कोभिड–१९ का कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ । गत असोज÷कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो ।
यसअघि विसं २०७२ मा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ । पछिल्लो गणनापछि वर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ ।
कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ । “चैत÷वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ”, उनले भने । ढोरपाटनमा प्रायः गरी असोज÷कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ ।
विभागले हरेक पाँच–पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ । झारलको पनि अर्को वर्ष गणना हुनेछ । विसं २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए । जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो । उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए ।
सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो । तीमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन । उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ ।
नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन् । बर्सेनि असोज÷मङ्सिर र फागुन÷वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ । कोभिड–१९ का कारण यो वर्षको पहिलो शिकार याम (असोज–मङ्सिर) मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताए । विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिएका हुन् ।
अघिल्लो वर्षको दोस्रो शिकार याममा भने बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन । शिकार हुन नसक्दा राजस्व पनि गुम्यो । सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् । शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ । सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ ।
यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ । प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ । सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष क्षेत्र १३२५ वर्ग किमिमा फैलिएको छ ।
वैधानिक शिकारका लागि ढोरपाटन विश्वमै प्रख्यात गन्तव्य मानिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन् । एक जना शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन् । दुई वर्षअघि एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजार तिर्न कम्पनी तयार भएका थिए । बर्सेनि शिकारको राजश्व घटबढ हुने गरेको छ ।
शिकारको माग बढ्दा कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाले शिकारको दर बढ्छ भने माग घट्दा राजस्व पनि कम उठ्छ । आउँदो फागुन–वैशाखमा यो वर्षको दोस्रो शिकार याम खुला हुनेछ ।
शिकारका लागि अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउँछन् । हेलिकप्टरमार्फत आरक्ष पुग्ने शिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बिताउन पाउँछन् । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार खेलाउँछन् ।