न्यु होपको अवैध धन्दा : भन्सार छुटको दुरुपयोग गरी कमाउँदै मुनाफा

काठमाडौं । चितवनको भरतपुरमा रहेको न्यु होप एग्रो बिजनेस नेपाल प्रालिले भन्सार छुटमा ल्याएको दाना बनाउने कच्चा पदार्थ मुनाफाको लागि बिक्री गरिरहेको पाइएकोछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि भइरहेको लकडाउनलाई बाहाना बनाउँदै उक्त कम्पनीले भन्सार छुटमा आयात गरेकाकच्चा पदार्थ बिक्री गरिरहेको पाइएको हो । स्वदेशी दाना उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा भन्सार छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने नीतिअनुसार सरकारले दाना बनाउन आवश्यक कच्चा पदार्थमा भन्सार छुट सुविधा दिँदै आएको छ । तर, उक्त कम्पनीले भने सरकारले दिएको छुट सुविधामा आफूले दाना बनाउन आयात गरेको कच्चा पदार्थ बेचिरहेको पाइएको हो । सरकारले दिएको भन्सार छुटमा आयात गरिएका दानाका कच्चा पदार्थ नै उक्त कम्पनीले मुनाफा लिएर बिक्री गरिरहेको प्रमाण भेट टाइम्सलाई प्राप्त भएको छ ।

भन्सार छुटमा ल्याएको कच्चा पदार्थ मुनाफा राखेर सिधै बिक्री गर्न पाइँदैन । भन्सार छुटमा ल्याइएका कच्चा पदार्थबाट तयारी दाना उत्पादन गरेर मात्र बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । तर, उक्त कानुनी व्यवस्थाको विपरीत हुने गरी कम्पनीले भन्सार छुटमा आयात गरिएको कच्चा पदार्थ सिधै ट्रेडर्सलाई बिक्री गरिरहेको पुष्टि भएको हो ।

न्यु होप एग्रो बिजनेस नेपाल प्रालि चीनको मुख्य दाना उत्पादक कम्पनीहरुको सूचीमा रहेको न्यु होप ग्रुपको सब्सिडरी (सहायक) कम्पनी हो । उक्त कम्पनीले दाना बनाउन प्रयोग हुने कच्चा पदार्थहरु लाइसिन, क्लोराइन क्लोराइड, डिएलम, डिसिपीलगायत औषधिजन्य कच्चा पदार्थ बिक्री वितरण गरिरहेको सूचना भेट टाइम्सलाई प्राप्त भएको थियो । प्राप्त सूचनाको पुष्टि गर्न भेट टाइम्स प्रतिनिधिले आफूलाई केही कच्चा पदार्थ आवश्यक परेकोले उपलब्ध गराउन सक्ने/नसक्ने यकिन गर्नका लागि कम्पनी प्रतिनिधि सृष्टि सिंह तिमल्सिनालाई मोबाइलमा सम्पर्क गरी ती कच्चा पदार्थ  बिक्री वितरण भइरहेको छ ? भनेर जिज्ञासा राखेका थिए । जवाफमा कम्पनी प्रतिनिधि तिमल्सिनाले सहजै ती कच्चा पदार्थ बिक्री वितरण भएको स्विकार्दै आवश्यक परे उपलब्ध गराउने बताइन् । उनले आफ्नो भाइबरको सम्पर्क नम्बर दिँदै भाइबरमै संवाद गर्न आग्रह गरिन् । भेट टाइम्स प्रतिनिधिले ती समानाको मूल्यबारे जिज्ञासा राख्दा उनले सामानको रेट मिलाउने बताउँदै पैसा भने पहिल्यै चाहिने अडान राखिन् । उनले भनिन्, ‘सामानको रेट मिलाउँला सर, हजुर पैसा नगदै बोकेर आउनुस् ।’

उनले नगदको प्रस्ताव राखेपछि हामीले नगद दिन नसक्ने बरु कम्पनीको इन्भ्वाइस पाएको खण्डमा एकाउन्ट पेइ चेक बनाउन सकिने बताईयो । न्यु होप प्रतिनिधिका अनुसार दैनिक लाखौंको सामान अग्रीम रकम लिई बिक्री गरिरहेको स्वीकारिन् । खरिदकर्ताको रुपमा प्रस्तुत भएका भेट टाइम्स प्रतिनिधिले पैसा तिरिसकेपछि बिल दिने के ग्यारेन्टी छ ? भनेर अविश्वास प्रस्तुत गरेपछि उनले संवाद भइरहेको भाइबरबाट नभई सिधै मोबाइलमा सम्पर्क गरिन् । करिब ५ मिनेट लामो टेलिफोन संवादमा उनले आफ्नो कम्पनीले उक्त सामान बेच्न नमिल्ने तर गोप्य रुपमा सप्लाई गरिरहेको हुँदा विश्वास गर्न आग्रह गरिन् ।

