‘एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स’ सफल बनाउन मन्त्री अर्याल र इजरायली राजदूतबीच छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल गरिएको थियो ।

इजरायल सरकारको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालनका लागि २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालन गर्न नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ । इजरायलले पनि आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ ।

छलफलमा मन्त्री अर्यालले नेपाली कृषकलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्न सके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने अपेक्षा व्यक्त गरिन् । इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणा अनुसार ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको भन्दै आभार व्यक्त गरिने । उक्त तालिमबाट नेपाली विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपालले लिएको बताइन् ।
नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजारभन्दा बढी नेपाली इजरायलमा रहेको भन्दै मन्त्री अर्यालले इजरायल पुगेका नेपालीप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको बताइन् ।

राजदूत हानान गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन लागेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । यस कार्यक्रममार्फत नेपाली कृषकले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व बृद्धि गर्ने लक्ष्य रहेको मन्त्रकालयले राखेको छ ।