काठमाडौं। २०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न भागहरूमा बाढी, पहिरो, र डुबान जस्ता प्राकृतिक विपत्तिहरूले ठूलो जनधनको क्षति पुर्याएको छ। यस विनाशकारी विपद्का कारण हजारौं मानिस प्रभावित भएका छन्, जसमा पशुपन्छी र कृषकहरू पनि समावेश छन्।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय कार्यालयले सोमबार गरेको सहयोग अपिललाई समर्थन गर्दै तिलिचो ट्रेडिङ्ग प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका किसानहरूलाई राहत पुर्याउन रु १,००,००० (अक्षरुपी एक लाख रुपैयाँ) बराबरको औषधि नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बाग्मती प्रदेशमार्फत प्रदान गरेको जानकारी दिएको छ। तिलिचो समूहका प्रबन्ध निर्देशक राजेन्द्र थापा मगरले भने, “नेपाल पशुपन्छी औषधि व्यवसायी संघले हिजो जारी गरेको सहयोग अपिललाई समर्थन गर्दै यो सहयोग गरिएको हो।”
थापाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, यस औषधि सहयोगले विपत्तिमा परेका पशुपालक किसानहरूको उपचारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तिलिचो ट्रेडिङ्ग प्रा.लि. परिवारले विपद् व्यवस्थापनमा ऐक्यवद्धता जनाउँदै आगामी दिनमा पनि राहत र सहयोगका कार्यहरूमा निरन्तरता दिने बताएको छ। यसअघि, कान्तिपुर भेट समूहले पनि २० लाख रुपैयाँ बराबरको औषधि सहयोग गर्ने घोषणा गरिसकेको छ।