व्यावसायिक कृषि तथा पशुपन्छी पालन क्षेत्रबाट व्यापक रोजगारी सिर्जना गर्न अग्रसर छौ

  • नेपालको वर्तमान पशुपालन प्रणालीलाई कुन रूपमा लिनुभएको छ ?

हाम्रो पशुपन्छी पालन पेशा परम्परागत प्रणालीमै आधारित छ । अब यसलाई आधुनिकीकरण र व्यावसायिक बनाउनुपर्ने चुनौती छ । व्यावसायिक पशुपन्छी पालन गर्ने चेतनाचाहिँ बिस्तारै हामीमा आउँदै छ । केही प्रयासहरू पनि भएका छन् । तर, ती पर्याप्त छैनन् । त्यसो हुँदा हामीले हुँदै गरेका व्यावसायिकताका प्रयासलाई प्रोत्साहन गर्ने र अझै व्यवस्थित र विस्तार गर्दै लैजानुपर्ने अवस्था छ । धेरैभन्दा धेरै मासिसलाई संगठित गरेर ठूलो परिमाणमा उत्पादन लिने गरी व्यावसायिक कृषि तथा पशुपन्छी पालनको अवधारणामा अघि बढ्नुपर्ने छ ।

  • नेपालका कतिपय राजनीतिक क्षेत्रका व्यक्तित्वहरू पनि जीविकोपार्जन वा व्यावसायीक कृषि तथा पशुपालनका क्षेत्रमा क्रियाशील रहनुभएको पाइन्छ । यो क्षेत्रसँगको यहाँको कस्तो सम्बन्ध छ ?

म किसानकै छोरो हुँ । मेरो परिवारको परम्परागत पेशा अन्य नेपालीहरूको जस्तै कृषि नै हो । मेरो आफ्नो व्यक्तिगतरूपमा कृषिप्रति अगाध रुचि छ । कृषि प्रबद्र्धनका लागि मैले पनि केही प्रयास गरेको छु । तर, राजनीतिक प्राणि भएकोले मैले त्यसलाई निरन्तरता दिइरहन सकेको छैन । मैरै पहलकदमीमा हामी ५१ जना मिलेर ५१ विगाहा जमिनमा सामूहिक कृषि व्यवसाय सुरु गरेका थियौं । मोरङको तत्कालीन बगैयाविर्ता गाविसमा सुरु गरिएको उक्त सामूहिक कृषिअन्तर्गत माछापालनका लागि पोखरी खनिएको थियो । अन्य कृषि उपजहरूसमेत सुरु गरिएका े थियो । तर, चुनाव भयो । म मन्त्रीको जिम्मेवारीमा आएँ । त्यसपछि कुनै निजी व्यावसायिक संस्थाको प्रमुख बसिरहनु हुँदैन भनेर मैले राजिनामा दिएँ । मैले राजिनामा दिएपछि चलाउने मान्छे कोही नभएपछि साथीहरूले बिक्री गर्नुभयो । अहिले उक्त सामूहिक व्यवसायीक कृषि फार्ममा नयाँ टिम आएको छ । उहाँहरूले पनि राम्ररी अघि बढाउनु भयो भने त्यसले उहाँहरूलाई र समग्र देशकै लागि केही लाभ दिन्छ भन्ने लागेको छ ।

  • तपाईँ सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । यो मन्त्रालयले रोजगार प्रवद्र्धन गर्न नेपालको कृषि तथा पशुपन्छी पालन क्षेत्रमा के कस्तो योजना अघि बढाउने सोच छ ?

