पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको प्रावधानप्रति एसोसिएसनको आपत्ति

काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पेस भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक, २०७६ प्रति नेपाल भेटेरिनरी एसोसिएसनले आपत्ति प्रकट गरेको छ । एकपक्षीय ढंगले विधेयक अघि बढाइएको भन्दै एसोसिएसनले आपत्ति जनाएको हो ।

एसोसिएसनले स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराख्नुलाई एकपक्षीय, दमनकारी र षड्यन्त्रपूर्ण भनेको छ । ‘स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएको उक्त विधेयक एकपक्षीय, दमनकारी एवं षडयन्त्रपूर्ण ढंगले ल्याइएको छ,’ एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्याउने हिसाबले विधेयक ल्याइएको भन्दै श्रेष्ठले सांसदहरूको ध्यानाकर्षणसमेत गराएका छन् । विधेयकको नामदेखि नै अल्मलाउने काम भएको उल्लेख गर्दै श्रेष्ठले अस्पष्ट ढंगले प्रस्तावना बनाउनु सन्देहपूर्ण भएको पनि बताएका छन् ।

विधेयक निर्माणका क्रममा सरोकारवालालाई सहभागी गराइनुपर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । ‘समितिमा विधेयक पेश भएको ३ वर्षमा हामी सरोकारवालाहरुलाई जम्मा एक पटक बोलाएर र पुनः छलफलमा बोलायोस् भन्ने निरन्तर आग्रहलाई समेत बेवास्ता गर्दै जबरजस्ती तरिकाले हतासको मनस्थितिमा समितिबाट अगाडि बढाइनु शंकापूर्ण छ,’ श्रेष्ठले विज्ञप्तिमा अगाडि थपेका छन् ।

विधेयकमा समेटिएका कतिपय व्यवस्थाहरू नेपालको संविधान, मौजुदा केही कानूनहरु र अन्तर्राष्ट्रिय मापदण्डसंग बाझिएको कुरा समितिमा राख्दाराख्दै बेवास्ता गरिएको भन्दै उनले यसबारे प्रश्न गरेका छन् । समितिले अघि बढाएको विधेयकमा कतिपय अवस्थामा नेपालको संविधानले स्थानीय तहको एकल अधिकारको सूचीमा उल्लेख भएका प्रावधानहरुलाई समेत हस्तक्षेप गरेको छ ।

त्यसैगरी, नेपालको संविधानको कार्यविस्तृतीकरण प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेको भेटेरिनरी प्राविधिकहरुको दर्ता अनुमति, नवीकरण, खारेजी र नियमन गर्ने व्यवस्था समेत घुमाउरो तरिकाले संघमा नै केन्द्रिकृत गरिएको छ । ‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने पशुपालन क्षेत्रलाई नै तहशनहस हुने ढङ्गबाट कानून निर्माण हुनु अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरीत देखिन्छ । अन्ततः कानून निर्माता संसद् सदस्यहरूलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं र पुनः उक्त विधेयकमा भएका गम्भीर त्रुटीहरु सच्याउनको लागि नेपाल भेटेरिनरी एशोसिएसन गम्भिर माग गर्दछ,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस विज्ञप्ति