सिंहदरवारमा बसेर नुवाकोटमा भेटेरिनरी प्रमाणपत्र : ढुवानी मापदण्डको भएन पालना

काठमाडौं । नुवाकोटको पाण्डे कृषि फर्मले ९ सय ब्रोइलर कुखुरासहित काठमाडौंका लागि पठाएको प्रदेश ३–००१ क–६४९० नम्बरको आइचर गाडी ३० माघमा पशु क्वारेन्टाइन कार्यालय थानकोट चेकपोष्टले नियन्त्रणमा लियो । पशु सेवा ऐन २०५५, नियमावली २०५६ र पशुपन्छी ढुवानी मापदण्ड २०६४ विपरीत भेटेरिनरी प्रमाण पत्रमा पन्छीको संख्या उल्लेख नभएको भन्दै न्युनतम ५ सय रुपैयाँ जरिवाना गरेर छाडियो । तर, भेट टाइम्सको खोजविनले उक्त भेटेरिनरी प्रमाणपत्र नै मापदण्डविपरीत तयार पारेको पाइएको छ ।

पाण्डे कृषि फर्मले उक्त ब्रोइलर कुखुरा काठमाडौं पठाउन भेटेरिनरी डा. चन्द्र बिक्रम कुँवरले जारी गरेको भेटेरिनरी प्रमाणपत्र प्रयोग गरेको छ । भेटेरिनरी प्रमाणपत्र जारी गर्ने डा. कुँवर भने नुवाकोटमा नभई काठमाडौं सिंहदरबारभित्र रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत छन् । प्रमाणपत्र जारी गर्दा उनी नुवाकोटको पाण्डे कृषि फर्ममा थिएनन् । पाण्डे कृषि फार्मले पनि यो विषय स्वीकार गरेको छ ।

‘उहाँहरुको माछा फार्म हेर्न बोलाउनु भएकोले शुक्रबार गएको थिएँ,’ डा. कुँवरले भने, ‘मैले फार्मका कुखुरा पनि हेरिसकेको हुनाले उहाँहरुले नै खाली प्रमाणपत्रमा विवरण भेरेर शनिबार काठमाडौं पठाउनु भएको रहेछ ।’ खासमा डा. कुँवरले छापसहित हस्ताक्षर गरेको भेटेरिनरी प्रमाणपत्रको ठेली नै पाण्डे कृषि फर्मलाई जिम्मा लगाएका रहेछन् ।

उक्त फार्मले कुखुरा पठाउने बेला डा. कुँवरको हस्ताक्षर रहेको प्रमाणपत्रमा विवरण भर्ने र पठाउने गरेको स्वीकार गरे । ‘भेटेरिनरी प्रमाणपत्रको ५/६ वटा प्रति डा. कुँवरले हामीलाई हस्ताक्षर गरेर दिनुभएको थियो,’ नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का फार्म सञ्चालकले भने, ‘हजार बाह्र सय कुखुरा पाल्नेले सँधै डा. राखेर साध्य हुँदैन । मैले नै उक्त प्रमाणपत्रमा विवरण भरेको हुँ । विवरण भर्दा कुखुराको संख्या लेख्न मात्र छुटेको हो ।’

जबकी, पशु ढुवानी मापदण्ड २०६४ ले सम्बन्धित स्थानमा रहेको पशु चिकित्सकले आफ्नै उपस्थितिमा ढुवानी गरिने पशुपन्छीको स्वास्थ्य जाँच गरेर स्वस्थ पशुपन्छी मात्र ढुवानीका लागि प्रमाणपत्र दिनु पर्ने व्यवस्था गरेको छ । प्रमाणपत्र जारी भएको २४ घण्टाभित्र मात्र ढुवानी गर्नुपर्ने व्यवस्था छ । र, यस्तो प्रमाणपत्र दिने अधिकार भेटेरीनरी काउन्सिलमा दर्ता भएका दर्तावाल पशुचिकित्सकलाई मात्रै हुन्छ ।

सरकारी लेटर हेडकै दुरुपयोग

बर्दियाली एग्रो सप्लायर्स नेपालगञ्ज–१० बाँकेले साइमा सप्लायर्स जोसीपुर कैलालीका लागि १ हजार २ सय ४० केजी प्रयास माछा पठाउन क्वारेन्टाइन कार्यालय बाँके मै कार्यरत पशु स्वास्थ्य प्राविधिक राम लोचन साहले स्वास्थ्य प्रमाण पत्र बनाइ दिए । माघ ३ गते बनाइएको उक्त स्वास्थ्य प ्रमाणपत्रका आधारमा माछा ढुवानी पनि भयो । तर, यो मापदण्ड विपरीत रहेको देखिएको छ । दर्तावाल भेटेरीनरी डाक्टर बाहेक अरुले भेटेरिनरी प्रमाणपत्र बनाउन मिल्दैन ।

