अध्यक्षका रूपमा मेरा दुई वर्ष

पशुपन्छी औषधि व्यवसायीहरुको छाता संगठनका रूपमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ अस्तित्वमा छ । संघ अहिलेको अवस्थामा सहजै आइपुगेको छैन, निकै आरोह र अवरोह छिचोलेको छ ।

४० को दशकमा भेटेरिनरी औषधि व्यवसायीको संख्या सीमित थियो । संगठित पनि भइसकेका थिएनन् । जब ०४६ को जनआन्दोलनले राजनीतिक परिवर्तन भयो त्यसपछि सबै क्षेत्रका व्यवसायीहरू संगठित हुने क्रम सुरु भयो । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ पनि यही सेरोफेरोमा ०४७ पुस २४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको थियो ।
संघ स्थापनाको उद्देश्य थियो, व्यवसायी हक/हितको रक्षा गर्नु । सँगै किसानको भलाइ र देश विकास त जोडिएको थियो नै । संघले स्थापनादेखि नै व्यवसायीको हक/हितमा काम गरिरहेको छ । संगठनको सञ्जाल पनि विस्तार भएको छ । सात प्रदेश र २२ जिल्लामा अहिले हाम्रा शाखा छन् । औषधि व्यवस्था विभागमा दर्ता भई पसल सञ्चालन गरी संघमा आबद्ध सदस्य संख्या १९०४ छ । नेपालमा हाल करिब १९ वटा स्वदेशी कम्पनीले भेटेरिनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरू उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेका छन् भने करिव १३५ आयातकर्ता फर्महरुले औषधि भ्याक्सिन तथा फिड सप्लिमेन्टसहरू आयात गरी बिक्री वितरण गर्दै आइरहेका छन् ।

आजको भेटेरिनरी औषधि तथा औषधिजन्य पदार्थहरूको बजार वार्षिक करिब ११ अर्ब हाराहारीमा छ । हामी मासु र अण्डामा आत्मनिर्भर भइसकेका छौं । देशको अधिकांश क्षेत्र दुग्धजन्य पदार्थमा आत्मनिर्भर छ । यो व्यवसायले करिब २ लाख ५० हजार मानिसहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । पशुपन्छी औषधिको कुल मागमध्ये करीव २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी ८० प्रतिशत औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्ट्स विदेश बाट आयात हुने गरेको छ।

संघमा लामो समयदेखि क्रियाशील रहेर व्यवसायीको हक-हितका निम्ति काम गरेकाले साथीहरूले विश्वास गरेर मलाई अध्यक्षको जिम्मेवारी दिनुभयो । दुर्भाग्य म अध्यक्षमा निर्वाचित भएको केही समयमा नै विश्व ब्यापी रुपमा फैलिएको कोभिड-१९ भाइरसको चपेटामा पर्‍यो । यो क्रम लामो समयसम्म चलेकाले मेरो कार्यकालको कार्यसमितिले चाहेर पनि धेरै काम गर्न सकिएन । तथापि, हामीले प्रतिकूलताका बीचमा पनि व्यवसायी हक/हितका कामलाई जारी राख्यौं ।
व्यवसायी साथीहरूका अनेक समस्या छन् । तिनको समाधानको प्रयास हामीले निरन्तर जारी राखिरह्यौं । केन्द्रीय कार्यसमिति, पूर्व अध्यक्ष,सल्लाहकार, प्रदेश तथा शाखाका व्यवसायी प्रतिनिधिसमेत सहभागी भई व्यावसायिक हक/हितका लागि मन्त्रालय, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग तथा भन्सार विभागलगायत सम्बन्धित निकायहरूमा डेलिकेशन गएर झक्झकाउने काम गरिरह्यौं ।

विगत लामो समयदेखि रोकिएको पशु औषधि व्यवसायी तालिम स्वीकृत भएको छ । व्यवसायी अशक्त भएमा वा मृत्यु भएमा एकाघरका एकजनालाई तालिमका आधारमा व्यवसाय सञ्चालन गर्न दिने निणर्य गराउनसमेत हामी आफ्नै कार्यकालमा सफल भएका छौं । यसका लागि हामी औषधि व्यवस्था विभाग र पशु सेवा विभागलाई धन्यवाद दिन चाहन्छौं।
भन्सार विभागद्वारा आयोजित राष्ट्रिय एकद्वार प्रणालीसम्बन्धी तालिममा आयातकर्ता व्यवसायी साथीहरूलाई सहभागी गराइयो । यो प्रणाली लागू भएपश्चात यथाशीघ्र अनलाइनमार्फत आवेदन दिई सिफारिस पत्र प्राप्त गर्ने व्यवस्था भएको छ । यसबाट दूरदराजका आयातकर्ता व्यवसायीहरूलाई लाभ मिलेको छ ।

भेटेरिनरी सेवा अत्यावश्यकीयमा थिएन । यही कारण कोभिड-१९ महामारीको प्रारम्भिक दिनमा असहजता भए । संघलगायत सरोकारवालाहरूको पहलकदमीमा भेटेरिनरी सेवालाई अत्यावश्यकीय सेवा ऐन, २०१४ मा सूचीकृत गराउन हामी सफल भयौं । जसका कारण महामारीको समयमा भेटेरिनरी क्षेत्र चलायमान नै पायौं।
पसल दर्ता प्रमाणपत्र नवीकरणका समस्यामा कतिपय व्यवसायी हुनुहुन्थ्यो । औषधि व्यवस्था विभाग र पशु सेवा विभागसँग गहन छलफल गरी अधिकांश व्यवसायीहरूको समस्या समाधान गरिएको छ । भन्सार विभागद्वारा पशुपन्छी आयात गरिसकेको फिड सप्लिमेन्टमा भ्याट लाग्छ भनी वर्षौंदेखिको आयातमा भन्सार महसुल बेरुजुको समस्या बेहोर्नु परेकोमा संघकै पहलमा अधिकांश व्यवसायीहरुको समस्या समाधान भएको छ ।

औषधि व्यवस्था विभागसँग समन्वय गरी अत्यावश्यकीय भेटेरिनरी औषधि कम्पनी तथा उत्पादन दर्ता गराउन उच्च प्राथमिकतामा राखी कार्यान्वयन हुने सहमति भएको छ । विभाग तथा मन्त्रालयमा पशु औषधि ऐन निर्माण र पारित गराउन विभिन्न बैठकहरुमा सहभागी भई सुझावहरू दिएका छौं । आशा छ, आगामी दिनमा हाम्रो चासोलाई सम्बोधन गरिनेछ ।
केही व्यवसायीहरूको आवश्यक कागजपत्र पूरा गर्दागर्दै पनि पसल दर्ता प्रमाणपत्र नवीकरण गरिएको थिएन । संघका पदाधिकारी तथा सदस्यको पहलकदमीमा त्यस्ता पसल नवीकरण गरिएको छ ।

नेपाल राष्ट्र बैकले फिड सप्लिमेन्ट आयात गर्न प्रयोग हुने हार्मोनिक कोड २३ अन्तर्गतका वस्तुहरु आयात गर्न शत् प्रतिशत मार्जिनमा प्रतीतपत्र खोल्न पाइने नियम ल्यायो । यो नियम आयातमैत्री थिएन । त्यसैले यस नेपाल पशुपंछी औषधी ब्यवसायी संघ र पशुपन्छी औषधि पैठारीकर्ता संघले यसमा आपत्ति जनायो । संयुक्त रूपमा डेलिकेसन गयौं । उपमहानिर्देशक डा. लेखराज दाहाललगायतको अग्रसरतामा हाम्रो चासो सम्बोधन गरियो ।

संघलाई प्रविधिमैत्री बनाउने काम पनि मेरो कार्यकालमा भयो । हामीले संघको नयाँ वेवसाइट बनाएका छौं जसबाट नयाँ सदस्यता, सदस्यता नवीकरण, व्यवसायी तालिमका लागि अनलाइन आवेदन दिन सकिनेछ । साथै प्रदेश तथा जिल्ला शाखाका गतिविधिहरू छुट्टाछट्टै देखिने गरी राख्न सकिने व्यवस्था छ । कार्यालय भवन बनाउन ठूलो धनराशी आवश्यक हुन्छ । त्यसैले नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गर्न लागेको भवनमा कार्यालय स्थापनाका लागि ठाउँ उपलब्ध गराउन पत्राचार गरेका छौं । संघ मात्रै होइन, अन्तर्गतका शाखाले पनि व्यवसायी र समाजको हितका लागि गतिविधि गरिरहेका छन् । वाग्मती प्रदेश शाखाले भेकडान छात्रवृत्ति स्थापना गरेको छ । काभ्रे पूर्व शाखाले मेलम्चीको बाढीबाट प्रभावित भेटेरिनरी व्यवयासीको उत्थानका लागि सहयोग गर्‍यो । व्यवसायी हितका लागि हामीले यीबाहेक अन्य कैयन् काम गरेका छौं । यो कार्यमा हामीलाई साथ, सहयोग गर्ने सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।