पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी

चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी भएका छन् ।

चितवनको नारायणगढमा बुधबार सम्पन्न निर्वाचनमा आफ्नी प्रतिस्पर्धी धनकुमारी अधिकारी पाण्डेलाई परास्त गर्दै रिमाल संघको अध्यक्षमा विजयी भएका हुन् । रिमालले २९९ मत पाउँदा धनाकुमारी १९५ मतमा रोकिइन् ।

डेढ दशकदेखि औषधि पशुपन्छी क्षेत्रमा सक्रिय रिमालले आगामी दुई वर्ष संघलाई नेतृत्व प्रदान गर्नेछन् । उनीसँग संघको कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको अनुभव छ ।

आयाततर्फको उपाध्यक्षमा लोकप्रिय मतका साथ सुना सुवेदी बडाल ३०९ मतका साथ विजयी भएकी छन् । दिनेश कट्टेललाई फराकिलो मतले पछि पार्दै सुनाले जितको सिलसिलालाई जारी राखिन् । संघको १३औं महाधिवेशनमा सुना कोषाध्यक्षमा विजयी भएकी थिइन् ।

थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी विकास शर्मा तिमिल्सिना र कविराज भट्टलाई पछि पार्दै उनले जित पक्का गरेका हुन् । उनीहरूको मत क्रमशः २४४,१८५र ६३ छ ।

खुद्रातर्फको उपाध्यक्षमा अबोधराज दबाडीलाई पराजित गर्दै लक्ष्मण घिमिरे दोहोरिएका छन् । घिमिरे २४७ मतका साथ विजयी भएका हुन् ।

महासचिवमा सादुराम ढकाल (आशिष) ले जित दर्ता गराएका छन् । आफ्ना प्रतिस्पर्धी हुमाकान्त काफ्लेलाई २१२ मतमा रोक्दै ढकाल विजयी भएका हुन् । ढकालको मत २७९ छ ।

कोषाध्यक्षमा राजेन्द्र थापा विजयी भए । थापा २९५मत हासिल गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी केपी लम्साल १९६ मतमा रोकिए ।

केही पदमा भने व्यवसायी निर्विरोध विजयी भएका छन् । सचिवमा केशव शर्मा, खुलातर्फको केन्द्रीय सदस्यमा रत्नकुमार बडाल, शंकर सुवेदी, सत्यभामा न्यौपाने बडाल र अर्जुन नेपाल निर्विरोध भएका हुन् । प्रदेश सदस्यतर्फ दीपक चन्द्र सेन, कोशी, पूर्णप्रसाद जैसी पाण्डे, कर्णाली, परशुराम गैरे गण्डकी, ईश्वरीप्रसाद आचार्य, बागमती, पुनिराम चौधरी, सुदूरपश्चिम र रोशनकुमार साह, मधेश प्रदेशमा निर्विरोध भए ।

संघको १४औं महाधिवेशन तथा ३३औं साधारणसभा मंगलबार चितवनको नारायणगढमा सुरु भएको थियो । महाधिवेशनमा सहभागी हुन देशभरबाट ६०० प्रतिनिधि चितवन आइपुगेको आयोजकले जनाएका छन् । मतदानमा भने ४९८ मत मात्र खसेको थियो ।

नयाँ कार्यसमितिले दुई वर्ष अर्थात् २०८२ सम्म संघलाई नेतृत्व प्रदान गर्नेछ ।