डा. खतिवडा अर्थमन्त्री बनेपछि कच्चा मकै–भटमासमा ७ प्रतिशतसम्म शुल्क वृद्धि, घटाउन दाना व्यवसायीको माग

काठमाडौं । कुखुराखको दाना बनाउन प्रयोग गरिने मकै र भटमासको पिनामा सरकारले बढाएको कृषि सुधार शुल्क घटाउन दाना व्यवसायीहरुले माग गरेका छन् । विगतमा १.६ प्रतिशत रहेको उक्त शुल्क डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि मकैमा शुल्क बढेर ५ प्रतिशतसम्म पुगेको छ । त्यस्तै, भटमासको पिनामा यस्तो शुल्क बढेर ९ प्रतिशतसम्म पुर्याइएको भन्दै नेपाल दाना उद्योग संघले त्यस्तो शुल्क घटाउन माग गरेको हो । संघका अध्यक्ष रविन पुरीले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको जानकारी गराएका हुन् ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी

नेपाल कुखुराको मासु, अण्डा र कुखुराजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको अवस्थामा दाना बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुने मकै र भटमासको पिनामा बढेको शुल्कका कारण दाना नै महँगो हुने उनको भनाई छ । दाना महँगो हुँदा कुखुरा पालकको लागत बढ्न गई समग्र पोल्ट्रिजन्य उत्पादन नै महँगो हुने भएकोले बढेको कृषि सुधार शुल्क घटाएर १ प्रतिशत मात्र कायम गर्नुपर्ने उनको भनाइ छ ।

शुल्क नघटे भारतीय कुखुराजन्य उत्पादन सस्तो पर्ने र खुला सिमानाको फाइदा उठाउँदै भारतबाट चोरी तस्करी गरी नेपालतर्फ कुखुराजन्य उत्पादनको आयात बढ्ने उनले बताए ।

नेपालको पोल्ट्री क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा झण्डै ४ प्रतिशत योगदान गरिरहेको, बैंक तथा वित्तीय क्षेत्रको मात्र ४० अर्ब रुपैयाँ लगानी रहेको तथा कुल १ खर्ब ३० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई जोगाउन पनि कृषि सुधार शुल्कका नाममा सरकारले बढाएको शुल्क घटाउनु पर्ने उनले विज्ञप्ती मार्फत उनले आग्रह गरेका छन् ।