कृषि तथा पशुपालन क्षेत्रमै काम गर्ने विषय मन्त्रालय मेरो होइन । तर, पनि रोजगार सिर्जना गर्ने मेरो मनत्रालयको जिम्मेवारी पूरा गर्न मैले यस क्षेत्रलाई नजिकबाट अध्ययन गरिरहेको छु । कृषि तथा पशुपालन क्षेत्रबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुन सक्छ । कृषि क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने, सीपमूलक तालिम कृषि क्षेत्रमा अलि बढी सञ्चालन गर्ने र आवश्यकता हेरेर कृषि जनशक्ति उत्पादन गर्न सिटिइभिटीसँग पनि हामी सहकार्य गर्दैछौँ । र, किसानका समस्या समाधान गर्न कृषि मन्त्रालयसँग समन्य गर्ने कामलाई पनि मैले अगाडि बढाउने छु । किसानका लागि मुख्यतः उत्पादित वस्तुका लागि बजारको समस्या छ । उत्पादकत्व वृद्धि गर्ने अर्को चुनौती छ । यी दुवै चुनौतीको सामना गर्न कृषि मन्त्रालयसँग समन्वय र सहजीकरण गरेर हामी अघि बढ्दै छौँ ।

  • कृषि क्षेत्रको उत्पादकत्व बढाउन, व्यावसायिक कृषि प्रणालीलाई अघि बढाउन र कृषिमा रोजगारी सिर्जना गर्न मूख्यतयाः कृषि बालि तथा पशुपन्छीमा लाग्ने रोगकिर ासँग लड्ने औषधी आवश्यक छ । यस्ता औषधीको सहज आपूर्ति व्यवस्थालाई कुन रूपमा हेर्नु भएको छ ?

हामीलाई जुन मात्रा र गुणस्तरमा कृषि तथा पशुपन्छी औषधी आवश्यक छ, त्यो उपलब्ध हुन नसकिरहेको अवस्था छ । हामीले आफैँले उत्पादन गर्न नसक्दासम्म बाहिरबाटै आयात गरेर प्रवन्ध गर्नुको विकल्प छैन । आयात गर्नका लागि पनि सहज वातावरण बनाउने जिम्मेवारी भने प्रदेश तथा केन्द्र सरकारको हुन्छ । देशभित्रै त्यस्ता किसिमका औषधी उत्पादन गर्नेतर्फ पनि हामी अधि बढ्नु पर्ने अवस्था छ ।

  • नेपाल पशुपन्छी औषधी व्यावसायी संघको नयाँ नेतृत्व चयन गर्न आगामी पुस ४ र ५ गते यहाँहरूकै प्रदेश राजधानी आर्थिक नगरी विराटनगरमा देशैभरबाट पशुपन्छी औषधी व्यवसायकिा प्रतिनिधि भेला हुँदै छन् ।  व्यावसयीलाई यहाँको सन्देश के छ ?

हामी लामो राजनीतिक अधिकार प्राप्तीको लडाइँबाट अब समृद्धिको दिशातर्फ अघि बढेका छौँ । नयाँ नेपाल निर्माण गर्नुपर्ने हामी सबैको सामूहिक अभिभारा भएको छ । यो अभिभारा पूरा गर्न समाजका विभिन्न समुदाय, व्यवक्तिहरूले भूमिका निर्वाह गर्नुपर्ने भएको छ । त्यसमा पनि पशुपन्छी औषधी व्यवसायीहरूको भूमिका समृद्धिका लागि महत्वपूर्ण छ । मुलतः उहाँहरूले गुणस्तरीय औषधीको प्रवन्ध गर्ने, सर्वसुलभ रूपमा औषधी उपलब्ध गराउने, सुलभ मूल्यमा औषधी उपलब्ध गराउने र गुणस्तरीय औषधी उपलब्ध गराउने उहाँहरूको दायित्व हुन्छ । यसमा सरकारले सहजीकरण गर्नु पनि अनिवार्य रहन्छ । त्यसो हुँदा यो जिम्मेवारमिा
विराटनगर अधिवेशनबाट चयन भएर आउने पशुपन्छी औषधी व्यवसायी संघको नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् । मेरो यही अपेक्षा र आह्वान छ ।