१७ पालिकाका पशुचिकित्सकलाई बजेट छुट्याएन एनभिएले गरायो ध्यानाकर्षण

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले ‘एक पालिका, एक भेटेरिनरी डाक्टर’ शीर्षकको बजेट कटौतीप्रति आपत्ति जनाउँदै स्थानीय तहमा कार्यरत सबै पशु चिकित्सकका लागि बजेट विनियोजन गर्न पशु सेवा विभागमार्फत सरकारसमक्ष आग्रह गरेको छ ।

एनभिएका अध्यक्ष डा. रामकृष्ण खतिवडा नेतृत्वको टोलीले बुधबार विभागकी महानिर्देशक डा.सम्झनाकुमारी काफ्ले पाण्डेलाई ज्ञापनपत्र बुझाएर केही स्थानीय तहमा कार्यरत हुँदाहुँदै शून्य बजेट विनियोजन गरिएका पशु चिकित्सकका लागि बजेट विनियोजन गर्न आग्रह गरेको हो ।

स्थानीय तहमा रहेको पशु चिकित्सकको दरबन्दीमा कैची चलाएको सरकारले देशका १७ स्थानीय तहमा कार्यरत पशु चिकित्सकका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि शून्य बजेट विनियोजन गरेपछि अन्योल उत्पन्न भएको छ ।

त्यस्तै, एनभिएले स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी कटौती गरिएकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशका ३४६ स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी रहेकोमा सरकारले त्यसलाई घटाएर १६१ स्थानीय तहमा मात्र कायम गरेको छ ।

लम्पी स्किन, अफ्रिकन स्वाइन फिभरजस्ता पशुजन्य रोगको प्रकोपले प्रत्येक स्थानीय तहको घरदैलोमा पशु चिकित्सक पुग्नुपर्ने आवश्यकता बोध गराइरहेका बेला उल्टै पशु चिकित्सकको दरबन्दी कटौती गरेर सरकार उल्टो बाटोमा हिँडेको एनभिएको ठहर छ ।

‘पशु चिकित्सक सेवा प्रत्येक स्थानीय तहका किसानको घरदैलोमा पुग्नुपर्नेमा आर्थिक वर्ष ०७९–८० मा रहेको ३४६ पालिकामा पशु चिकित्सकको दरबन्दी घटाएर आगामी आर्थिक वर्ष २०८०–८१ मा जम्मा १६१ स्थानीय तहमा मात्र दरबन्दी कायम गरिनु निन्दनीय र खेदजनक छ,’ एनभिए अध्यक्ष डा. खतिवडाद्वारा विभागकी महानिर्देशक डा. काफ्लेलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

एनभिएले सरकारको यो कदमले पशु चिकित्सकको पेसा र सेवालाई अधोगतितर्फ लैजान लागेको प्रतित भएको निचोड निकालेको छ ।