१६ संगठनलाई सरकारले बोलायो वार्तामा

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा गरिएका प्रबन्धप्रति असन्तुष्टि जनाउँदै संघर्षरत पशुपन्छी क्षेत्रका १६ संगठनलाई सरकारले वार्तामा बोलाएको छ ।

कृषि तथा पशुपन्त्री विकास मन्त्रालयले आन्दोलनरत पक्षलाई सम्पर्क गरेर संवादमा आउन आग्रह गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दीपककुमार खरालले बिहीबार साँझ भेट खबर डटकमसँग कुरा गर्दै आन्दोलनरत १६ संगठनलाई संवादमा आउन आग्रह गरिएको जानकारी दिए ।

खरालका अनुसार, संघर्षरत पक्षलाई वार्तामा बस्नेहरूको नाम उपलब्ध गराउन भनिएको छ । ती नाम उपलब्ध भएपछि बसेर मागबारे छलफल गरिने उनले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा पशु सेवा विभागअन्तर्गतका कार्यालयहरू खारेज गर्ने, गाभ्ने, प्रदेशमा झार्नेलगायत निर्णय गरेर शून्य बजेट विनियोजन गरेपछि १६ संगठन चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार मात्रै पशु सेवा विभागमा तालाबन्दी गरेर अनिश्चितकालीन धर्ना दिएका थिए ।