जीवनभर पशुपालन गरे पनि धेरै कुराको जानकारी नहुने भएकाले तालिम प्रदान गरिएको बताए । नयाँ प्रविधि, उन्नत जात, रोग, आहारलगायतबारे जानकारी गराउनु तालिमको उद्देश्य रहेको उनले बताए ।

तालिमको पहिलो दिन राप्ती नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख शैलेन्द्र भण्डारीले स्थानीय सहकरी ऐनको बारे जानकारी गराएका थिए । किसानका संख्या धेरै भएकाले दुई चरणमा तालिम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक खुदयराज पन्तले बताए । सहिद बलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालको अध्यक्षतामा भएको उद्घाटन डा. उमेश मन्डलले पशुपन्छीमा देखिएको लम्पी रोग र त्यसले पु–याएको क्षतिबारे चर्चा गर्दै बच्ने उपायबारे जानकारी गराएका थिए ।

एबी फिड्स प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दीपेश लामिछानेले दानाको गुणस्तरमा प्रतिबद्ध रहेको जानकारी गराउँदै किसानले पाल्दै आइरहेका पशुबारे अवगत गराएका थिए ।

कार्यक्रम सहभागी कृषकहरूले दानाको गुणस्तरबारे पनि प्रश्न राखेका थिए । त्यसको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथामिकता रहेको बताए ।
सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताउँदै उनले आफ्नो उत्पादन सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न आग्रह गरे ।

दुईदिने तालिममा सहभागीलाई हौसला प्रदान गर्न प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएका छन् ।