स्याउ नफलेपछि किसान निराश

राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०-४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष मुस्किलले एक-दुई क्विन्टल पनि फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् ।

स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा छिटपुट मात्रै फल लागेको स्थानीय किसान जितसिंह बोहराले बताए ।

गाउँपालिकाका स्याउखेती गर्ने किसान बोहराका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचामा भएको स्याउका रुखमा फल छैनन् । उनले भने, “स्याउ फुल्ने बेलामा तुषारो तथा फल लाग्ने बेला असिना परेपछि राम्रो उत्पादन भएन ।”

स्याउ बिक्री गरेर गुजारा चलाउने बोहरा यस वर्ष उत्पादनमा कमी आएकाले चिन्तित हुनुहुन्छ । उनका अनुसार, ‘‘विगतमा छाङ्गरुको स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गथ्र्यौं, यो पटक आफूलाई खान पनि पुगेन ।

उनकाे बारीमा यो वर्ष जम्मा २५० बोटमा मात्रै केही स्याउ फलेको छ । केही समयअघि परेको असिनापानीले पनि नोक्सान भएको उनले बताए । यो वर्ष १०-१२ क्विन्टल स्याउ उत्पादन हुने आशा गरेका उनकाे बारीमा यस वर्ष दुई क्विन्टल हाराहारीमा मात्र स्याउ फलेको छ ।

जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउखेती हुने गर्दछ । यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ ।