एनभिए अधिवेशन भोलिदेखि, अध्यक्षमा दुईको उम्मेदवारी, अन्य पदका आकांक्षी पनि धमाधम खुल्दै

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को राष्ट्रिय अधिवेशन तथा वार्षिक साधारणसभा यही शुक्रबार र शनिबार राजधानीमा हुने भएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठका लागि यही कार्यकाल अन्तिम हुनेछ । एनभिएको विधानअनुसार एकै व्यक्ति तीन कार्यकालभन्दा बढी नेतृत्वमा रहन मिल्दैन । त्यसैले एनभिएको आगामी नेतृत्वबारे अलि बढी नै चासो देखिएको छ ।

देशभर एनभिएका करिब २ हजार हाराहारी सदस्य छन् । यिनै सदस्यले आगामी नेतृत्वका लागि अध्यक्षलगायत पदाधिकारी र सदस्य चयन गर्नेछन् ।

अध्यक्षमा काफ्ले र खतिवडाको उम्मेदवारी


विधानबमोजिम श्रेष्ठले यस पटकबाट विश्राम लिने भएपछि नेतृत्वका लागि तीव्र दौडधुप सुरु भएको छ । अध्यक्षमा डा.रामकृष्ण खतिवडा र डा.कृष्ण काफ्लेले आकांक्षा राख्दै उम्मेदवारी घोषणा गरेका छन् । खतिवडा एनभिएको एक कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् भने काफ्ले वर्तमान कार्यसमितिमा उपाध्यक्षको भूमिकामा छन् ।

अध्यक्षका आकांक्षी काफ्ले युवामाझ लोकप्रिय छन् । पशु स्वास्थ्य सेवा परिषद् ऐनको विवाद चरमोत्कर्षमा रहेका बेला एनभिएले गरेको आन्दोलनको अग्रमोर्चामा उभिएर काफ्लेले भूमिका निर्वाह गरेका थिए । काफ्ले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत हुन् ।

खतिवडा निजामती सेवाबाट अवकाशप्राप्त व्यक्ति हुन् । पशुसेवा विभागका पूर्वउपमहानिर्देशकसमेत रहेका खतिवडालाई सरकारी कर्मचारीहरूको साथ रहेको बताइन्छ ।

उपाध्यक्षमा भट्राई र अर्याल आमनेसामने

उपाध्यक्षका लागि पनि धमाधम उम्मेदवारी परिरहेको छ । यो समाचार तयार पार्दासम्म डा.अषेश भट्राई र डा.अर्जुन अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

भट्राई वर्तमान कार्य समितिका महासचिव हुन भने अर्याल निजामतीतर्फका सरकारी कर्मचारी हुन् ।

महासचिवमा सुवेदी र पन्त

कार्यसमतिको महत्त्वपूर्ण पद मानिने महासचिवमा हालसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेमा डा.केदार सुवेदी र डा.योगेन्द्रराज पन्त छन् ।

यसैगरी, सचिवमा डा. हरि पन्त र डा. शंकर न्यौपाने, कोषाध्यक्षमा डा. उमेश मण्डल र डा. शीकेष मानन्धरले आकांक्षा देखाएका छन् ।

यसैगरी प्रधान सम्पादकको लागी डा.टंक प्रसाद प्रसाईं र डा.नारायण पौडेलले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय समितिको  सदस्यमा डा.नवीन पन्थी, डा.सुमित शर्मा, डा.प्रकाश अधिकारी, डा.सत्रुघन शाह ,डा.मलिशा श्रेष्ठ, डा.सम्राट श्रेष्ठ, डा.जनक मजाकोटी, डा.निकेष खनाल, डा.रिकेष श्रेष्ठ, डा. सुशील कुमार राय र डा.लोकेन्द्र न्यौपाने उम्मेदवारी घोषणा गरेका छन्।