दाना नपाएर छटपटाउँदै सामुदायिक पशुपन्छी : स्थानीय तहकाे बेवास्ता, पन्छिँदै केन्द्र सरकार

काठमाडौं । दाना पानी नपाएर काठमाडौं उपत्यकाकाका सामुदायिक पशुपन्छी जीवन–मरणको दोसाँधमा पुगेका छन् । साविकका दिनमा होटल, रेन्टुरेन्टबाट जुठोको रुपमा निस्कने खाद्य पदार्थ, पर्यटकहरुले दान गर्ने दाना खाएर निर्वाह गर्ने गरेका थिए । तर, लकडाउनका कारण मानवीय सबै गतिविधि ठप्प भएपछि सामुदायिक पशुपन्छीले दाना पानी पाउन सकेका छैनन् । सामुदायिक कुकुर, गाईगोरु, मन्दीर क्षेत्रका बाँदर, परेवा, शहरी क्षेत्रका पार्कहरुमा बस्ने चराचुरुङगी दाना पानी नपाएर मर्न लागेका हुन् । तर, त्यस्ता पशुपन्छीलाई दाना पानी खुवाउने जिम्मेवारी आफ्नो हो भनेर कुनै पनि निकायले काम गरेका छैनन् ।

आफ्नो स्थानीय क्षेत्रमा रहेका त्यस्ता पशुपन्छीलाई दाना पानी खुवाउनु पर्ने जिम्मेवारी कानुनले खास गरी स्थानीय तह(स्थानीय सरकार) महानगर, नगर, पालिकाहरुलाई दिएको छ । यसलाई आधार मान्ने हो भने काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिकालगायतले आआफ्ना वडा कार्यालयहरुलाई परिचालित गर्नुपर्ने हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही दिनअघि यस्ता सामुदायिक पशुपन्छीलाई खुवाउने अभियान सञ्चालन गर्ने बताएका थिए । तर, त्यो काम अझै हुन सकेको नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बताए ।

‘खास गरी सामुदायिक पशुपन्छीलाई खुवाउने दायित्व स्थानीय तहको हो,’ उनले भने, ‘तर, कुनै पनि स्थानीय तहले यसलाई गम्भीरतापूर्वक लिएका छ्रैनन् ।’ केन्द्र सरकार वा संघीय सरकारका निकायहरु भने सामुदायिक पशुपन्छीलाई खुवाउने दायित्व आफूहरुको नभएको बताउँदै आएका छन् । ‘सामुदायिक पशुपन्छीलाई खुवाउने विषयमा कुराकानी गर्न म पशु सेवा विभाग गएको थिएँ,’ अध्यक्ष डा. श्रेष्ठले भने, ‘तर, कानुनले नै सामुदायिक पशुपन्छीको हेरचाह गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको र त्यसका लागि पशु सेवा विभागसँग बजेट समेतनरहेको उहाँले बताउनु भयो ।’

स्थानीय तहले आफ्ना वडाहरुलाई राम्रोसँग परिचालन गर्ने हो भने सामुदायिक पशुपन्छीलाई खुवाउन समस्या नहुने अध्यक्ष श्रेष्ठको भनाइ छ । आफूहले एशोशिएशनका सदस्यहरुलाई आ–आफ्ना गाउँटोलमा भएका पशुपन्छीलाई आहारा खुवाउने अभियान चलाइरहेको उनले बताए । ‘हामीले पशुपन्छीको दाना पदार्थ पशु कल्याणको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई उपलब्धसमेत गराई रहेका छौं ।

पशु कल्याणकारी संस्थाहरु सामुदायिक पशुपन्छीको हेरचाहमा
पशुपती मन्दिर क्षेत्र, सिफलको जंगल, त्रिपुरेश्वरको मन्दिर क्षेत्रका करिब ७ सय बाँदरलाई दैनिक खाना खुइरहेको पशु कल्याणको क्षेत्रमा कार्यरत संस्था स्नेहाज केयरकी सञ्चालक स्नेहा श्रेष्ठले बताइन् । त्यस्तै, दैनिक ५ सय सामुदायिक कुकुरलाई खाना खुवाइरहेको उनले बताइन् ।

‘हामीले उसिनेको आलु, भिजाएको चना, फलफुल, चामल जस्ता दाना पदार्थ लगेर बाँदर, परेवा, कुकुरलाई खुवाइरहेका छौं,’ उनले भनिन्, ‘एउटा संस्थाले आपतकालिन अवस्थामा सबै सामुदायिक पशुपन्छीलाई खुवाउन सक्दैन । यसमा सरकारी निकायले नै ठोस अभियान चलाउनु पर्छ ।’

आफूहरुले लकडाउन सुरु भएको एक दिनपछिबाट दुई ओटा रुट बनाइ दाना ढुवानी र खुवाउने काम गर्दै आएको उनले बताइन् । तर, जिल्ला प्रशासन कार्यालयले नै रुट परमिट नै नदिएको उनले बताइन् ।

‘रुट परमिट लिन जाँदा हाम्रो निवेदन काठमाडौं सिडियो कार्यालयले च्यातेर फ्याँकिदियो,’ उनले भनिन् । हाल पशु कल्याणका क्षेत्रमा कार्यरत संस्थाहरुले आ–आफ्नो तरिकाले सामुदायिक पशुपन्छीलाई दाना खुवाइरहेको उनले बताइन् ।