दाङ फिडको दानामा एन्टिबायोटिक्स,बिक्री वितरण बन्द गर्न विभागको अल्टिमेटम

बिक्री वितरण बन्द गरेर जानकारी उपलब्ध गराउन विभागको अल्टिमेटम

काठमाडौं । दाङ फिड इण्डष्ट्रिज प्रालिले कुखुराको दानामा एन्टिबायोटिक्स मिसाएको तथ्य सार्वजनिक भएको छ । प्रचलित कानूनअनुसार कुखुराको दानामा एन्टिबायोटिक्स मिसाउन नपाइने भए पनि दाङ फिडले त्यसको उल्लंघन गर्दै आफ्नो दानामा एन्टिबायोटिक्स प्रयोग गरेको हो ।
पशु क्वारेन्टाइन कार्यालय, भैरहवाले दाङ फिडले उत्पादन गरेर बजारमा पठाएका दानाको नमुना संकलन गरी राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहर भवन ललितपुरमा गुणस्तर परीक्षणका लागि पठाएको थियो । जसक्रममा उसको दानामा एन्टिबायोटिक्सको मात्रा भेटिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार, दाङ तुलसीपुरमा रहेको यो उद्योगको ब्याच नम्बर क्रमशः SFMIA 220001, SFSG 220009SFSL 220010 रहेको Lipi fiar, Salcid- Plus / Xzyme (Lincomycine) मा एन्टिबायोटिक्सको मिश्रण पाइएको छ । सन् २०२२ को मार्चमा उत्पादन भएको xzyme को अन्तिम म्याद फेब्रुअरी २०२५ र सन् २०२२ को जुलाईमा उत्पादन भएको lipi र Salcid को अन्तिम प्रयोग मिति जुन २०२५ छ ।
अनधिकृत ढंगले दाङ फिडले दानामा एन्टिबायोटिक्स मिश्रण गरेको पुष्टि भएसँगै राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले एक पत्र लेखेर बिक्री वितरण नगर्न निर्देशन दिएको छ । साथै प्रयोगशालाले बजारमा पठाइएका दानाको विवरण सात दिनभित्र उपलब्ध गराउन पनि पत्रमार्फत आग्रह गरेको छ । तर,उक्त उद्योगले विभागबाट पत्र प्राप्त नभएको दाबी गर्दै उक्त दाना अझैसम्म बजारबाट फिर्ता गरेको छ्रैन ।सो उद्योगका सञ्चालक धनेश्वर ओलीले विभागबाट यसबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।
पशु सेवा विभागको ०७९ फागुन ३ गतेको निर्णयअनुसार दाङ फिड इण्डष्ट्रिज प्रालिको एन्टिबायोटिक्स मिश्रण भएका दाना बिक्री वितरणमा रोक लगाएर सोको विवरण सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको प्रयोगशालाले जनाएको छ ।

तुलसीपुरमा अवस्थित दाङ फिड इण्डष्ट्रिज प्रालिका सञ्चालक ओलीले सुरुमा यसबारे कुनै जानकारी नभएको दाबी गरे । तर विभागले सोधपुछपछि कारबाहीसँगै पत्राचार पनि गरेको व्यहोरा उल्लेख गरेपछि भने उनले छानबिनमा तानिएको स्वीकार गरे ।
सुरुमा यो विषयमा केही जानकारी नभएको भनेर पन्छिन खोजेका ओली पछि दानामा एन्टिबायोटिक्स मिसाएको घुमाउरो भाषामा स्वीकार गर्न तयार भएका छन् । उक्त एन्टिबायोटिक्स पशु चिकित्सकको सिफारिसअनुसार आयात गरेर प्रयोग गरिएको उनको भनाइ छ । यसरी एन्टिबायोटिक्स चिकित्सकको सिफारिस लिएर पनि ल्याउन पाइँदैन । मानव स्वास्थ्यमा गम्भीर असर गरेपछि ०७६ फागुनमा कार्यविधि बनाएर सरकारले यसको आयात तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । ‘प्यारेन्ट कुखुराका लागि आवश्यक भएपछि चिकित्सकको सल्लाहमा एन्टिबायोटिक्स ल्याएका हौं । दानामा मिसाउन होइन,’ उनले भने ।
पशुपन्छीको दानामा एन्टिबायोटिक्सको अनधिकृत प्रयोगले मानव स्वास्थ्यमा जोखिम बढाउने विभिन्न अध्ययनले देखाएका छन् । पशुपन्छीलाई खुवाइएका एन्टिबायोटिक्स विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेर त्यसले नकारात्मक असर पार्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार, एन्टिबायोटिक्सको यस्तो प्रयोगले बिरामी भएका बेला काम नगर्नेलगायत विभिन्न असर पर्छ ।
पशुपन्छीको दानामा मनपरी ढंगले एन्टिबायोटिक्स मिश्रण गरेर मानव स्वास्थ्यमाथि नै खतरा उत्पन्न गराएपछि सरकारले वि.सं. ०७३ फागुन ११ गते सचिवस्तरीय निर्णय नै गरेर पशुपन्छी र माछाको दानामा एन्टिबायोटिक्स मिसाउन नपाइने नियम बनाएको थियो । पछि यसलाई कार्यान्वयन गर्न कार्यविधि नै तयार पारियो । तर कमजोर नियामक र दण्डहीनताको फाइदा उठाउँदै यसको प्रयोग लुकिछिपी भइरहेको पाइएको छ । स्रोतका अनुसार, सिधै एन्टिबायोटिक्स आयात गर्न सीमामा अवरोधको सामना गर्नुपर्ने भएकाले बोरामा नाम एउटा लेखेर एन्टिबायोटिक्स भित्राउने गरिएको छ । केही समयअघि भेट टाइम्सले नेपाल प्रहरीका एक पूर्व अधिकारी र पशु चिकित्सक नै यो धन्दामा संलग्न रहेको समाचार स–प्रमाण प्रकाशित गरेको थियो । यति गम्भीर गतिविधिमा संलग्न भएको पुष्टि भए पनि उनीहरूमाथि सामान्य कानूनी प्रक्रियासमेत थालिएको छैन ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी पशुपन्छीको दानामा एन्टिबायोटिक्स मिसाउनु अनधिकृत कार्य भएको बताउँछन् । यस्ता गतिविधि कसैले गरेको भेटेमा विभागले तत्काल कारबाही गर्ने उनले चेतावनी दिए । ‘पशुपन्छीको दानामा एन्टिबायोटिक्स प्रयोग गर्न मिल्दैन । यसलाई हामीले निकै संवेदनशील ठानेर नियमन गरिरहेका छौं,’ उनले अगाडि थपे,‘यदि कसैले एन्टिबायोटिक्सको अनधिकृत कारोबार गरिरहेको छ भने त्यस्ता व्यक्ति तथा संस्थालाई हामी कारबाही गर्छौं ।’ विभागले यस्तो बताए पनि उसको कमजोर नियमनको फाइदा उठाउँदै दाना उद्योगले एन्टिबायोटिक्सको प्रयोग गरिरहेको पाइएको छ ।
यस्ता गतिविधि गर्दा ठूलो सजाय समेत हुँदैन । यसले पनि यो प्रवृत्तिलाई बढावा दिइरहेको छ । सरकारी निकाय एकले अर्कोलाई देखाएर पन्छिँदा यो विकृतिको सबैभन्दा ठूलो मार किसानले खेपेका छन् । अरूको गल्तीको मूल्य किसानले चुकाइरहँदा समेत राज्यले अनदेखा गर्नु चिन्ताको विषय हो ।