चितवन । चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा सुरु भएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो २०२० आज सकिँदै छ ।
सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय विभिन्न प्रविधिको विकासले नेपालमा कुखुराको मासु तथा कुखुराजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताएका थिए । नेपालका पोल्ट्री व्यवसायीले प्रविधिको प्रयोगमा सक्रियता देखाउँदै गएको उनले बताए । नेपालको आर्थिक समृद्धिमा पोल्ट्री क्षेत्रको महत्वपूर्ण योगदान हुने भन्दै उनले यस क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।
पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फुड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग प्रदर्शनी गरिएको बताए ।
पोल्ट्री क्षेत्रमा आएका नयाँ प्रविधि, उपकरण र पशुपन्छी औषधिहरुको प्रदर्शन तथा सचेतनालाई एक्सपोले मुख्य प्राथमिकता दिएको छ । यसका साथै ह्याचरी उद्योग, दाना उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरणका विषय पनि प्रदर्शनीमा राखेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघले मेलालाई सघाएका छन् ।
भारत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटाली, इजरायल, बंगलादेशलगायत देशका पोल्ट्री कम्पनीको सहभागिता छ । प्रदर्शनीमा नेपाल भेटेनरी संघको सहकार्यमा ४ दिने पोल्ट्री पाठशालाको समेत आयोजना गरिएको छ । पाठशालाले यस क्षेत्रका सरोकारवालाहरुलाई नेपालको पोल्ट्रीबारे बुझ्न सहयोग गरेको जनाइएको छ ।
निःशुल्क प्रवेशको व्यवस्था रहेको प्रदर्शनीमा कृषि औजार, मेसिन, डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनी र डेमो पनि राखिएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स एन्ड इभेन्टले संयुक्त रुपमा मेलाको व्यवस्थापन गरेका छन् । मेलामा २ सय स्टल राखिएका छन् । ३ दिने मेला आइतबार सकिँदै छ ।