धानखेतीका लागि फागुनबाटै मल आयात प्रक्रिया सुरु हुन्छ : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

‘मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं’, मन्त्री अर्यालले भनिन् । तत्कालिन समाधानको रुपमा अहिलेका लागि मल आयातको भरपर्दो व्यवस्थापन गरिएको उनले बताइन् । त्यस्तै, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालिन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अघि बढेको उनले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो । अनुमानको आधारमा नभई तथ्यगत आवश्यकताका आधारमा मलको आपूर्ति गर्ने गरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन् ।

‘मलको आपूर्ति अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ,’ उनले भनिन्,ि ‘त्यसको आधारमा प्रबन्ध गरिनेछ ।’

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताइन् । जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल बिक्रि भएको थियो ।

उनका अनुसार यस आर्थिक वर्षको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ । पछिल्ला ३ वर्षको विक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपूर्तिको लागि यही महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्री अर्यालले बताइन् ।