यसरी सुरु भयो संवाद

लाइसिन, क्लोरिन क्लोराइड, डिएलम, डिसिपीलगायतका दानाका औषधिजन्य कच्चा पदार्थ उद्योगीले आफ्ना लागि भन्दै भन्सार छुटमा आयात गरेर धमाधम बिक्री गरिरहेको हँुदा कानुनी व्यावस्था बुझिदिन भेट टाइम्सलाई सूचना प्रदान गर्ने समाचार सूत्रले आग्रह गरेका थिए । सोही अनुरोधका आधारमा भेट टाइम्स प्रतिनिधिले पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्मासँग समेत जानकारी मागेकोमा उनले उद्योगीले यस्तो गर्नै नमिल्ने बताएका थिए । अर्कोतर्फ उक्त कम्पनीले जारी गरेको थप विलविजकसहितको प्रमाण संकलनमा समेत भेट टाइम्सका समाचार प्रतिनिधिहरु लागि परिरहेका थिए । भेट टाइम्सको समाचार प्रतिनिधि टोली पशु सेवा विभागको प्रांगणमै रहेका बेलासमेत न्यु होप प्रतिनिधिले लगातार टेलिफोनमा सम्पर्क गरी चाँडो कच्चा पदार्थ अर्डर गर्न आग्रह गरिरहेकी थिइन् । त्यसपछि पनि भेट टाइम्स प्रतिनिधिले बिल बिना कुनै हालत पैसा दिन नसकिने अडान दोहो¥याएका थिए । त्यसपछि भने न्यु होपकी ती प्रतिनिधिले आफूले अन्य सप्लायर्सलाई उपलब्ध गराएका करिब ३० लाख रुपैयाँ बराबरका बिल बिजक फोटो खिचेर भाइबरमा पठाएकी थिइन् । सोही आधारमा उनले पैसा तिरिसकेपछि यस्तै बिल जारी हुने हुदाँ चाँडै अर्डर दिन आग्रह गरिन् । उनैको आग्रहबमोजिम भेट टाइम्स समाचार प्रतिनिधिको टोलीले लाइसिन, क्लोराइन क्लोराइड, डिएलम, डिसिपीको परिमाणसमेत खुलाएर अर्डर पठाई इन्भ्वाइस जारी गर्न आग्रह गरेको थियो । राजस्व छलीको डरलाग्दो रुप राजस्व अनुसन्धान विभागका अधिकारीका अनुसार प्रत्यक्ष वैदेशिक लगानीका नाममा नेपाल भित्रिएका यस्ता कम्पनीले राज्यको कानुन पालनामा उदासिनता देखउँदै आएका छन् । सम्पूर्ण कानुनी दायरा उल्लंघन गरी जसरी पनि अनुचित मुनाफा आफ्नो मुलुकमा भित्र्याउने कोसिस गरिरहन्छन् । ती अधिकारी भन्छन्, ‘न्यु होप होस् या जो कोही होस्, कानुनी दायराभित्र रहेर व्यवसाय नगर्नेमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्छ ।’

समाचार रोक्न न्यु होपद्वारा काउन्सिललाई पत्र 

भेट टाइम्सले यस विषयमा लामो अनुसन्धान गरी सम्पूर्ण प्रमाण जुटाएर समाचार प्रकाशनको तयारी गरिरहँदा उक्त समाचार रोकिदिन आग्रह गर्दै न्यु होप एग्रो विजनेश नेपाल प्रालीले प्रेस काउन्सिललाई पत्र पठाएको थियो । उक्त पत्रसमेत भेट टाइम्ससँग सुरक्षित छ । कानुन विपरीत दानाका उक्त औषधिजन्य कच्चा पदार्थ बिक्री गरेको उक्त पत्रमा कम्पनीले स्वीकारसमेत गरेको छ ।

पत्रमा भनिएको छ, ‘लकडाउनका कारण धेरै दाना उद्योगहरूले कच्चा पदार्थको अभाव सामना गरिरहेको परिस्थितिमा केही कच्चा पदार्थ व्यापारी र दाना उद्योगीले हामीबाट कच्चा पदार्थ खरिद गर्न सहयोगका लागि अनुरोध आएको थियो । नेपाल फिड उद्योगको विकासलाई बढावा दिन र नेपाल–चीन अर्थतन्त्रको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले हामीले उनीहरुलाई कच्चा पदार्थ बेचेको हो ।’ खोज र तथ्य संकलन गरी सम्पूर्ण प्रमाणसहित भेट टाइम्सले समाचार पुष्टि गरी प्रकाशन गर्ने तयारी गर्दैगर्दा प्रेस काउन्सिलले भेट टाइम्सलाई लिखित स्पष्टीकरण सोधेर पत्र पठाएको थियो । जबकी, प्रकाशित नै नभएको विषय वा पुष्टि गर्ने क्रममै रहेको सूचना वा समाचारको विषयलाई लिएर लिखित स्पष्टिकरण सोधिएको काउन्सिलकै इतिहासमा यो पहिलो घटना हो ।

