लाइभस्टक सेक्टर इनोभेसन आयोजनामा नतिजा देखिने गरी काम गर्छु : डा. उमेश दाहाल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको निर्देशक पदमा डा. उमेश दाहाललाई सरुवा गरेर पठाएको छ । राष्ट्रिय खोप अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा कार्यरत डा. दाहाललाई मन्त्रालयले उक्त आयोजनाको निर्देशक बनाएर पठाएको हो । आयोजनाका निर्देशकका रुपमा रहेका डा. डिल्लिराम सेढाई सेवा निवृत्त भएपछि उक्त आयोजनामा दाहालाई पठाइएको हो ।

खासगरी दूध, मासु र उन(पश्मिना) उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित उक्त आयोजनाअन्तर्गतका कार्यक्रम नेपालका २८ जिल्लामा लागू गरिएको छ ।

बुधबार मात्रै कार्यभार सम्हालेका डा. दाहालले भेट खबरसँग भने– ‘दुध, मासु र पश्मिना उत्पादन बढाउने यो आयोजनाको लक्ष्य प्राप्तीमा सबै पक्षको साथ र सहयोग लिँदै अघि बढ्ने छु ।’ उनले आयोजनाको कार्यान्वयन अवधि आधा सकिएको, नीतिगत र योजनागत पूर्वाधारहरु निर्माण भएको भए पनि परीणाम देखिने गरी कार्यान्वयनमा गइनसकेको बताए । ‘नजिता देखिने गरी किसानको माझमा गएर कार्यक्रम कार्यान्वन गरी उत्पादन गर्न बाँकी नै छ, यसमा मेरो करिअर पनि जोडिएकोले नतिजामुखी भएर अहोरात्र खटिने छु ।’

यस कार्यक्रमले देशभरबाट कम्तिमा ५ सय कृषक व्यवसायीलाई दूध, मासु र पश्मिना उत्पादनसम्बन्धी व्यवसाय अघि बढाउन सहयोग गर्ने छ । कृषकले गर्ने उत्पादनको मूल्य निर्धारण गरी बजारको समेत व्यवस्थापन गरिदिने कार्यक्रमको लक्ष्य रहेकोले उत्पादनक, व्यसायी र उपभोक्ताको चेन निर्माण गरी कार्यक्रमलाई सफल बनाउने कार्यक्रमको लक्ष्य छ ।

यस आयोजनाअन्तर्गत अनुदानमा सहभागी हुन चाहने कृषक व्यवसायीलले २० प्रतिशत, बैंक वित्तीय संस्थाले ३० प्रतिशत र सरकारको ५० प्रतिशत अनुदान गरी एउटा पूर्ण व्यवसायीक आयोजना अघि बढाइने कार्यक्रम छ ।