२० करोड लगानीमा गोसाइँकुण्ड प्यालेट फिड

काठमाडौंँको हात्तीगौँडा स्थायी घर भएका विनोद केसी पछिल्लो समय पोल्ट्री क्षेत्रमा सफल व्यवसायिका रुपमा कहलिन्छन् । उनको काठमाडौंमा बुढानीलकण्ठ मास (धुलो) दाना फिड र निलकण्ठ ह्याचरी उद्योग सञ्चालनमा छन् । वि.सं. २०४६ सालको राजनीतिक व्यवस्था परिवर्तका लागि भएको आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनीसँग धेरथोर राजनैतिक ज्ञान पनि छ । विगतमा कुनै एउटा राजनीतिक दलको क्रियाशील सदस्यता लिएरसमेत काम गरेका उनले वैवाहिक जीवनमा बाँधिएपछि भने राजनीतिक क्षेत्रलाई चटक्कै छोडेका हुन् । बिहेमा टीका लगाएको १ हजार ७ सय रुपैयाँबाट कुखुरा पालन सुरु गरेका उनले अहिले चितवनमा करिब २० करोड रुपैयाँ लगानी गरेर गोसाइँकुण्ड प्यालेट फिड दाना उद्योग सञ्चालनमा ल्याउँदै छन् । सोही उद्योग र आगामी योजनाबारे भेट टाइम्सेले केसीसँग गरेको कुराकानीको सारांश ः

तपाइँको दाना उद्योग कहिलेदेखि सञ्चालनमा आँउछ र चितवनको कुन ठाँउमा छ ?
मैले सञ्चालनमा ल्याउन लागेको गोसाइँकुण्ड प्यालेट फिड चितवनको खैरेनी नगरपालिका वडा नम्बर ४ चैनपुरमा रहेको छ । आगमी वैशाखदेखि उद्योगलाई सञ्चालनमा ल्याउने तयारीमा छु । सोही अनुरुपा तिव्र गतिमा काम पनि भइहेको छ ।

दैनिक कति टन दाना उत्पादन गर्ने लक्ष्य लिनुभएको छ ?
प्रति घण्टा दश टन दाना उत्पादन गर्ने क्षमताको प्लान्ट स्थाना गर्न लागेको छु । दुई सिफ्ट गर्दा दैनिक २ सय टनसम्म दाना उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।  भारतबाट दाना उत्पादन गर्ने मेसिन ल्याएका छौं ।

उद्योगमा कति लागनी गर्नु भएको छ ?
उद्योग तीन बिगाहा जग्गामा फैलिएको छ । मैले जग्गा २०७० सालमा नै किनेको थिए । अहिले यहाँ जग्गा प्रति कठ्ठा २५ देखि ३० लाख सम्म भन्छन् । मैले जग्गा बाहेक उद्योगमा मात्रै नौ करोडको खर्च हुने अनुमान गरेको छु । दाना उत्पादन गर्ने मेसिनमा मात्रै साढे ५ करोड रुपैयाँ लाग्ने भएको छ । त्यस्तै भौतिक संरचना निर्माणको लागि साढे ३ करोड लाग्ने अन्ुमान छ । कच्चा पदार्थलगायत अन्य सामग्रीमा झण्डै ११ करोड लगानी हुने भएकाले समग्रमा जग्गाबाहेक करिब २० करोड रुपैयाँ लगानी हुने देखिन्छ ।

उद्योग निर्माण कुन चरणमा छ ?
वैशाखमा दाना उत्पादन गरेर बजारमा लैजाने सोच बनाएकाले अहिले उद्योग निर्माणको काम तिव्र गतिमा भइरहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा पुगेको छ भन्नुपर्छ ।

यहाँको उद्योगले उत्पादन गर्ने दानको बजार कहाँ हो ?
हामीले उत्पादन गरेका दाना विदेशबाहेक देशका सबै कुनामा पुर्याउने लक्ष्यका साथअघि बढिरहेका छौँ । नेपाल अधिराज्यभरि पुग्छ र पुर्याउँछौं पनि ।

उद्योगमा अन्य व्यक्तिको लगानी छ कि छैन ?
अहिले म मात्रै छु । सबै मेलै आफैँ लगानी गरेको छु ।

यसै क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
म पहिलेदेखि नै यसै क्षेत्रमा आवद्ध भएकाले पनि मैले यो क्षेत्रमा लगानी गरेको हुँ । विवाहमा टिका लगाएको जम्मा भएको १७ सय रुपैयाँले वि.सं. २०४७ सालमा एक सय ब्रोइलर कुखुरा पालेर अहिलेको अवस्थामा पुगेको हुँ । त्यसपछि २०५६ सालमा काठमाडौँको बुढानिलकण्ठमा, बुढानिलकण्ठ मास फिड उद्योग सञ्चालन गरेँ । त्यस्तै २०६७ सालमा काठमाडौंको हात्तीगौँडामा निलकण्ठ ह्याचरी उद्योग सञ्चालनमा ल्याएको हुँ । यी उद्योग अहिले पनि सञ्चालनमा छन् । त्यसपछि २०७२ सालमा नुवाकोटमा पाँचजना साथीसँग सहकार्य गरेर मैलै आफ्नै अग्रसरतामा नेपाल प्यालेट फिड सञ्चालनमा ल्याएको थिएँ । त्यसको उत्पादन कम भएका कारण उक्त कम्पनीलाई साथीहरुको सरसल्लाह लिएर उनीहरुलाई नै जिम्मा दिएँ । अहिले यो दाना उद्योग सञ्चालन गर्ने तयारीमा छु । काठमाडौँमा रहेको ह्याचरी उद्यागेमा ब्रोइलर प्यारेन्ट कुखुरा मात्र उत्पादन गर्छु । र दाना उद्योगबाट प्यारेन्टलाई आवश्यक पर्ने मास दाना उत्पादन गर्छु । आगामी दिनमा पनि यी उद्योग व्यवसायलाई नै विस्तार गर्दै जाने योजनामा छु ।