त्यस्तै, क्वारेन्टाइन कार्यालयले भेटेरिनरी प्रमाणपत्र बनाउने होइन । उत्पादन स्थलममै गएर स्वास्थ्य परीक्षण गरे पछि मात्र यस्तो प्रमाण पत्र भेटेरिनरी डाक्टरले जारी गर्नुपर्ने व्यवस्था विपरीत उक्त प्रमाणपत्र जारी भएको पाइएको छ । बर्दियाली एग्रो सप्लायर्सका सञ्चालक अर्जुन रिजालले समेत कानुनअनुसार नमिल्ने गरी भेटेरिनरी प्रमाणपत्र जारी भएको स्वीकार गरेका छन् । तर, क्वारेन्टाइन प्रमुख राम लोचन साहले भने आफू अधिकृत तहको पशु चिकित्सक र क्वारेन्टाइन प्रमुख भएकोले उक्त स्वास्थ्य प्रमाणपत्र जारी गर्न पाउने दाबी गरेका छन् ।

‘क्वारेन्टाइन कार्यालय बाँकेमा कार्यरत प्राविधिक राम लोचन साह सरले हुन्छ भनेर क्वारेन्टाइनकै लेटर हेडमा स्वास्थ्य प्रमाणपत्र बनाइदिनु भयो,’ उनले भने, ‘भर्खरै व्यवसाय सुरु गरेकोले थाहा भएन । पछि यो कानुनअनुसार गर्न पाइँदैन भन्ने थाहा पाए पछि ढुवानी मापदण्ड २०६४ कै व्यवस्था अनुसार पहेँलो कागजमा डा. भक्त न्युरे सरले प्रमाणपत्र जारीगर्नु भएको छ ।’

जनक रावल, (अध्यक्ष, नेपाल पशु स्वास्थ्य प्राविधक संघ)

पेशागत मर्यादामा आँच

नेपाल पशु स्वास्थ्य प्राविधिक संघ नेल्टाका अध्यक्ष जनक रावलले भेटेरीनरी प्रमाणपत्र जारी गर्ने र पशुपन्छी ढुवानी गर्ने कार्यमा चरम लापरवाही भएको बताए । ‘काठमाडौंको भेटेरिनरी डाक्टरले चितवनको फार्मका कुखुरा ढुवानीका लागि भेटेरीनरी प्रमाणमा पत्रमा सही छाप गरेर दिन्छ,’ उनले भने, ‘ढुवानीको साधान कुन हो, त्यो साधन ढुवानी मापदण्डबमोजिम छ कि छैन, ढुवानी गर्ने संख्या र परिमाण कति हो भन्ने विवरण पनि उल्लेख नगरी ढुवानी भइरहेको छ ।’

पेशागत मर्यादा कायम राखाैं 

एक ठाउँमा कार्यरत डाक्टरले अर्को ठाउँमा गएर भेटेरिनरी प्रमाणपत्र जारी गर्न नपाउने नियम नभएको नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष डा. शीतल काजी श्रेष्ठले बताए । ‘काठमाडौंमा बसेको डाक्टरले धनगढी गएर त्यहाँको कुखुरा फार्मका कुखुराको स्वास्थ्य जाँच गरेर भेटेरिनरी प्रमाणपत्र जारी गर्न पाउँछ,’ उनले भने, ‘तर, काठमाडौंको डाक्टरले काठमाडौंकै कुनै फार्मको कुखुरा फार्ममै गएर नहेरी स्वास्थ्य जाँच नगरी प्रमाणपत्र जारी गर्न पाउँदैन ।’

डा. शीतल काजी श्रेष्ठ (अध्यक्ष, नेपाल भेटेरिनरी एशाेसिएशन)

डा. कहाँ कार्यरत रहेको वा बसेको छ भन्ने भन्दा पनि उसले पशुपन्छीको स्वास्थ्य जाँच गरेर मात्रै प्रमाण पत्र जारी गरेको छ कि छैन भन्ने महत्वपूर्ण भएको उनले बताए । आचार संहिताविपरीत प्रमाण पत्र जारी गर्ने, पेशागत मर्यादाभन्दा बाहिर जान खोज्नेलाई एशोसिएशनले पनि सोधपुछ गर्ने र सुधार्न प्रयास गर्ने उनले बताए । ‘गैरकानुनी काम नै भएको हो भने त्यसमा कारवाही गर्ने अधिकारी भेटेरनरी काउन्सिललाई छ,’ उने भने, ‘हामीले भेटेरीनरी डाक्टर हरुको पेशागत मर्यादा कायम राख्ने प्रयास गर्ने मात्रै हो ।’

दर्ता खारेजीसम्मको कारवाही हुने व्यवस्था

डा. नरायण प्रसाद घिमिरे (रजिष्ट्रार, भेटेरिनरी काउन्सिल)

भेटेरिनरी काउन्सिलका रजिष्ट्रार डा. नारायण प्रसाद घिमिरेले पशुपन्छीको स्वास्थ्य जाँच र संख्या नै एकीन नगरी प्रमाणपत्र जारी गर्नु गलत र गैरकानुनी भएको बताए । ‘काउन्सिलको आचारसंहिता र मापदण्डविपरीत एक ठाउँमा बसेर अर्को ठाउँबाट भेटेरिनरी प्रमाणपत्र जारी गरेको उजुरी परेको अवस्थामा छानविनपछि दोषी पाइए त्यस्ता चिकित्सकलाई कानुनअनुसार कारवाही हुन्छ,’ उनले भने, ‘दोषको प्रकृति हेरेर सचेत गराउने, जरिवाना गर्ने र काउन्सिलमा भएको दर्ता नै खारेज गर्ने सम्मको कारवाही हुन सक्छ ।’ (भेट टाइम्स मासिक पत्रिकाकाे माघ अंकबाट साभार)