पशु क्वारेन्टाइन बेलहीया चेकपोष्टद्वारा साउनमा मात्रै १७ हजार कुखुरा नष्ट

काठमाडौं । पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाले आर्थिक वर्ष २०७७्/७८ को साउन महिनामा मात्र १७ हजार २ सय ४४ ओटा कुखुरा नष्ट गरेको छ । ती मध्ये १६ हजार ५ सय चल्ला र ७ सय ४४ ओटा तयारी कुखुरा रहेका थिए । त्यस्तै, कुखुराको ६० केजी मासु समेत उक्त चेकेपोष्टले नष्ट गरेको छ ।

साउनको २४ दिनभित्र भारतबाट अवैध रुपमा ल्याइएका उक्त परिमाणको कुखुरा, चल्ला र मासु नष्ट गरेको पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाका क्वारेन्टाइन अधिकृत डा. शिवलाल भुसालले जानकारी दिएका हुन् ।उनका अनुसार चेक पोष्टले साउनको ३ गते १० हजार चल्ला, साउन २१ गते ४ हजार चल्ला नष्ट गरेको थियो । त्यस्तै, साउन २३ मा २ हजार ५ सय चल्ला नष्ट गरेको थियो ।

उक्त चेक पोष्टले २०७६/७७ मा १३ हजार ३ सय १ ओटा चल्ला र कुखुरा नष्ट गरेको थियो । त्यस्तै ६ सय ५५ केजी मासु, १ सय ८० ओटा अण्डा र १ सय ५० केजी मासु समेत नष्ट गरेको थियो ।अघिल्लो आर्थिक वर्षको तुलनामा साउन महिनामा मात्रै आएको कुखुरा र चल्लको परिमाण ४ हजार गोटालेभन्दा बढी भएको छ । कोभिड–१९ को संक्रमणका कारण भारतमा समेत कुखुराको खपत घटेको, सामाउनमा मासु खाने कम भएका कारण भारतमा कुखुराको मासुको खपत घटेको छ । त्यस कारण नेपालमा अवैध आयात बढेको क्वारेन्टाइन कार्यालय भैरहवाले जनाएको छ ।