आर्थिक प्रलोभन

समाचार पुष्टि गर्ने क्रममै रहेको भेट टाइम्स प्रतिनिधिलाई समाचार बाहिर नल्याउन आर्थिक प्रलोभनसमेत देखाइएको थियो । न्यू होप एग्रो विजनेस कम्पनीका प्रतिनिधिको रुपमा आफ्नो परिचय दिँदै आफूलाई एक लजिष्टिक व्यापारी बताउने सुनित वैद्यले भेट टाइम्सका समाचार प्रतिनिधिलाई भेटेर पैसा लिएर समाचार रोक्न आग्रहसमेत गरेका थिए । सुनितले आफू कम्पनीको प्रतिनिधिसमेत रहेको र कम्पनीले गैरकानुनी काम गरेको भए पनि उक्त विषयको समाचार प्रकाशन नगरिदिन आग्रह गरेका थिए । उनले भने, ‘कम्पनीका चाइनिजहरु डराएका छन्, मलाई फोन गरेर समाचार रोक्न लगाउन भनिरहेका छन् ।’ भेट टाइम्सले यो समाचार रोकिदिए न्यु होपले ‘राम्रो रकम’ दिने र उक्त रकमको ५० प्रतिशत आफूलाई चाहिनेसमेत उनले बताएका थिए ।

के भन्छन् सरोकारवाला ?

डा. उमेश दाहाल

प्रमुख, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वर

भन्सार छुट लिएको कच्चा पदार्थ महँगोमा बेच्दा सरकार र किसान दुवै मारमा पर्छन् । सबैको आआफ्नै व्यवसायिक अनुशासन र मर्यादा हुन्छन् । नियम र कानुन हुन्छन् । त्यसको पालना गर्दै असल व्यावसायिक अभ्यास सबैले अपनाउन सक्नुपर्छ । कच्चा पदार्थ ल्याएर विक्री गर्न पाइन्छ । तर, ट्रेड्रिब कम्पनीका रुपमा दर्ता भएर सरकारले तोकेको भन्सार तिरेर ल्याएको कच्चा पदार्थ बिक्री गर्न पाइन्छ । दाना उत्पादक कम्पनीका रूपमा दर्ता हुने अनि आफूले उत्पादन गर्ने दानाका लागि भनेर भन्सार छुटमा कच्चा पदार्थ आयात गर्ने र भन्सार छुटको सामान मुनाफा लिएर किसानलाई वा अन्य कुनै व्यवसायीलाई बिक्री गर्न मिल्दैन । मैले यस विषयमा पहिलेदेखि नै आवाज उठाउँदै आएको छु ।

रविन पुरी

अध्यक्ष, नेपाल दाना उत्पादक संघ

भन्सार छुटमा कच्चा पदार्थ ल्याउने, महँगोमा बेच्ने, अरु दाना बनाउने कम्पनीलाई बेच्ने हो भने दाना खरिदकर्ता किसान र सरकार दुवै ठगिन्छन् । त्यस्तो गर्नु भएन भन्ने मेरो भनाइ हो । एउटा प्रयोजनको सुविधा लिएर ल्याएको कच्चा पदार्थ अर्को प्रयोजनमा लगाउनु भएन मकै र भटमासको पिनाको भन्सार महसुल दर सबैलाई एकै छ । मकैमा ७ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशत पर्छ । ट्रेडर र दाना उत्पादक दुवैलाई यसमा एउटै दर छ । तर, दानामा मिसाउन फिड सप्लिमेन्ट (दाना परिपुरक) औषधिहरू आयातमा चाहिँ दाना उत्पादकलाई १ प्रतिशत र ट्रेडरलाई १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था छ । त्यसो हुँदा दाना उत्पादकका रुपमा आयात गर्ने हो भने दाना नै बनाएर बिक्री गर्नुपर्छ । नत्र ट्रेडिङ कम्पनी स्थापना गरेर ट्रेडरकै नाममा बढी भन्सार महसुल तिरेर ल्याउनुपर्ने हुन्छ । (भेट टाइम्स मासिक पत्रिकाबाट साभार)