Home कृषि तीन संस्थाद्वारा पूरक अनुदान दुरूपयोग, ३५ दिनभित्र रकम फिर्ता गर्न उर्दी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाबाट पूरक अनुदान हात लिएका संस्थाले त्यसको दुरूपयोग गरेको पाइएको छ ।
उपआयोजना सञ्चालन मार्गदर्शन, २०७८ अनुसार अनुदान रकम खर्च गर्नुपर्नेमा तीन अनुदानग्राहीले त्यसविपरीत कार्य गरेको पाइएको हो ।
अनुदान रकम लिएर उपआयोजना सञ्चालन मार्गदर्शनविपरीत कार्यगर्नेहरूमा तृषा पशुपालक समूह, रूपन्देही, उद्यमी नेपाल कृषि सहकारी संस्था लिमिटेड, पाल्पा र डाइमण्ड अर्गानिक कृषि फर्म, तनहुँ रहेका छन् । यी संस्थाले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट क्रमशः ८८ लाख ६१ हजार १४५, १० लाख ७० हजार १९७ र ८ लाख १३ हजार २५ रूपैयाँ अनुदान प्राप्त गरेका थिए ।
आयोजनाले यी तीन संस्थाले पूरक अनुदानको मर्मविपरीत कार्य गरेको जनाउँदै कारबाही प्रक्रिया अघि बढाएको छ ।
रकम फिर्ता गर्न अटेरी
तीन संस्था तथा फर्मबाट पूरक अनुदान दुरूपयोगपछि आयोजनाले रकम फिर्ता गर्न ताकेता गरेको छ । आयोजनाले उपआयोजना सञ्चालन मार्गदर्शन, २०७८ को बुँदा नम्बर २८, द्विपक्षीय सम्झौताको बुँदा नं. ८.३, अनुसूची १२ तथा उत्तरदायित्व नियमावली, २०७७ को नियम ९० (१) अनुसार अनुदान रकम फिर्ता गर्न ताकेता गरेको हो । तर ती तीन वटै संस्थाले अनुदान रकम फिर्ता गर्न आनाकानी गरेका छन् ।
पूरक अनुदानग्राही संस्थाले रकम फिर्ता गर्न अटेरी गरेपछि अन्तिम पटक बुधबारबाट गणना हुनेगरी ३५ दिनको समय उपलब्ध गराएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यी संस्थालाई बैंकमार्फत रकम फिर्ता गरेर भौचर आयोजनामा पेश गर्न भनिएको छ । तोकिएको समयमा पनि अनुदान रकम दाखिला नभएमा केन्द्रीय तहसील कार्यालयमा लगत पठाउने आयोजनाद्वारा जारी सूचनामा उल्लेख छ ।
आयोजनाले कृषि तथा पशुपालनमा संलग्न व्यक्ति तथा संस्थालाई पूरक अनुदान उपलब्ध गराउँदै आए पनि पछिल्लो समय त्यसको दुरूपयोग श्रृंखला बढ्दै गएको छ । अनुदानग्राहीले अनुदान पछि व्यवसाय नै सञ्चालन नगर्ने, कार्यक्रममार्फत निर्माण भएका पूर्वाधार तथा मेसिन औंजार बेचबिखन जस्ता बदमासी गर्ने गरेका छन् ।
आयोजनाले अनुदानग्राहीलाई सचेत गराउँदै गतल कार्य गरेको पाइएमा सरकारी बाँकी सरह असुल गर्ने चेतावनी दिएको छ ।
Language »