मेरो जित सुनिश्चित भइसक्यो:यज्ञराज ढकाल

तपाईं संघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । यो दुईवर्षे कार्यकाल कस्तो रह्यो ?
संघको उपाध्यक्षमा निर्वाचित भएको एक वर्ष हामी कोभिड–१९ महामारीबाट गुज्रियौं । यही कारण हामीले चाहेर पनि धेरै काम गर्न सकेनौं । तथापि, हामीले प्रतिकूलताबीच पनि धेरै काम गरेका छौं । भेटेरिनरीलाई अत्यावश्यकीय सेवाको सूचीमा राखिएको थिएन । कारण यसका गतिविधि प्रभावित हुन पुगेका थिए । पशुपन्छी औषधि व्यवसायी संघ, नेभ्ला, एनभीएलगायत भेटेरिनरीका सरोकारवाला निकायसँगको सहकार्यमा पशुपन्छीमा प्रयोग हुने औषधिलाई अत्यावश्यकीय सूचीमा राखेर सहज रूपमा व्यवसाय गर्ने वातावरण हामीले नै बनाएका हौं । औषधि व्यवस्था विभागमा दर्ता भएको कार्ड देखाएर आवागमन गर्ने सुविधा पनि व्यवसायी साथीहरूले पाउनुभयो ।

पशुपन्छी औषधि व्यवसायीका समस्या के रहेछन् र तिनको समाधानमा तपाईंले के गर्नुभयो ?
हामीसँग दुई वटा क्याटागोरीमा औषधि पसल दर्ता गर्न सकिने व्यवस्था छ । एउटा छ, दुईवर्षे कार्यअनुभवका आधारमा । अर्कोचाहिँ ग्रापसका तालिम लिएको आधारमा । अनुभवका आधारमा पसल दर्ता गरेकाको हकमा नवीकरणमा कुनै समस्या छैन । तर ग्रापसका गरेर जसले पसल दर्ता गरेका छन्, तिनको हकमा नवीकरण गर्न धेरै समस्या छ ।

यो नयाँ नभएर पुरानै समस्या हो । दुईवर्षे कार्यकालमा तपाईंहरूको नजर यो दीर्घकालीन विषयमाथि किन नपरेको ?
यसका लागि पशुपन्छी औषधि व्यवसायी संघले सम्बन्धित निकायमा पहल गरिरहेकै छ । हामीले यो झण्झटिलो भयो, हटाऊँ भनिरहेका छौं । तर सुनुवाइ भएको छैन ।

आसन्न महाधिवेशनमा तपाईं अध्यक्षको प्रत्यासीका रूपमा मैदानमा खडा हुनुहुन्छ । प्रतिस्पर्धाका लागि के तयारी गरिरहनु भएको छ ?
आफ्नो उम्मेदवारीबारे सबैलाई जानकारी गराइरहेको छु । १ नम्बर प्रदेश, सगरमाथा शाखा, चितवन शाखा, बागमती प्रदेशलगायत देशैभरीका प्रदेश एवं शाखामा म पुगिसकेको छु । त्यहाँ हामीले धेरै व्यवसायीसँग अन्तरक्रिया, छलफल पनि ग¥यौं । मसँग पशुपन्छी औषधि व्यवसाय क्षेत्र र संघको लामो अनुभव छ । विभिन्न जिम्मेवारीमा रहेर मैले कार्यसम्पादन गरिसकेको छु । धेरै शाखाका प्रतिनिधि साथीले ‘तपाईं अध्यक्षमा आउनु पर्छ’ भनिरहनु भएको छ । उहाँहरूकै सुझावका आधारमा मैले तयारी पनि गरिरहेको छु ।

व्यवसायीका चासोचाहिँ के कुरामा छन् ?
व्यवसायी साथीहरू विभिन्न समस्यामा हुनुहुन्छ । त्यसैले एकीकृत ढंगले आफ्ना समस्या समाधान गर्नसक्ने पात्रको खोजीमा उहाँहरू हुनुहुन्छ । औषधि, पशुपन्छी होस् वा उपभोक्तालगायत ऐन नै किन नहोस्, तिनको अध्ययन गरेर व्यवसायलाई सम्बोधन गरे÷नगरेको खुट्याएर व्यवसायीको हितमा मैले नै केही गरिदेओस् भन्ने चाहना पनि व्यवसायी साथीमा पाएको छु । व्यवसायी साथीहरूको त्यही विश्वासको जगमा मैले संघको अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

कुरा गर्छन् तर काम गर्दैनन् भन्ने आरोप तपाईंहरूमाथि लागेको थाहा पाउनु भएको छ ?
विगतमा यस्तो प्रवृत्ति संघमा देखिएका थिए । तर अब यस्तो हुँदैन भनेर मैले प्रदेश एवं शाखाका सदस्यलाई विश्वस्त पारेको छु । फेरि सबैले प्रतिबद्धता पूरा नगरेका पनि होइनन् । मेरै विगत फर्किएर हेर्नुस्, जे जति प्रतिबद्धता जायर गरेको थिएँ, त्यो गरेको छु । ती काम अहिले पनि किताबको पानाजस्तै प्रष्ट छँदै छ ।

व्यवसायीले आसन्न महाधिवेशनमा यज्ञराज ढकाललाई नै किन अध्यक्षमा मतदान गर्ने ?
यज्ञराज ढकालले सबै साथीलाई समेट्छ । कसैलाई काखा, कसैलाई पाखा गर्दैन । यो व्यवसायी साथीहरूले पनि बुझ्नु भएको छ ।

ढकालजी, पशुपन्छी औषधि व्यावसायी संघको अधिवेशनबाट पाखा लाग्नुभयो भने के गर्नुहुन्छ ?
मलाई तपाईंबाट यस्तो प्रश्न आउला भन्ने लागेको थिएन । तर यो प्रश्नले तपाईं सञ्चारकर्मीमा सूचनाको अभाव रहेको देखायो । किनभने पछिल्लो पटक म नेपालभरिका व्यवसायी भेटघाटमा निस्किएको थिएँ । धेरै शाखाले मलाई सामूहिक उम्मेदवारका रूपमा उभ्याएको छ । प्रदेशहरूमा पनि कुराकानी भएको छ । प्रतिस्पर्धीभन्दा करिब–करिब ७०–७५ प्रतिशतले म अगाडि छु । त्यसैले मेरो जित सुनिश्चित छ ।